• राजेन्द्रप्रसाद कोइराला

जीवन एउटा सुन्दर चुनौती हो । जीवनको बाटो सोझो, पूर्वनिर्धारित र निर्मित हुँदैन, बरु यो निर्माणाधीन हुन्छ । त्यहाँ असफलता नामको अनुभव हुन्छ । द्विविधा नामको दोबाटो हुन्छ, गति नामको साथी, सचेत व्यक्तिका रूपमा परिवार, आम्दानीको रूपमा कर्म । यति हुँदाहुँदै पनि जगेडाको रूपमा प्रतिबद्धता र अठोट, इन्जिनको रूपमा सञ्चिति, बीमाको रूपमा विश्वास, अनि चालकको रूपमा आफ्नै सुकर्म भयो भने सफलता भन्ने ठाउँमा पुगिन्छ । जीवन सङ्घर्षपूर्ण छ, सङ्घर्षको बाटो पार गरेर आएको मानिसले नै जीवनमा आइपर्ने अप्ठ्याराहरूसँग मुकाबिला गर्न सक्छ । त्यसैले भनिएको पनि छ–

सजिलो बाटोले दक्ष चालक बनाउन सक्दैन,
शान्त तलाउले दक्ष डुङ्गा चालक बनाउन सक्दैन,
सफा आकाशले दक्ष पाइलट जन्माउन सक्दैन,
समस्या नभोगेको मान्छे कहिल्यै पूर्ण मान्छे बन्न सक्दैन ।

त्यसैले हामीले हाम्रो जीवन कस्तो बनाउने भन्ने कुराको निर्धारण गर्न जरुरी छ । उद्देश्यविहीन र गन्तव्य निर्धारण नगरी हिंडिएको बाटो जता पनि जान सक्छ र हामी नचाहेको ठाउँमा पुग्छौं । फेरि हरेक मान्छे नयाँ बाटो निर्माण गर्न सक्षम छ । अरूले हिंडेको पुरानो बाटो मात्र हिंड्ने तर नयाँ गन्तव्यको आशा गर्ने मानिसभन्दा महामूर्ख को हुन सक्छ ? अरू हिंडेको बाटो हिंड्दा अरू जहाँ पुग्छन्, आफू त्यहीं पुगिन्छ । हामीले संसारलाई नयाँ आँखाले हेर्न सिक्नुपर्दछ । कुनै पनि समस्या उस्तै तहको सजगताबाट समाधान हुन सक्दैन । जसले यो सिर्जित गरेको छ, उसले नै समाधान गर्न सक्छ । त्यसैले नवीनतम मार्गको खोजीमा लाग्दा आनन्द र रोमाञ्चकता दुवै प्राप्त हुन्छ ।

एकपटक मनन गरौं त । नेपालमैं हाम्रै टोलछिमेकमा नै सङ्घर्षले माझिएका कैयौं सफल र असल मनिसहरू छन् । उनीहरूले आशावादी भएर नयाँ मार्गको खोजी गरे र सफलता पनि प्राप्त गरे । एकपटक झमक घिमिरेको जीवनी हेरौं, उनको सङ्घर्षलाई मनन गरौं । उनको लगनशीलता, प्रतिबद्धता, क्रियाशीलता र सिर्जनशीलता संसारका कुनै सामान्य व्यक्तिभन्दा कम छैन । आखिर नियतिले ठगे पनि कर्म र सोचको बलमा प्राप्त हुने नतीजालाई त कसैले रोक्न सक्दो रहेनछ नि । त्यसैले राष्ट्रकवि माधव घिमिरेले भनेका छन्–

ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पीपल,
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।

हामी सबैले आफ्नो जीवनबारे केही अध्ययन, मूल्याङ्कन र पुनरावलोकन गर्न जरुरी हुन्छ । मेरो विगत जीवन निरर्थक वा सामान्य, उपलब्धिमूलक वा गौरवपूर्ण कस्तो रह्यो भनेर आफैंले प्रश्न गर्नुपर्दछ ।

हरेक मानिसमा मानवीय भावना र सफलताका सयकडौं खुट्किलाहरू रहेका हुन्छन् तर ती ढोका खोलेर अधिकतम सदुपयोग चाहिं सकारात्मक प्रवृत्ति र व्यवहार भएकाले मात्र गर्न सक्छन् । यो यथार्थलाई बुझेर आफ्ना विगतका सुन्दर र सफल कुराहरूबाट उत्प्रेरणा लिन सकियो भने वर्तमान आफैं सुन्दर भएर आउँछ । त्यस्तै, वर्तमानलाई हामीले कसरी लिन्छौं, त्यसबाट हाम्रो भविष्य निर्धारण हुन्छ । त्यसैले हामीले आफ्नो वर्तमानको पनि मूल्याङ्कन गर्न जरुरी छ ।

वर्तमानका सुन्दर कर्म र दृष्टिकोणहरू भविष्यका सञ्चित धन हुन् । हामी सबैले हाम्रो वर्तमान जीवनप्रतिको विश्वास के हो, यो जीवन मेरो निम्ति कति बोझिलो, सामान्य, ठीकै वा चुनौतीपूर्ण र रमाइलो वा पीडादायी भन्ने कुराको विश्लेषण गर्दै सकारात्मक भावका साथ अगाडि बढेमा सुरक्षित गन्तव्यमा पुग्न सकिन्छ । वर्तमान सुन्दर भए, भविष्य आफैं सुनिश्चित हुन्छ । बुद्धले पनि वर्तमान र भविष्यका बारेमा यसो भनेका छन्–

अतीतको पिछा न गर,
भविष्यको भ्रमजालमा पनि न फस,
अतीत व्यतीत भयो,
भविष्य अझै अनगत छ ।

यहाँ अहिले यस क्षण जीवन जस्तो छ, त्यसैलाई धारणा गर, त्यसलाई सुन्दर बनाउने कोशिश गर । आजलाई सुन्दर बनाउन सकियो भने भोलि त आफैं सुन्दर भएर आउँछ । स्थिरता र मुक्त भावमा नबाँच, भोलिको प्रतीक्षा ग¥यौ भने विलम्ब हुनेछ । मृत्युले अचानक थिच्नेछ । त्यससँग हामीले के सम्झौता गर्न सक्छौं र ? सज्जनहरू त्यसैको आह्वान गर्दछन्, जो दिन र रात सचेतन अवस्थामा जाग्रत रहन्छन् । जसलाई थाहा हुन्छ, भविष्यको सुन्दर मार्ग के हो ? तिनैले नै वर्तमानलाई सुन्दर बनाउँछन् ।

त्यसैले अभावप्रतिको गुनासोभन्दा समृद्धिको लागि चाहना, विगतको असफलताप्रतिको नैराश्यताभन्दा भविष्यको उपलब्धिप्रतिको प्रतिबद्धता, घृणा र शत्रुताभन्दा प्रेम र मित्रता, फुटेको कर्म भन्दै भाग्यलाई सराप्नुभन्दा बाँकी जीवनको भाग्य निर्माण गर्न पाइला चाल्नु, अरूको प्रगतिको तुलना गर्दै त्यसप्रति डाह वा ईष्र्या मात्र गर्नुभन्दा आफ्नै जीवनको यात्राप्रति आत्मगौरवको अनुभूति गर्नु, अँध्यारोप्रतिको असन्तुष्टिभन्दा उज्यालोप्रतिको आशा गर्नु नै श्रेयष्कर हुन्छ । आजसम्म गुनासोले प्राप्ति दिएको र प्रशंसा र प्रतिबद्धताले विनाश गरेको प्रमाण कहीं भेटिएको छैन ।

जीवनको यात्रामा जे भेटिन्छ, त्यसलाई माया गर्नु महानता हो । गलती वा कमजोरीलाई पनि अङ्कमाल गर्दा केही बिग्रिंदैन तर त्यसबाट शिक्षा लिंदै सकारात्मक बाटोमा हिंड्न सकियो भने त्योभन्दा महŒवपूर्ण सिकाइ के हुन सक्ला र ? नवीन सिर्जना गर्नु नै जीवनको लक्ष्य बनाइयो भने जीवनका सबै प्रश्नको उत्तर हामीसँग हुने रहेनछ । आज हामीले बाँचेको जिन्दगी कसैका लागि ठूलो सपना हो, त्यसैले आफ्नो जिन्दगीप्रति गर्व गरौं । हाम्रो गतिमा ईष्र्या गर्ने मानिस स्वाभाविकरूपमा हुन्छन् । उपलब्धि र आलोचना एकअर्काका असल मित्र हुन्, यी दुवै सँगसँगै सवार गर्दछन् । त्यसैले उपलब्धिमा आफ्नो आलोचना गर्नेहरूको पिछा नगरौं, बरु कर्मको यात्रा निरन्तर अघि बढाऔं, उनीहरू आफैं पाखा लाग्नेछन् ।

दैनिक जीवनमा जब हामी हाम्रा विश्वास परिवर्तन गर्छौं, तब हामीले अपेक्षा परिवर्तन गर्न सक्नेरहेछौं । जब हामी हाम्रो अपेक्षा परिवर्तन गर्छौं, तब हामी हाम्रो दृष्टिकोण परिवर्तन गर्न सक्नेछौं । जब हाम्रो दृष्टिकोण परिवर्तन हुनेरहेछ, तब हाम्रो व्यवहार परिवर्तन हुनेरहेछ । जब हामी हाम्रो व्यवहार परिवर्तन गर्छौं, तब हामी हाम्रो कार्यसम्पादनमा परिवर्तन पाउँछौं । जब हाम्रो कार्यसम्पादन परिवर्तन हुन्छ, तबमात्र हामी हाम्रो जीवन परिवर्तन गर्न सक्नेरहेछौं ।

जीवन गुनासोको पेटारो होइन, बरु खुशी र आनन्दको सुन्दर बगैंचा हो, जहाँ लाखौं सुगन्धित फूल सुगन्धको सार र सौन्दर्यको बहार लिएर लहराइरहेका छन् । यो सृष्टिमा हामी रुन आएका होइनौं । हामीलाई प्रकृतिले हाँस्न, खेल्न र जित्न पठाएको हो । शक्ति, समझदारी, सन्तुलन, सहकार्य, सन्तुष्टि जस्ता सम्पदा लिएर जन्मेका हामी अलाप–विलाप गरेर बाँच्नै पर्दैन । निराशाले गुनासा मात्र जन्माउँछ, गुनासाले प्रसन्नता हरण हुन्छ । प्रसन्नता हरण हुँदा निर्माणभन्दा विध्वंस बढी हुन्छ, विध्वंसले विनाशलाई सहयोग पु¥याउँछ । त्यसैले प्रसन्नतालाई जीवनको संस्कार बनाऔं र सकारात्मक जीवन बाँचौं । जीवनमा आइपरेका चुनौतीहरूलाई स्वीकारौं । जे हुन्छ, राम्रै हुन्छ । जे भइरहेको छ, राम्रै भइरहेको छ भन्ने सकारात्मक धारणा राखेर अगाडि बढेमा सोही अनुरूपको नतीजा पनि प्राप्त हुन्छ । यसै सन्दर्भमा एउटा प्रसङ्ग यस्तो छ–

टेक्ने लट्ठी बनाउन लाग्दा राजा विराटको हात काटिएछ । हात काटिएको देखेपछि मन्त्रीले भने, “सरकार नआत्तिनुहोस्, जे भयो–राम्रो भयो,” भन्दै औषधोपचार गरिरहेका थिए ।
यो सुनेर राजाले आश्चर्यभावले प्रश्न गरे, “के भनेको मेरो हात काटिएको पनि राम्रो भयो र ?” मन्त्रीले उत्तर दिए– “हो, सरकार, राम्रो भयो ।”

त्यसपछि राजालाई मन्त्रीमाथि शङ्का लाग्यो र सोच्न थाले । यो मन्त्री मेरो शुभचिन्तक होइन रहेछ । हात काट्दा त राम्रो भयो भन्छ, मेरो टाउको काटियो भने झन् राम्रो भयो भन्छ होला । त्यसैले यस मन्त्रीलाई सजाय दिनुपर्छ भन्ने सोची उसलाई थुन्ने आदेश दिए र मन्त्री थुनिए ।

केही दिनपछि राजा सेनाको साथ लागेर घना जङ्गलमा शिकार खेल्न गए । शिकारको खोजी गर्दागर्दै राजा र सेनाबीच बिछोड भयो । राजा अलपत्रमा पर्दै सेनाको खोजीमा हिंडे । हिंड्दाहिंड्दै जङ्गलमा नै रात प¥यो तर सेनासँग भेट हुन सकेन । राजा निराश भएर भौंतारिरहेका बेला राक्षससँग जम्काभेट भयो र राक्षसले मीठो खानेकुरा भेटियो भनेर राजा विराटलाई लिएर गयो । राक्षसहरू शिकार भेटेपछि वनदेवीलाई भोग नचढाइ नखाने रहेछन् । त्यसैले राजालाई वनदेवीको मन्दिरमा लिएर गए । वनदेवीलाई भोग दिंदा कुनै पनि खोट र चोटपटक भएको नहुने रहेछ । त्यस कारण राजा विराटलाई भोग दिने क्रममा कुनै खोट छ कि भनेर हेर्दा हातमा काम्रो बाँधेको देखियो र राजा भोगका लागि उपयुक्त नभएको भनी राक्षसहरूले ‘जा बाँचिस्’ भनी छोडिदिए ।

त्यसपछि राजाको आँखा खुल्यो । मन्त्रीले जे भयो राम्रै भयो भनेको ठीक रहेछ । मैले बेकारमा उसलाई थुनेछु भनी पछुतो लाग्यो र सोच्दा–सोच्दा उज्यालो पनि भयो । सेनासँग पनि भेट भयो र दरबार गई आफूले शिकार खेल्ने क्रममा भोगेका सबै कुरा सुनाइ मन्त्रीसँग माफी मागे । पुनः मन्त्रीको उत्तर आयो, “पीर नगर्नु होला सरकार, जे भयो–राम्रै भयो ।”

फेरि राजाले सोधे, “तिमीलाई थुनेको पनि राम्रै भयो ?” मन्त्रीले जवाफ दिए, “हो सरकार, राम्रो भयो ।” फेरि राजाले प्रश्न गरे, “कसरी ?” मन्त्रीले उत्तर दिए, “सरकार तपाईंले मलाई नथुनेको भए, म पनि तपाईंसँगै हुन्थें । हामी दुवै राक्षसको कब्जामा पथ्र्यौं । तपाईंको त खोट थियो, तपाईं बाँच्नुहुन्थ्यो । म मर्थें । त्यसैले तपाईंको हात काटियो र तपाईं बाँच्नुभयो । म थुनिएँ, म बाँचें ।”
“त्यसैले जे भयो–राम्रै भयो । जे भइरहेको छ–राम्रै भइरहेको छ । जे हुनेवाला छ–राम्रै हुनेछ भनेको हुँ, सरकार,” मन्त्रीका यस्ता कुरा सुनेपछि चित्त बुझाएका राजाले मन्त्रीलाई स्याबासी दिंदै छाडिदिए र पूर्ववत् उनलाई साथमा लिएर हिंड्न थाले ।

कहिलेकाहीं आफूभन्दा सानाले भनेको कुरा पनि मान्नुपर्दछ । आफ्नो चित्त सफा राखौं । सबैको भलो चिताऔं । सुविचार राखौं, जे हुनुपर्ने छ, त्यो भएर नै छाड्छ । हामीले हुने कुरालाई टार्न सक्दैनौं । जे छ त्यसैमा सन्तोष गर्न सिक्नुपर्दछ । भविष्यको किन चिन्ता गर्ने ? बरु वर्तमान राम्रो बनाए, भविष्य त्यसै सुन्दर भएर आउँछ । कतिपय कुरा तत्कालका लागि नमीठा र असान्दर्भिक लागे पनि अन्ततः ती समयानुकूल पनि हुन सक्छन् । एकै वचनमा, एकै भेटमा, एकै प्रसङ्गमा कुनै पनि मानिसको मूल्याङ्कन गरी सजाय वा पुरस्कार दिइहाल्नुहुँदैन ।

त्यसैले सकारात्मक मान्छेले जीवनलाई फूलको रूपमा हेर्छ भने नकारात्मक मानिसहरू काँढाको रूपमा । मानिसको जीवन समुद्र जस्तै हो–धेरै जटिल, गहिरो, अमूल्य, शक्तिशाली र प्रेरणादायी । लाखौं विचारको स्रोत, लाखौं खुशी र पीडाको पनि स्रोत, मायाको स्रोत, सारा सन्तुष्टिको स्रोत । यही अथाह स्रोतभित्रका हामी मानव हाँसेर बाँचौं, कर्म गरेर बाँचौं, अरूलाई बचाएर बाँचौं । अरूलाई बचायौं भने हामीलाई त उनीहरूले नै बचाउनेछन् । तर हामी सामान्यभन्दा सामान्य अर्थात् दैनिक जीवनमा आफैंले गर्न सक्ने काम पनि गर्न हिच्किचाउँछौं, अरूको भर पर्दछौं भने हामी परनिर्भरतामा विश्वास गर्दछौं । यसै विषयमा एउटा सानो प्रसङ्ग यहाँ प्रस्तुत छ–

एकपटक एकजना मानिस गाँधीजीलाई भेट्न आएको रहेछ । उसले लगाएको लुगा ठाउँठाउँमा च्यातिएका रहेछ । गाँधीका आँखा च्यातिएका ठाउँमा पुगे । त्यो मानिसले गाँधीदेखि लज्जित हुँदै भन्यो, “हजुर, पत्नी माइत गएकी थिइन्, त्यसैले यो सिलाउनै पाइनँ ।” गाँधीजी मुसुक्क हाँसे । सियोधागो निकाले र एकैछिनमा आफैंले सिलाइदिए । त्यो मानिस त लाजले भुतुक्कै भयो । गाँधीजीलाई हेर्न पनि सकेन । त्यस दिनदेखि आफ्नो काम आफैं गर्न थाल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here