जिल्ला हुलाक पर्साको जग्गामा अनधिकृत कब्जा

0

प्रस, वीरगंज, ८ कात्तिक/

जिल्ला हुलाक कार्यालय, पर्साको करीब १५ कट्ठा जग्गामध्ये अधिकांश जग्गा लामो समयदेखि अनधिकृत कब्जामा छ । २०७२ सालका तत्कालीन कार्यालय प्रमुख अमित गिरीले हुलाकको खाली जग्गा पाँचजनाको नाउँमा प्रतिमहीना रु पाँच हजार भाडादर कायम गरी १० वर्षको लागि लिजमा दिएका थिए ।

भाडामा लिएका व्यक्तिहरूले आफ्नो हकभन्दा बढी जग्गा कब्जा गरी बसेको पाइएको छ । आफ्नो हकभन्दा बढी रहेको खाली सबै जग्गामा एकजनाले नर्सरी खोलेका छन् । भाडामा लागेको जग्गाभन्दा बढी जग्गा फिर्ता गर्न जिल्ला हुलाक कार्यालयले पटक–पटक स्थानीय प्रशासनसँग सहयोग माग गरेको छ तर छ वर्षदेखि स्थानीय प्रशासनको सहयोग नपाउँदा हुलाक कार्यालयको अतिक्रमित जग्गामा भाडावालाहरूको रजाइँ जारी छ ।

हुलाक कार्यालयको अनुसार २०७२ सालमा न्यू मङ्गलकामना नर्सरीलाई वार्षिक रु ६३ हजारमा १० धुर, मनोकामना नर्सरीलाई वार्षिक रु १ लाख २५ हजारमा एक कट्ठा, आर्य एडुकेशनलाई वार्षिक रु ८१ हजारमा १२ धुर तथा मोटरसाइकल शोरूमको लागि वार्षिक रु ६५ हजारमा १० धुर जग्गा १० वर्षका लागि दिइएको थियो ।

पछिल्लोपटक भाडा लिएकाहरूले हुलाकलाई तोकिएको भाडा पनि दिन बन्द गरेका थिए । सोबारेमा अख्तियारमा उजूरी परेपछि सबैले तोकिए अनुसारको भाडा एकमुस्ट बुझाए । भाडा लिएको जग्गामा स्थायी संरचना नबनाउने, जग्गामा नर्सरी खोली बिरुवा मात्र बिक्री गर्ने सम्झौतामा उल्लेख छ ।

तर भाडा लिएकाहरूले भने आफूखुशी स्थायी टहरा बनाउनुका साथै हुलाकका सबै जग्गा कब्जा गरी बसेका छन् । उनीहरूमध्ये केहीले त घर नै बनाएर परिवारसहित बसेका छन् । सम्झौताविपरीत अतिक्रमण गरिएको जग्गा खाली गराउन खोज्दा कलैया निवासी सञ्चालकद्वय उमेश कुशवाहा र रवीन्द्र कुशवाहाले कर्मचारीहरूलाई गाली गर्ने, तर्साउने कार्य गर्दै आएको हुलाकका कर्मचारीहरूको आरोप छ ।

आर्य एडुकेशनलाई मेनरोडसँग जोडिएको पुरानो भवनलाई मात्र आधार बनाइ भाडा दिए तापनि उसले पुरानो भवनसहित नयाँ पक्की घरसमेत बनाएर गैरकानूनीरूपमा कक्षा सञ्चालन गरिरहेको छ ।

यसबारे कार्यालय प्रमुख चन्द्रदेव दाससँग बुझ्दा उनले अतिक्रमित जग्गा खाली गराउन आफूले सक्दो प्रयास गरेको बताए । जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालयलाई पटक–पटक पत्र पठाइ तथा मौखिक जानकारीसमेत गराएको उनको भनाइ छ । उनले प्रशासनिक असहयोगले बढी जग्गा कब्जा गरेर बसेकाहरूलाई अहिलेसम्म हटाउन नसकिएको दुःखेसो पोखे ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here