प्रस, वीरगंज, १७ कात्तिक/
वीरगंजको ऐतिहासिक धरोहरको रूपमा रहेको घण्टाघरको चारवटै घडी पुनः सञ्चालनमा आएका छन् । सिको कम्पनीको घडी मरम्मतपछि पूर्ववत्रूपमा सञ्चालनमा आएको नगरप्रमुख विजयकुमार सरावगीले बताए । नेपाली युवा उद्यमी मञ्च वीरगंज च्याप्टरको प्राविधिक सहयोगमा घण्टाघरको घडी सञ्चालनमा आएको हो । पाँच दिनको परीक्षणपछि हिजो धनतेरसको दिनदेखि घडी औपचारिकरूपमा सञ्चालनमा आएको हो ।
घडी सञ्चालनको लागि साढे तीन लाख रुपैयाँ खर्च गरिएको छ । आगामी दिनमा पनि घण्टाघरको मरम्मत सम्भार तथा आकर्षक बनाउन वीरगंज महानगरको योजना रहेको नगरप्रमुख सरावगीले बताए ।
घडी मर्मत गर्ने कम्पनीले नवीकरण शुल्क पाएको थिएन, जसले गर्दा घडी केही वर्षदेखि बन्द थियो, नगरप्रमुख सरावगीले भने, अब घण्टाघरको घडी बन्द हुँदैन । उनले महानगरको कार्यपालिका बैठकबाट निर्णय गरेर हरेक वर्ष मर्मत सम्भार खर्च दिलाउने प्रतिबद्धता जाहेर गरे ।
एनवाईइएफका वीरगंज अध्यक्ष अनुप अग्रवालले समाजमा घडी बन्द हुनुलाई अशुभ मानिने भएकोले यस विषयमा गम्भीर बनेर घडी सञ्चालन गर्न अग्रसर भएको बताए । उनले वीरगंजको घण्टाघर देशभर वीरगंजलाई चिनाउँदै आएको चर्चा गर्दै अहिले सेल्फी खिच्नेहरूको लागि पनि घण्टाघर प्रमुख प्वाइन्ट भएकोले यसको संरक्षण र प्रवद्र्धन गरी आकर्षक बनाउनुपर्ने बताए ।
२०३३ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ र स्थानीय जनताको सक्रियतामा घण्टाघर बनेको थियो । ४५ वर्ष पुरानो घण्टाघरमा २०७२ सालको भूकम्पमा आंशिक क्षति पुगेको कारण हाल घण्टाघरको टावरमा चढेर वीरगंज नगर अवलोकनको लागि प्रतिबन्ध लगाइएको छ । तीन वर्षमा निर्माण भएको घण्टाघरको लागि जापानको योनागो शहरका विद्यार्थीले खाजा खर्चबाट रकम जम्मा गरी चारवटा सिको कम्पनीको घडी नेपाल जेसीजमार्फत वीरगंज जेसीजलाई हस्तान्तरण गरेर जडान गरिएको थियो ।
वीरेन्द्र प्रभात घडी नाम दिइएको घण्टाघरको घडीले शुरूका दिनमा रेडियो नेपालको बिहानी समाचार पनि प्रसारण हुन्थ्यो । घडी मर्मत गर्ने भारतको केरलास्थित टुल एन्ड टाइम इन्जिनीयरिङ कम्पनीका नेपाल प्रतिनिधि हृदयराज गौतमले पुरानो लयमा घण्टाघरबाट समाचार प्रसारण गर्न केही समय लाग्ने बताए ।
कम्पनीले निश्चित रकम लिएर वारेन्टी समय बढाउने गरेको गौतमले बताए । स्थानीय तह गठन हुनुअघि नेपाल टेलिकमले दश लाख लागतमा भारतको केरलास्थित टुल एन्ड टाइम इन्जिनीयरिङ कम्पनीबाटै घडी मर्मत गराएर सञ्चालनमा ल्याएको थियो । पछि सो कार्यलाई निरन्तरता दिन नसक्दा घण्टाघरको घडी पुनः बन्द भएको थियो ।