प्रस, परवानीपुर, ८ कात्तिक/
शहरी विकास तथा भवन कार्यालय वीरगंज पर्साका प्रमुख रुद्रनारायण दासले गुपचुप २२ जना कर्मचारीलाई करार र दैनिक ज्यालादारीमा नियुक्त गरेको रहस्योद्घाटन भएको छ ।
आर्थिक प्रभावमा परी पुराना करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई निरन्तरता नदिएर नयाँ कर्मचारी नियुक्त गरेको अहिले प्रमुख दासमाथि आरोप लागेको छ । कार्यालयमा करार दरबन्दीमा कार्यरत कर्मचारी विजय यादवका अनुसार प्रमुख दासले पुराना कर्मचारीको म्याद थप गर्दा आर्थिक लाभ नहुने र नयाँ नियुक्ति गर्दा आर्थिक लाभ हुने देखेरै पुरानालाई पाखा लगाएर नयाँ कर्मचारी नियुक्त गरेको आरोप लगाए ।
करार र दैनिक ज्यालादारीमा २२ जना नयाँ कर्मचारी नियुक्त गरेको सूचना बाहिरिएपछि पुराना २० जना कर्मचारीले विरोध जनाएका छन् । तीन महीनादेखि पुराना कर्मचारीको म्याद थप नगरिएको र उनीहरूले यो अवधिमा गरेका कामको पारिश्रमिक पनि नदिएर नयाँ कर्मचारी नियुक्त गरेपछि पुरानाले विरोध गरेका हुन । उनीहरूले प्रमुख दासको यस कार्यविरुद्ध जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापनपत्र बुझाउँदै पुराना कर्मचारीले नयाँ नियुक्ति बदरको माग गरेका छन् । उनीहरूले महान् पर्व दशैंमा पनि तलब नपाएको र अब तिहार र छठ पर्व नजीकिएकाले तलबको व्यवस्था मिलाइदिन पनि आग्रह गरेका छन् ।
करार र दैनिक ज्यालादारीमा सो कार्यालयमा २०७३ सालदेखि काम गर्दै आएका २० जना कर्मचारीको म्याद थप नगरी नयाँ कर्मचारी नियुक्त गरेपछि आफूहरूको कार्यालय प्रमुख दासको विरोध भएको हो । पुराना कर्मचारीहरूले आफ्नो माग दुई दिनभित्र पूरा नभए कार्यालय प्रमुख र लेखापालको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
यस विषयमा कार्यालय प्रमुख दाससँग बुझ्दा उनले नियमसङ्गत कर्मचारी नियुक्ति गरेको र आजै प्रदेश २ का मुख्यमन्त्री र जनता आवास कार्यक्रमका संयोजकको रूपमा रहेका प्रदेश सांसदहरूको रोहबरमा जनकपुरमा समस्या समाधान गर्न छलफल भएको बताए । सङ्घीय मन्त्रालयबाट दरबन्दी माग गर्ने र त्यसपछि कसलाई राख्नेबारेमा पुराना कर्मचारीहरूसँग बसेर समस्या समाधानको लागि पहल गर्ने प्रमुख दासले बताए ।