दशैं सकिएसँगै ग्रामीण भेगमा घर लिपपोत सफाइ कार्य शुरू

0

प्रस, सेढवा, ९ कात्तिक/

दशैं सकेर तिहार, छठ नजीकिंदै जाँदा पर्साका ग्रामीण भेगका बासिन्दाहरू घर लिपपोत तथा सफाइ कार्यमा व्यस्त भएका छन् । वर्षायामका कारण घरका भित्ता तथा, छानामा झारपात उम्रेपछि त्यसलाई उखेल्न र अन्य सरसफाइमा जुटेका छन् । लक्ष्मी पूजाका लागि घरआँगनलाई सुन्दर बनाउन अधिकांश मानिस लागिपरेका छन् । उनीहरू भाँचिएको खरका भित्तालाई पुनः नयाँ निर्माण गरी पहेंलो चिम्ट्यिाइलो माटोले लिपपोत गर्न जुटेका छन् ।

गृहिणीहरूले माटोमा गाईवस्तुका गोबर, गहुँ वा धानको परालको भुस पानीमा मुछेर घरका भित्ता र सतह लिपपोत गरिरहेको जीराभवानी गाउँपालिका–२ सेढवाकी कान्ति देवीले बताइन् । यस वर्ष बेमौसमी वर्षाका कारण घरआँगनको सरसफाइ गरी सुन्दर बनाउन ढिलो भएकोले हतारमा तिहारको तैयारीमा जुटेको उनले बताइन् ।

यसअलावा खेतमा पाक्न लागेको वर्षेबाली भण्डार व्यवस्थापनका लागि किसानहरू तैयारीमा लागेका छन् । प्रायः यस क्षेत्रमा धान भण्डारका लागि बाँसबाट बनाइएका भकारी प्रयोजनमा ल्याउने गरिन्छ । बेमौसमी वर्षाले भत्किएको भकारी तथा फुसको छाना मर्मत गरी लिपपोत गर्ने किसानहरूले जनाएका छन् ।

यसका साथसाथै यसै समयमा कात्तिकी काममा किसानहरू व्यस्त छन् । बेमौसमी वर्षाका कारण तरकारी रोपाइँमा ढिला भएको किसानले बताए । तोरी, रायो, आलु, लसुन, चम्सुर, धनिया, भन्टा, काउली, बन्दालगायतका तरकारी रोप्न किसानहरू व्यस्त रहेको जगरनाथपुर गापा–३ का किसान रामचन्द्र यादवले बताए । अहिले राम्रोसँग उत्पादन गर्न सके आलु, लसुन बिक्री गरेर पनि वर्षभरि खान पाउने उनले बताए । प्रायः कात्तिक महीनामा यी उत्पादनमा किसानहरू लागिपर्छन् ।

जीराभवानी र ठोरी गापामा तेलहन बाली अन्तर्गत तोरीखेतीमा समस्या भएको छ । अहिले खेतमा पानी जमेको कारण तोरीको रोपाइँ गर्न नसकिएको एकजना किसानले बताए । तोरी ढिलो गरी छरे बालामा दाना लाग्ने बेलामा निकै जाडो हुने र उत्पादन घट्न सक्ने पीडाले सताएको किसानहरू बताउँछन् । यस क्षेत्रमा छ सयदेखि आठ सय बिघा जग्गामा तोरीखेती हुँदै आएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here