टोकियो, ९ कात्तिक/एएफपी

जापानकी राजकुमारी माकोले सर्वसाधारण एकजना युवकसँग विवाह गरेकी छन् । विवादबीच उनले मङ्गलवार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर बिदाइ अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।

जापानको शाही परिवारसम्बन्धी नियम अनुसार उनले सर्वसाधारणसँग बिहे गरेसँगै उनको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग शुरू भएको राजकुमारी माकोको प्रेमसम्बन्ध मङ्गलवारदेखि वैवाहिक सम्बन्धमा रूपान्तरण भएको हो । उनीहरूको ‘इङ्गेजमेन्ट’ गत सन् २०१७ मा भएपनि विवाहको मिति तय भएको थिएन ।

जापानका राजा नारुहितोकी ३० वर्षीया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेकी हुन् । उनका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आएका छन् । विवाहपछि राजकुमारी माको पनि अमेरिका जाने भएकी छन् ।

उनीहरूको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको थिएन भने उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्यागेकी छन् ।

यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग विवाह गर्न लागेको भन्दै उनीहरूको विवाहका बारेमा टीकाटिप्पणी हँुदै आएको थियो ।

विरोधका बीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरि भने सकारात्मक चर्चाको विषय भएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here