प्रस, वीरगंज, ९ कात्तिक/
प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिश गरेको छ । प्रदेश मन्त्रिपरिषद्को मङ्गलवार सम्पन्न बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यालय स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताए ।
प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुला हुनेछ । कृषि तथा प्राविधिकसम्बन्धी उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिकसम्बन्धी अध्ययन, अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागिएको हो । कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेशसभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिश गरेको हो ।
जनकपुरधाममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याइसकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न उचित रहेको जनाएको छ । यसैगरी, प्रदेश सरकारले ग्रीनसिटी, क्लिनसिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगंजमा सरसफाइ, बिजुलीबत्ती तथा वृक्षारोपण कार्य सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता साहले बताए ।
मन्त्रिपरिषद्ले प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माण कार्यलाई प्राविधिकसहितको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराइ ढिलासुस्ती एवं गुणस्तरहीन काम गरि रहेको पाइएमा ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी जफत गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाई प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
तेजाब आक्रमणबाट पीडित वीरगंज निवासी मुस्कान खातुनलाई थप उपचारको लागि प्रदेश सरकारले पFँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि प्रदेश सरकारले तेजाब आक्रमणबाट पीडित जनकपुरकी आरती साहलाई पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो ।