दीपावली प्रकाशको पर्व हो । दीपावली हिन्दूहरूको खास पर्व हो । यद्यपि हिन्दू वर्णाश्रममा चार वर्णका लागि चारवटा विशेष पर्व निर्धारित गरिएको छ । तर आज वर्ण व्यवस्था समाप्त हुँदै गएको छ । आज सम्पूर्ण समाज एकै वर्ण हो भन्ने मान्यताले जरो गाड्दै गएको छ । त्यस हुनाले अब प्रायः सबै पर्व–सबै वर्ण, सबै जातजातिले अँगाल्न थालेका छन्, आआफ्नै मान्यता अनुसार भए पनि । हिजो वैश्यहरूको ठूलो पर्व मानिने दीपावली आज हिन्दू समाजले नै वैश्यवृत्तिलाई प्रधानता दिन थालेपछि सबैको पर्व बन्न पुगेको छ । हिजोको समाजमा शिक्ष्Fा, कृषि, व्यापार र सेवा क्रमानुसार श्रेष्ठ मानिन्थ्यो । त्यही युग–धर्म थियो । आज सबैको चाहना धन कमाउने भएकोले दीपावली विशिष्ट हुन पुगेको छ । यद्यपि दिपावली जसलाई नेपालीमा ‘तिहार’ पनि भनिन्छ, धेरैथरी मान्यता बोकेको पर्व हो । यसमा प्राणीमात्रप्रति सद्भावको सन्देश निहित छ । यस पर्वमा चराचर जगत्मा विद्यमान सबैलाई आदर, सत्कार गर्ने मनोभाव निहित छ। त्यसैले त पक्षीजगतको प्रतिनिधिको रूपमा कागको पूजा गरिन्छ, पशुजगत्को प्रतिनिधिको रूपमा कुकुरको पूजा गरिन्छ । पर्यावरण, जुन आजको वैश्विक समस्या बनेको छ, त्यसको सन्तुलनका लागि दीपावलीलाई पुरानो मान्यता अनुसार मनाउँदा पूर्णता प्राप्त हुन्छ ।

दीपावली प्रकाशोत्सव हो । प्रकाश भनेको अन्धकारको विपरीत हो । प्रकाशलाई हामी सामान्य अर्थमा उज्यालो ठान्दछौं, र हो पनि । तर हिन्दू संस्कारमा कुनै पनि उत्तम कृत्यलाई भौतिक वा शारीरिक मात्रले सम्बोधन गर्दैन । त्यसमा मनको उज्यालो पनि समाविष्ट हुनुपर्छ । यद्यपि कालान्तरमा मनलाई चाडपर्वहरूको आधुनिक आडम्बर र कोलाहले ढाक्दै लग्यो र मनलाई हामीले पर्वको सरोकारभन्दा परपर पार्दै लग्यौं । अब चाडपर्वहरूमा शुद्धता, पवित्रता, स्वच्छता भौतिक वस्तुसम्म सीमित रह्योस सद्भाव, प्रेम, सत्काररूपी मनसम्बद्ध वस्तुहरू छुट्दै गए । अहिले चाडपर्वहरू शरीर–भोगसम्म सीमित भयो । वस्तुतः यो उल्टो स्थिति हो । स्वच्छता, पवित्रता, शुद्धता मनको आवश्यक छ । शरीर त हरदम फोहर भइरहन्छ । त्यो फोहर सफा पारिरहन सकिन्छ । मनको फोहर हटाउनेतर्फ हाम्रो अति तार्किकता, अति पूर्वाग्रहले ध्यान आकृष्ट हुनै सकेको छैन । विजयादशमी होस्, दीपावली होस्, छठ होस् वा होलीस तिनको अभीष्ट शरीर र मन दुवैको शुद्धता, स्वच्छता र पवित्रता हो । शरीरमा त हाम्रो ध्यान जान्छ, मनतर्फ कसैले ध्यान दिंदैन । यस असंस्कृत शैलीले हामीमात्र होइन, हाम्रो समाज नै स्वार्थी, व्यक्ति केन्द्रित बन्न पुगेको छ । म श्रेष्ठ हुँ भन्नु नै मनोरोगको लक्षण हो । र यो सोचबाट आज व्यक्ति मात्र होइन, समाज र राष्ट्र नै आक्रान्त छ ।

भौतिक प्रकाश मात्र होइन, अन्तस्मा पनि प्रकाश छर्ने पर्व अहिले सँघारमा आइपुगेको छ । आज हामी विभिन्न विकृति र विसङ्गतिसँग जुझिरहेका छौं । पर्यावरणको समस्या टडकारो छ । लाखौं रुपियाँ खर्च गरेर कृत्रिम बत्ती बाल्ने बानी एक दिनका लागि परित्याग गरी सामथ्र्य अनुसार शुद्ध तेल र घ्यूको बत्ती बाल्दा के होला १ यसले कीरा, फट्याङ्ग्रा, लामखुट्टेको नाश हुन्छ, वातावरणमा शुद्धता छरिन्छ । एक दिन मात्र हामीले आडम्बर त्याग गर्दा धेरै दिनको लागि वातावरणीय स्वच्छता पाउन सक्छौं । मनलाई अलिकति त्यागको कसीमा घोटेर हेरौं, यसमा जमेको फोहर हट्यो भने चारैतिर नैसर्गिक उज्यालोको आभा छरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here