राधेश्याम पटेल, परवानीपुर, १६ कात्तिक/
मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार नाकासँग अन्य निकायले असन्तुष्टि पोखेका छन् । वीरगंज–१७ अलौंस्थित वीरगंज भन्सार मातहतको एकीकृत जाँच चौकी (आइसिपी)मा हिजो बसेको स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा यस्तो असन्तुष्टि पोखिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी उक्त समितिका संयोजक हुन् । उनकै संयोजकत्वमा हरेक महीना बैठक बस्छ । तर हिजोको बैठकमा राजस्व चुहावट नियन्त्रणसँग सम्बद्ध निकायहरूसँग छलफल गर्न डाकिएको बैठकमा अन्य निकायले असन्तुष्टि जाहेर गरे ।
बैठकमा विविध विषयमा राजस्व चुहावट नियन्त्रणका विविध विषयमा छलफल र निर्णय भएको थियो । वीरगंज भन्सारका भन्सार प्रमुख हरिहर पौडेललाई सोध्नुहोला, प्रजिअ ढकालले भने । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलसँग बुझ्दा उनले आन्तरिक छलफलको विषयमा जानकारी गराउन आलटाल गरे । उनले यस विषयमा आफूले बोल्न नमिल्ने र प्रजिअबाटै जानकारी लिन सुझाव दिंदै जवाफ दिनबाट पन्छिए ।
छलफलमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार वीरगंज भन्सारले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको पावर प्वाइन्ट प्रस्तुतिको सराहना गर्दै आफ्ना समस्याहरू पनि पोखेका थिए ।
सुरक्षा निकाय र वीरगंज भन्सारबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा त्यसो नभएको, सुरक्षा निकायले राजस्व चुहावटको सम्बन्धमा पक्राउ गरेका सामान र गाडी वीरगंज भन्सारले बुझ्न नमानेको, राजस्व चुहावटको सम्बन्धमा नियन्त्रणमा लिएर बुझाएको सामानबापतको कमिशन प्राप्त नभएको, कमिशन प्राप्तमा ढिलाइ भएको जस्ता असन्तुष्टि राखिएका थिए ।
वीरगंज भन्सार नाकाबाट एक महीनामा जाँचपास भएको ३/४ वटा गाडीमा मूल्याङ्कन भएकोभन्दा बढीको सामानसहित सुरक्षा निकायले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय, पथलैया र गैरकानूनीरूपमा भित्रिएको कम्बाइन्ड हार्भेस्टर वीरगंज भन्सारमा बुझाउन खोज्दा पनि ती निकायले कारबाही नगरेको कुरा दुःखद भएको आरोप लगाइएको थियो ।
छलफलपछि सवाल–जवाफ चलेको थियो । आगामी दिनमा राजस्व चुहावट सम्बन्धमा माथिल्लो निकायबाट आएको परिपत्रको आधारमा सामूहिक गस्ती, चोरी तस्करी नियन्त्रणको लागि सबै निकाय मिलेर समन्वय गरी कार्य गर्ने निर्णयसमेत भएको छ ।
स्थानीय राजस्व चुहावट नियन्त्रण समिति पर्साका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालको संयोजकत्वमा सम्पन्न बैठकमा वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत दिलीप केसी, श्रीसिया सुक्खा बन्दरगाह भन्सारका प्रमुख डा लालबहादुर खत्री, राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख नारायणप्रसाद मैनाली, आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कपिल सुवेदी, आन्तरिक राजस्व कार्यालय, सिमराका प्रमुख नारायणप्रसाद भण्डारी, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, पर्साका राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टीकाप्रसाद पोखरेल, बाराका उपनिर्देशक रिबेनकुमार गच्छदार, पर्साका सप्रउ राजेन्द्र खड्का, बाराका सप्रउ रविनराज कर्णजीत, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्याल, बिओपी वीरगंजका सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बम, वीरगंज भन्सारका लेखा अधिकृत कपिल अर्याल, भन्सार अधिकृत गणपति कँडेल, वीरगंज भन्सारका लेखापाल माधवप्रसाद भट्टराई, नासुद्वय राजेन्द्रप्रसाद दाहाल र प्रकाश गौतमलगायतको सहभागिता थियो ।