समतामूलक समृद्धिको खाँचो

0
  • शीतल महतो

समतामूलक समृद्धि सामाजिक न्यायसहितको विकासमा आधारित समृद्धि हो । यसले बहुआयामिक समानतायुक्त समृद्धिलाई जनाउँछ । समतामूलक समृद्धिको महŒवपूर्ण पाटो समानता र आत्मसम्मान हो । आक्रोश र द्वन्द्वका कारण असमानता हो । जुन देशमा लिङ्गको नाउँमा, जातिको नाउँमा, भूगोलको नाउँमा र समुदायको नाउँमा विभेद हुन्छ, त्यहाँ समृद्धिको मार्ग कोर्न निकै कठिन हुन्छ ।

महिलाले व्यावसायिक काम नगर्नु वा गर्दा पनि निकै असमान पारिश्रमिक पाउनु समृद्धिका निम्ति गहिरो खाडल हो । आधा जनसङ्ख्याले विभेद भोगेर देश बन्दैन । त्यस्तै, जातिको नाउँमा, भूगोलको नाउँमा, समुदायको नाउँमा हुने विभेदले अन्ततः देशलाई समृद्धिको बाटोमा जानबाट रोकिरहेको छ । त्यसैले सामाजिक विश्वास, समानता र स्वतन्त्रतासहित हितकारी नीतिले मात्र आम नागरिक खुशी रहन सक्छ ।

व्यक्ति, परिवार, समाज र देशको उच्चतम समृद्धि समतामूलक ढङ्गले गरिनुपर्छ । यस प्रकारको समृद्धिमा विभेदको कुनै गुन्जाइस हुँदैन । लोककल्याणकारी राज्यको अभ्यास यसमा हुन्छ । समग्रमा समृद्धिको चार आयाम हुन्छन् । पहिलो आयाम, तीव्र गतिको आर्थिक विकास । राष्ट्रिय पूँजीको विकास गर्दै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्दछ ।

नेपालको हालको अर्थतन्त्र उपभोगमुखी छ । देशको अर्थतन्त्रलाई उत्पादन केन्द्रित बनाइ समृद्धिको आधार निर्माण गरिनुपर्दछ । समृद्धिको दोस्रो आयाम, समन्यायिक वितरण प्रणाली हो। आम नागरिकमा उत्पादनको समन्यायिक वितरण गर्नुपर्दछ । आर्थिकरूपले सम्पन्न र पहुँचवाला केन्द्रित वितरण प्रणालीको अन्त्य नभएसम्म समृद्धि ल्याउन सकिंदैन ।

यसैगरी, समृद्धिको तेस्रो आयाम, दिगो विकास हो । दिगो विकास भन्नाले प्राकृतिक स्रोतको उपभोग गर्दा वातावरणीय पक्षको समुचित व्यवस्थापन गर्नु हो । विकासका नाममा गरिने प्राकृतिक स्रोतको दोहनले वातावरण सन्तुलनमा पार्ने असरको न्यूनीकरण गर्नु हो । यसैगरी, समृद्धिको चौथो आयाम भनेको मानवीय खुशी र आनन्द हो । यसको अर्थ सन्तुलित, नैतिक र सदाचारयुक्त जीवनशैलीको विकास गर्नु हो । त्यसैले नेपालको राजनीतिक बहसमा समतामूलक समृद्धिका उक्त आयामहरूलाई जोड्न जरुरी छ ।

वास्तवमा मानिस कल्याणकारी नीति वा भत्ताले मात्र पनि खुशी हुने होइन । मानौं, तपाईंले जागीर पाउनुभएको छैन । अब तपाईंलाई सरकारले बेरोजगार भत्ता दिन्छ भने तपाईं धेरै समय खुशी रहन सक्नुहुन्न । किनकि त्यहाँ तपाईंको आत्मसम्मान गुमेको छ । पहिचान गुमेको छ । बरु सरकारले तपाईंको योग्यता अनुसार जागीर उपलब्ध गराउन नेतृत्व लिए वा सीप सिकाउन नेतृत्व लिए, त्यसले तपाईंको आत्मसम्मान जोगाउन सक्छ ।

त्यसैले हाम्रो कल्याणकारी राज्य बनाउने बहसमा नागरिकको आत्मसम्मान र आत्मविश्वासलाई गहिरोसँग मनन गरिन जरुरी छ । हुम्लाको एउटा गाउँको मानिस गाडी देखेरै पनि खुशी हुन सक्छ । गाउँमा बाटो पुगेको खबर होस् वा बच्चाहरू दुई घण्टा हिंडेर भएपनि विद्यालय गएको दृश्य वा सुत्केरी गराउन हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं ल्याएकोमा भएको खुशी, यी सबै खुशीभन्दा हामीले खोजेको खुशी भिन्न हो । आफ्ना आधारभूत महŒवाकाङ्क्षालाई बाँधेर कुवामा रमाएर खुशी हुनुको अर्थ छैन ।

प्रतिव्यक्ति आय राम्रो हुनु, विद्यालय, अस्पताल आधा घण्टाको दूरीमा उपलब्ध हुनु, विद्यालयमा राम्रो शिक्षा हुनु, अस्पतालमा राम्रो स्वास्थ्य सेवा हुनु, पढाइ सकेपछि जागीर पाउनु, कामको सम्मान हुनु, सुरक्षित स्वतन्त्ररूपमा आत्मसम्मानसहित हिंड्डुल गर्न पाउनु नै हामीले खोजेको समतामूलक समृद्धि हो । आजको ‘समृद्धि’को परिभाषामा आर्थिक वृद्धिसँगै मानवता र प्रकृतिसँग पनि जोडिन जरुरी छ ।

स्वाभाविकरूपमा कम तनाव हुनु भनेको बढी खुशी हुनु हो । त्यसैले नागरिकको आधारभूत आवश्यकताबारे राज्यले नेतृत्व लिने हो भने नागरिक बढी खुशी हुन सक्छन् र बढी खुशी भएका नागरिकले बढी परिणाम दिन सक्छन् । आधुनिक युगमा खुशीलाई थप परिभाषित गर्न आवश्यक छ । खुशीको गहिराइ मापन गरिन जरुरी छ । खुशीको आयतनको दायरा बुझ्न जरुरी छ । तपाईं आफ्नो परिवारसँग कति समय बिताउनुहुन्छ वा छिमेकीसँग कति संवाद गर्नुहुन्छ वा युट्युबमा कति समय बिताउनुहुन्छ ?

यसले पनि खुशीको दायरामा प्रभाव पारिरहेको हुन्छ । त्यसैले खुशी देशका नागरिक र कम खुशी देशका नागरिकबीच अध्ययन ग¥यौं भने खुशी देशका नागरिकले युट्युबमा भन्दा आफैंसँग वा परिवारसँग बढी समय बिताएका हुन्छन् । अब हामीले समृद्धिको परिभाषा खोज्दै गर्दा व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्वबारे समेत छलफल हुन जरुरी छ । समृद्धिको मोडेल देश अनुसार फरक–फरक हुन्छ । हाम्रो प्रकृति, भूगोल, कला, संस्कृति, समाज फरक छन् ।

नेपालमा हामी समानता अनि आत्मसम्मानको जगमा उभिएको समृद्धि खोज्दैछौं । जसमा प्रत्येक समुदाय, वर्ग, पेशा, क्षेत्र, लिङ्ग आदिले अपनत्व महसूस गर्न सकोस् । जहाँ एउटा चालक अनि एकजना चिकित्सक दुवैले पेशागत सम्मान महसूस गर्न सकून् । तराई–मधेस, हिमाल, पहाड सबैले आत्मसम्मान महसूस गर्न सकून् । विकास गर्दैगर्दा प्रकृतिलाई माया गर्न सकियोस् । हाम्रो संस्कृति अनि सम्पदालाई जोगाउँदै थप फैलाउन सकियोस् । त्यसैले हामी समानता र आत्मसम्मानसहितको ‘समतामूलक समृद्धि’ खोज्दैछौं ।

धनसम्पत्ति प्रशस्त हुनु मात्रै कुनै व्यक्ति वा परिवार समृद्ध हुनु होइन । मध्यपूर्वका कतिपय देशको प्रतिव्यक्ति आय अमेरिका र युरोपका देशहरूभन्दा पनि धेरै छ । तर तपाईं कुन देश जान चाहनुहुन्छ भन्दा तपाईं हाम्रो प्राथमिकतामा क्यानडा पर्छ, अमेरिका पर्छ, युरोप पर्छ । किन ? किनकि, त्यहाँ खुला समाज छ । व्यक्तिगत स्वतन्त्रता छ । समानता छ । शिक्षा, स्वास्थ्य र रोजगारमा समान पहुँच र अवसर छ । त्यसैले प्रगतिशील दुनियाँमा हामीले खोजेको समृद्धि मात्र होइन, समतामूलक समृद्धि नै हो ।

एउटा नेपालीले दिनभरि आत्मसम्मानसहित काम गरेर आफ्नो परिवारका निम्ति शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका बारेमा चिन्ता नगरी वर्षमा एकचोटि आफ्नो परिवारलाई घुमाउन लान सक्ने अवस्था बनाउनु नै हामीले खोजेको समतामूलक समृद्धिको मोडेल हो । नेपालका हरेक राजनीतिक दल र आम नेपालीको जनजिब्रोमा अहिले विकास र समृद्धि रहेको पाइन्छ । तर नेपालका राजनीतिक दल र सरकारको नेतृत्व गर्ने दलले पनि विकास र समृद्धिको रटान लगाउने गरेको पाइन्छ । विकास र समृद्धिको कुरा गर्ने तर स्पष्ट मार्गचित्रसहित अभ्यास नगर्दा समतामूलक समृद्धिको नारा नारामैं सीमित भएको पाइन्छ ।

पछिल्लो समय हाम्रो देशमा समृद्धिको धेरै चर्चा भएको पाइन्छ । तर समृद्धिको स्पष्ट परिभाषाविना नै नेपालको राजनीतिमा यसको बहस गरिएको देखिन्छ । समृद्धिलाई समतामूलक समृद्धिको रूपमा स्तरोन्नति गरेर व्यवहारमा ल्याउनुपर्ने आजको आवश्यकता हो । यसलाई परिणाममुखी बनाउन आवश्यक पर्ने नीति, रणनीति र योजनाहरू बनाउनुपर्ने हुन्छ । यसका लागि कस्ता नीति र रणनीति अख्तियार गर्ने ? उक्त रणनीति अन्तर्गत रहेर संविधानमा उल्लिखित समाजवादमा पुग्न कुन श्रेणीमा कसरी पार गर्ने ? कुन कुन क्षेत्रमा कस्ता कस्ता अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने ? समतामूलक समृद्धि परिणाम केन्द्रित मुद्दा भएकोले यस्ता कैयौं सवालमा राष्ट्रिय बहसको आवश्यकता पर्दछ ।

जल, जङ्गल, जडीबुटी, खनिज, पर्यटन र विशिष्ट जलवायुको अवस्था हाम्रो सामथ्र्यका बहु क्षेत्र हुन् । जुन जुन देशले आफ्नो देशको प्राकृतिक तथा मानवीय स्रोत, साधन र सामथ्र्यलाई सदुपयोग गर्न सके, ती देशले समृद्धिपथमा नयाँ मानक स्थापना गरेको विश्व इतिहास छ । यिनै मानकको कसीमा हेर्दा नेपालले अब खानी उत्खनन गर्न, विद्युतीय ऊर्जा प्रवद्र्धन गर्न, जडीबुटी प्रशोधन गर्न, पर्यटन उद्योग प्रचार गर्न, खाद्यान्नमा आत्मनिर्भर हुन वा रेलमार्ग र जलमार्ग बनाउनमा ध्यान केन्द्रित गर्नुपर्ने आजको आवश्यकता हो । अन्त्यमा, समावेशी लोकतन्त्र र समतामूलक समृद्धि आम नेपालीको साझा लक्ष्य हो । यसका लागि देशको स्रोत र सामथ्र्यको उपभोगमा केन्द्रित प्राविधिक शिक्षा, सीपयुक्त मानव संसाधनको विकास र संरचनागत विकासमा दूरदृष्टि आवश्यक छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here