पोखरिया नपाको पाँचौं नगरसभा सम्पन्न, ५० करोड ६२ लाखको बजेट सर्वसम्मत पारित

0

प्रस, पोखरिया, ८ कात्तिक/

पोखरिया नगरपालिकाको पाँचौं नगरसभाको दोस्रो बैठक सोमवार सम्पन्न भएको छ । पहिलो बैठक असारमा भएर नीति तथा कार्यक्रम प्रस्तुत गरिए पनि केही कुरामा सहमति नभएको र केही वडाध्यक्षले योजना प्रस्तुत नगर्दा दोस्रो बैठक बस्न नसकी बजेट पारित हुन सकेको थिएन ।

सोमवार नगरपालिकामा ‘सबै बालबालिका पूर्ण समय औपचारिक दिवा विद्यालयमा हुनुपर्दछ’ भन्ने नाराका साथ आयोजित दोस्रो बैठकको उद्घाटन नगरप्रमुख दीपनारायण रौनियारले गरेका थिए ।

बैठकमा उपप्रमुख सलमा खातुनले आन्तरिक आय, सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सशर्त रकमसमेत गरी रु ५० करोड ६२ लाख १९ हजारको बजेट प्रस्तुत गरेकी थिइन् ।

उनले पोखरिया नपाको आन्तरिक स्रोतबाट ९ करोड ३१ लाख ३७ हजार, सङ्घीय सरकारबाट समानीकरण अनुदान रु ११ करोड ७५ लाख, सशर्त अनुदान रु १९ करोड ८९ लाख, राजस्व बाँडफाँडबाट रु ७ करोड १५ लाख ८६ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान रु ८० लाख ४४ हजार, सशर्त अनुदान रु ८० लाख, समपूरक कोष रु २० लाख र राजस्व बाँडफाँडबाट रु ४० लाख ४२ हजारसमेत गरी आव २०७८/७९ को लागि पोखरिया नगरपालिकाको कुल रु ५० करोड ६२ लाखको बजेट प्रस्तुत गरेकी थिइन् ।

दोस्रो बैठकमा वडाध्यक्षद्वय बङ्काराउत कुर्मी, लक्ष्मण साह कानूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पोखरिया नगरपालिकाले वडास्तरमा सबै वडालाई समानुपातिक ५०/५० लाख बजेट विनियोजन गर्दै आएकोमा यसपटक भने वडा नं २ र ९ मा दश/दश लाख बढी बजेट विनियोजन गरेको छ । अन्य वडाका तुलनामा यी दुई वडा ठूलो भएकाले बढी बजेट विनियोजन गरिएको बैठकमा जानकारी गराइएको थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here