• सञ्जय साह मित्र

सरसफाइको महŒवबारे संसारलाई थाहा छ । सरसफाइ दर्शन मात्र होइन, यो व्यवहार हो र प्रकृति पनि हो । स्वाभाविकरूपमा मानिस स्वस्थ र स्वच्छ रहन चाहन्छ । आफ्नो वातावरण स्वस्थ र स्वच्छ बनाइराख्न चाहन्छ । यो मानिसको नैसर्गिक प्रवृत्ति हो । र, हाम्रो दैनिकी तथा दैनिक व्यवहारसँग सम्बन्धित अन्य कारणले हाम्रो वरपर निरन्तर सरसफाइ गरिरहनुपर्ने हुन्छ। सरसफाइ दैनिक गरिरहनुपर्ने हुन्छ भन्ने कुरा त स्वाभाविक हो । अझ व्यक्तिगत सरसफाइ त हर समय गरिरहनुपर्ने वा भइरहनुपर्ने हुन्छ ।

यससँगै पारिवारिक, सामाजिक र वातावरणीय सरसफाइ पनि हुनुपर्छ । भएको पनि पाइन्छ । समयसँगसँगै सरसफाइलाई कतै अभियानको रूप दिएको पाइन्छ । सरसफाइलाई अभियानको रूप दिने परम्पराको स्वाभाविक प्रकृति चाडपर्व हो ।

नेपाली लोकजीवनलाई विचार गर्ने हो भने व्यक्तिगत, पारिवारिक, सामूहिक तथा सामाजिक गरी सम्पूर्ण सरसफाइसित सम्बन्धित भएर चाडपर्वहरूको परिकल्पना गरिएको छ । कुनै पनि चाडपर्व यस्तो हुँदैन जसमा कम्तीमा व्यक्तिगत सरसफाइलाई महŒव दिइएको नहोस् । सबै मुख्य चाडको प्रारम्भमा नुहाउनुपर्ने चलन हुन्छ । जति धेरै ठूलो पर्व हुन्छ, सरसफाइ पनि उत्ति नै धेरै गर्नुपर्ने हाम्रो संस्कृति रहेको छ । पहाडी समुदायमा दशैंलाई सबैभन्दा ठूलो पर्व मानिन्छ, यसमा घर–आँगन र अन्य सबै सरसफाइको धेरै महŒव हुन्छ । घरलाई सम्भव भएसम्म सफा पारेर, चिटिक्क पार्दै सिंगार्ने काम पनि गरिन्छ ।

मधेसी समुदायमा भने छठ सबैभन्दा ठूलो पर्व हो । छठको छ दिन पहिले दीपावली मनाइन्छ । दीपावलीको दिन सबैभन्दा ठूलो सफाइ गरिन्छ । यथार्थमा साँझ दीपावली गरिन्छ भने दिनभरि सर्वसाधारण सरसफाइमा व्यस्त भइरहन्छन् । के शहर, के गाउँ, के धनी, के गरीब सबै सरसफाइमा लागेर सम्भव भएसम्म आफ्नो परिवेशलाई उच्चतम सफासुग्घर बनाउन कस्सिन्छन् ।

तराई–मधेसमा सफाइको सर्वोत्तम दिन दीपावली नै हो । धार्मिक दृष्टिकोणले दीपावलीको अति विशिष्ट महŒव त छ नै, सफाइको दृष्टिकोणले पनि यसको अति विशिष्ट महŒव रहेकोमा कसैको दुई मत नहोला । यस दिन तराई–मधेसका हरेक व्यक्तिले व्यक्तिगत सफाइ र स्वच्छतामा उच्चतम ध्यान दिन्छन्, यसै गरी आफ्नो घरपरिवारको सबै कुरा सम्भव भएसम्म सफा गर्दछन्। सिङ्गो घर नै सफा गरिन्छ । हरेक फर्निचरको सफाइ हुन्छ । घरका सबै सदस्यको हरेक वस्त्र धोइपखाली गरिन्छ ।

यतिसम्म कि कुनै पनि वस्तु नधोइ–नपखाली राखिन्न । जसलाई पानीले हानि गर्दछ, त्यस्तो सामग्री पनि कम्तीमा पुछिन्छ पानीले वा पानीले पुछ्न नहुने सामग्रीलाई तेलले पुछिन्छ वा अन्य नयाँ केमिकलयुक्त सफा गर्ने सामग्रीले सफा गरिन्छ । घरभन्दा बाहिर सडकको सफाइ हुन्छ । चोक सफा पारिन्छ । सम्भव भएसम्म सार्वजनिक स्थानहरूमा नयाँ बत्ती लगाइन्छ । यसरी सफाइको दृष्टिकोणले स्वाभाविक वा सामाजिक नैसर्गिक महाअभियानको रूपमा दीपावलीलाई लिन सकिन्छ ।

छठको अवसरमा र दीपावलीको समयमा गरिने सरसफाइलाई शुद्धतासित जोड्ने गरिन्छ । शुद्धताको परम्परागत अर्थ पवित्रता पनि हो । सफाइ आफैंमा पवित्र हुन्छ । यो पवित्रतालाई वर्तमान वा आधुनिकतासित जोड्ने हो भने स्वास्थ्यसित समन्वय गराउन सकिन्छ । सबैतिर विशाल सफाइ गरिने यो महाअभियानले स्वास्थ्यको ख्याल गरेकै हो । यसरी यो सफाइको पर्व पनि हो । यसलाई आधुनिक विज्ञानको दृष्टिले सरसफाइको पर्वको रूपमा लिन सक्ने पर्याप्त आधारहरू छन् । यद्यपि परम्परागत समाजले यसलाई विज्ञानको दिन मानेको पाइँदैन । यसलाई पर्व वा अध्यात्मको दिनको रूपमा नै मानेको छ । हाम्रो धार्मिक मनोविज्ञान तथा चेतनाले निर्देशित सफाइको अभियानले साँच्ची नै हाम्रो परम्परामा रहेको स्वास्थ्य र सरसफाइको उज्ज्वल दृष्टिकोणलाई प्रस्ट्याउँछ ।

महासफाइ हुने दिन दीपावली हो । किन मनाइन्छ दीपावली ? मान्यता के छ भने त्रेतायुगमा रावणमाथि रामले विजय प्राप्त गरेको दिन विजयादशमी हो । रामलाई एकातिर मर्यादापुरुषोत्तम मानिन्छ भने अर्कोतिर भगवान्को संज्ञा पनि दिइन्छ । भगवान् विष्णुको अवतारको रूपमा लिइन्छ रामलाई । रामले बाह्र वर्षको वनावास पाएका थिए । वनवासमा रहँदा पत्नी सीता र भाइ लक्ष्मण पनि सँगै थिए । पत्नी सीताको अपहरण रावणले गरेका थिए । पत्नी सीतालाई अपहरणमुक्त गराउने क्रममा रावणसित युद्ध भयो ।

सोही युद्धमा रावण मारिएका थिए र राम विजयी भएका थिए । रामले रावणमाथि विजय प्राप्त गरेर र बाह्र वर्षको वनवास पूरा गरेर जुन दिन घर, अयोध्या आइपुगेका थिए, सोही दिन दीपावली मनाइएको थियो । तिथिको हिसाबले त्यस दिन कात्तिक महीनाको कृष्ण औंसी परेको थियो । त्यस दिन घरघरलाई सजाएर झिलीमिली बत्ती बालिएको थियो । हर्ष र उल्लास प्रकट गरिएको थियो । एकापसमा मिठाई बाँडिएको थियो अयोध्यामा । सोही दिनको सम्झना वा त्यसैलाई निरन्तरता दिन हरेक वर्ष सोही तिथिमा दीपावली मनाइन्छ । यसै दिन लक्ष्मीपूजा पनि मनाइन्छ । कतिपयले के मानेका छन् भने लक्ष्मीपूजा र दीपावली एकै दिन मनाइने दुई पर्व हुन्। दुवै उही शुद्धता र पवित्रताका पर्व हुन् ।

धार्मिक मान्यता अनुसार समुद्र मन्थनको क्रममा कात्तिक कृष्ण औंसीको दिन लक्ष्मीको प्रादुर्भाव भएको थियो । धनधान्यले परिपूर्ण लक्ष्मीले विष्णुलाई वरण गरेकी थिइन् । संसारमा धनको ठूलो महŒव छ । धनको आवश्यकता सबैलाई हुन्छ । धेरै मानिस धनलाई नै सर्वस्व ठान्दछन् । आजको युगमा धनको महŒव झन् बढेको छ । पैसा नै सबै थोक हो भन्ने मान्यता स्थापित भएको छ । पूँजीवादले धनको महŒव अझ बढाइदिएको छ । धनको चाहनामा वृद्धि गरिदिएको छ। धनप्रति मानिसको मनलाई लालायित बनाइदिएको छ । धनको प्राप्ति जसरी पनि हुनुपर्दछ भन्ने केही मानिसमा पर्न गएको छ । जसरी पनि धन सङ्ग्रह गरेर मानिस धनी भएपछि समाजमा उसले प्रतिष्ठा आर्जन गर्दछ । यसले धनमा प्रतिष्ठा पनि छ भन्ने हुन गएको छ ।

हाम्रो समाजमा धनलाई लक्ष्मी पनि भनिन्छ अर्थात् लक्ष्मी र धन पर्याय हुन् । लक्ष्मीको पूजा गरिने दिन उनको जन्मदिन हो । यसै कारणले कात्तिक कृष्ण औंसीको दिन हिन्दू समुदायले भव्यरूपले लक्ष्मीपूजा मनाउँछन् । सम्भव भएसम्मको तामझाम गर्दछन् । आधुनिक उपकरण प्रयोग गरेर घरलाई झिलिमिली बनाउँदछन् । अहिले त दीपावलीमा पटाका र प्लास्टिकको दियो तथा झिलिमिली यति धेरै बढेको छ कि यसमा स्वास्थ्य भन्ने कुरा गौण हुँदै गएको छ । धनले स्वास्थ्यरक्षा हेर्नुपर्ने हो तर स्वास्थ्यको क्षेत्र कमजोर बन्दै गएको देखिएको छ भने अर्कोतिर परम्परा र संस्कृति पनि बिस्तारै हराउँदै गएको छ ।

पहिले माटोको दियो बालिन्थ्यो । दियोमा घरकै पुरानो तर राम्ररी सफा गरिएको सुतीको कपडाको बत्ती बनाइन्थ्यो । सम्भव भएसम्म आफ्नै उत्पादनको तोरीको तेल वा आफ्नै घरको शुद्ध घ्यू हालेर दियो बालिन्थ्यो । माटोको पालामा सबै अर्गानिक सामग्रीले साँझ दियो बाल्दा वातावरण पूर्णतया सुगन्धमय हुन पुग्दथ्यो । जुन किसिमको झिलिमिली दियोको हुन्थ्यो, त्यसले पूर्ण सुन्दरता दिन्थ्यो । साँझ हर घरमा तरूवा पाक्दथ्यो । सबैतिर पूर्ण सफाइ गरिएको अवस्थामा एकातिर दियोको सुगन्ध र अर्कोतिर तरूवा पाकेको सुगन्धले गाउँ र समाजको वातावरणमा लाग्दथ्यो साक्षात स्वर्ग भनेको यही हो । अहिले त समय बदलिएको छ । सबै कुरा आयातित भइसकेका छन् ।

सफाइ, स्वास्थ्य र उज्यालोको सङ्गम दीपावलीले मनलाई उज्यालो पार्दछ । अन्धकारमाथि उज्यालोको विजय हुने यस पर्वले हरेक अँध्यारो मनमा उज्यालो पु¥याओस् । मानिसका सपनाले झिलिमिली सार्थकता पाओस् । सुकर्म र सुधर्मले हरेक मानिसको जीवन सुगन्धमय बनोस् । सबैले वैभव प्राप्त गरून् भन्ने शुभकामना १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here