वडाध्यक्ष अन्सारीसहित तीनजनाविरुद्ध मुद्दा दर्ता

0

प्रस, वीरगंज, ८ कात्तिक/

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँका छोरा र वीरगंज महानगर–१३ का अध्यक्ष तुफान फारुख अन्सारीसहित तीनजनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

१८ वर्षीय भारतीय युवती जयतुन नेसाको शङ्कास्पद मृत्युको घटनामा प्रमाण नष्ट गर्ने प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । प्रहरीले जगरनाथपुर गापाका अध्यक्ष मियाँका जेठा छोरा नासिर मियाँ र मृतक जयतुन नेसाका बुबा समसुद्दीन अन्सारी तथा वीरगंज महानगर–१३ का अध्यक्ष अन्सारीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

वीरगंज–१३ मुर्ली, नयाँबस्तीस्थित कब्रिस्तानमा भारतमा मृत्यु भएकी युवतीको शल्यपरीक्षण नगरी गुपचुप अन्तिम संस्कार गर्ने क्रममा पर्सा प्रहरीले सूचनाको आधारमा पुरिएको लाश निकालेर काठमाडौंमा शल्यपरीक्षण गराएको थियो । शल्यपरीक्षणमा युवतीको मृत्यु झुन्डिएर भएको रिपोर्ट आएको र अभियुक्तहरूले प्रमाण दबाउन सहयोग गरेकोले मुलुकी ऐनको दफा ९३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारबाई अघि बढाइएको प्रवक्ता खनालले बताए ।

घटना असोज २१ गतेको हो र घटनापछि प्रहरीले छानबीनको क्रममा केही व्यक्तिलाई पक्राउ पनि गरेको थियो । प्रारम्भिक सूचनाका अनुसार युवतीसँग गरिएको बलात्कारपश्चात् अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको थियो । मृतक युवती पर्साको जगरनाथपुर गापाका अध्यक्ष जालिम मियाँका जेठा छोरा नासिर मियाँकी साली हुन् ।

जयतुन नेसाको बलात्कार भारतमा भएको र सोपछि उनले झुन्डिएर आत्महत्या गरेको हुनुपर्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थल फरक देशमा भएकोले त्यहाँको प्रहरीको सहयोगमा अनुसन्धान कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here