लम्पट सरकार, समस्याको भारी

0

सरकार लम्पट बनेको छ । यसो त लम्पटको दुईवटा अर्थ हुन्छ, यहाँ डस्नाका रूपमा प्रयोग हुने लम्पटको कुरा गरिंदैछ । लम्पट अर्थात् जहाँ थकित व्यक्ति सुतेर आराम गर्छ । सबै राजनीतिक दलहरूलाई कुर्सीको हानथापले यति सास्ती दियो कि अब प्राप्त लम्पटमा सबै ‘लम्पट’ बन्न थालेका छन् । यस अर्थमा शेरबहादुर देउवाले जस पाउँछन् । आफ्नो लम्पटमा सबैलाई ठाउँ दिए। र सबै ठाउँ पाएर लमतन्न परेकाले देशको चाहिं बिल्लीबाँठ हुन थालेको छ । देशमा सर्वत्र सरकार र प्रकृतिजन्य हुँडलोले जनता कुहिरोको काग बन्न पुगेको छ । भारतले पेट्रोलियम पदार्थ आपूर्तिमा सकस नहोस् भनेर पाइपलाइन बिछ्याइदियो, तर बितेको चार दिन पेट्रोलियम पदार्थ नपाएर हाहाकार मच्चियो । देशमा बिजुली खेर गइरहेको छ तर उपभोक्ता दैनिक अघोषित लोडसडिङ सहिरहेको छ । सरकारी, ऐलानी वा सार्वजनिक जग्गाहरू धमाधम भूमाफियाको कब्जामा गइरहेको छ, जनतासँग छाती ठटाउनुबाहेक केही छैन । जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त हुनु नेपालमा नौलो समाचार नै होइन । बूढाहरू दबङ्ग राजनीतिज्ञ र युवाहरू दुलो पसेर बसेका छन् । विधिको शासन भनिन्छ, लोकसेवा आयोगलाई खुचिङ गर्दै हाकिमहरू दर्जनका दर्जन कर्मचारी भर्ना गर्छन् ।

माथि भनिएका उदाहरण औलामा गन्ती गर्ने खालका अनियमितता हुन् । अनियमितता गन्ती गर्न बस्ने हो भने कपालले भ्याउँदैन । देशमा प्रजातान्त्रिक भनिएको दुईवटा व्यवस्था परिवर्तन भयो, हालीमुहाली भने मशान जाने तरखर गर्नेहरूको कायम छ । सडेगलेको सोच, मैले जीवनभर गरेको त्यागको प्रतिफल पाइनँ भन्ने गुनासो, मानिस मारेबापत मानिसमाथि शासन गर्न पाउनुपर्ने धोको, हनुमान बनेको प्रतिफल लम्पट बनेर लम्पटमा ढलीमली गर्न पाउनुपर्ने अधिकार अहिलेको नेपालको राजनीतिक परिदृश्य हो । पार्टीगत व्यवस्था भनिन्छ, तर पार्टीको अवहेलना, पार्टी फुटाउने, नसके गुट खडा गर्ने, गुटभित्र उपगुट बनाउने, हार्ने गोरुको छेर्ने बानीझैं निर्वाचनमा पराजयको आशङ्काले निर्वाचन पद्धतिलाई दोष दिनेजस्ता, कहलिएका राजनेताहरूको विवशताले के सन्देश दिन्छ ? यस्तालाई नकारा, निकम्मा, आफ्नै स्वार्थबाहेक केही नदेख्ने लम्पट नभने के भन्ने ? यस्तो कोरोना भाइरसको महामारी, असामयिक वर्षाले बालीनालीमा पु¥याएको क्षति, सयौं मानिसको नोक्सानी, भिœयाउन ठीक्क पारेको धान खेतमैं टुसाउनुजस्ता किसानको बिचल्लीलाई हेरिदिने को ?

कुनै पनि देशमा राम्रो र नराम्रो गर्ने व्यवस्थाले होइन, मानिसले हो । व्यवस्था अनुसार चलेर व्यक्तिले देश बनाउने हो । व्यवस्था अनुसार चल्नै नजान्ने–नमान्नेले जतिपटक निर्वाचन जिते पनि सारमा हुने केही होइन । आज देशमा नेताहरूको काम मैले पछारिदिएँ, आफू ठूलो बनें, देश र जनताको भलो यही हो । म भए पुग्यो, विकास र राहत किन चाहियो भन्ने मानसिकता व्याप्त छ । यस्तो सोच लम्पट मानसिकताको उपज हो । ‘लम्पट’हरूलाई लम्पट मन पर्छ । अहिले सबैले उपयोग गर्न सक्ने लम्पट तयार छ । लम्पटमा लम्पसार पार्नेहरूको खोजीमैं तीन महीना बित्यो । साइज नमिलेर मात्र हो, अझ कति लम्पटहरू लम्पसार पर्थे होलान् । अब त देशमा थुप्रै उपप्रधानमन्त्री भएजस्तो जतिवटा पार्टीको गठबन्धन सरकार छ, त्यतिजना प्रधानमन्त्री बनाउने विधेयक ल्याउन बाँकी छ । नियमलाई परिपत्रले मिच्ने, विधिलाई विधेयकले ङ्याक्ने थिति भएको देशमा यस्तो हुन के बेर ? अनि देशले समस्याको भारी बोक्ने नै भयो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here