प्रस, जीतपुर, ८ कात्तिक/
इलाका प्रहरी कार्यालय जीतपुरको आयोजनामा सोमवार जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घमा महिला हिंसाबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
‘हर पहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी, शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी’ भन्ने नाराका साथ शुरू भएको सचेतना कार्यक्रममा स्थानीय महिला नेत्री सुगन्धी पासवानले पति–पत्नी एकअर्काका पूरक भएको बताइन् । उनले दुवैबीच कमी वा अभाव हुन गए दाम्पत्य जीवन अधूरो हुने तथा प्रेम र सहकार्यबाट मात्र सम्बन्ध प्रगाढ हुने बताइन् । सम्बन्ध प्रगाढ भएमात्र समग्र विकास सम्भव हुने उनको तर्क थियो ।
अर्का महिला नेत्रीहरू मुन्नी पाठक, शीतल आचार्यले मानसिक र शारीरिक पीडाले महिलाहरू पीडित भएको चर्चा गर्दै पति–पत्नी रथका दुई पाङ्ग्रा भएर अगाडि बढेमा आपसी प्रेम बढी समझदारीपूर्वक जीवन निर्वाह हुने बताए ।
उनीहरूले विगतमा महिलाहरू अधिकारविहीन भएर बस्नुपरेको चर्चा गर्दै अहिले परिवर्तित व्यवस्थामा केही हदसम्म महिलाहरूले पनि अधिकार पाएको महसूस भएको बताए । देशमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी भएपनि उनीहरूलाई सङ्ख्यात्मकरूपमा पद र जिम्मेवारी दिने कार्यबाट वञ्चित गरिएको आरोप लगाए । तीन तहको सरकारमा महिलाहरूको समावेशिता देखिए पनि सोबाहेकमा भने अहिले पनि विभेद भएको भन्दै अधिकारका लागि महिलाहरू अझ सशक्त किसिमले एकताबद्ध भएर अगाडि बढ्न आवश्यक भएको चर्चा गरे ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष घनश्याम गिरीले महिला र पुरुषबीच हुने हिंसा नियन्त्रणमा यस प्रकारका सचेतनामूलक कार्यक्रमले फलदायी काम गर्ने बताए । उनले महिला र पुरुषबीचको भेदभाव अन्त्य भएको खण्डमा मात्र समृद्ध समाजको कल्पना गर्न सकिने बताए ।