प्रस, परवानीपुर, ८ कात्तिक/
जनमत पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गर्दै सोमवार प्रदेश दुईका विभिन्न स्थानमा सिटी जुलुस प्रदर्शन गरेको छ ।
पक्राउ परेका कार्यकर्ता रिहा नगरिएको खण्डमा मुख्यमन्त्री लालबाबूराउत गद्दी र प्रदेश सरकारविरुद्ध आन्दोलन गर्ने सो पार्टीले चेतावनी दिएको छ । आज प्रदेशको राजधानी जनकपुर र आर्थिक राजधानी वीरगंजलगायतका स्थानमा जनमत पार्टीका कार्यकताहरूले जनकपुर घटनामा पक्राउ परेका कार्यकर्ताहरूको रिहाइको माग गर्दै सिटी जुलुस निकालेका थिए ।
वीरगंजमा महिला सङ्गठनकी अध्यक्ष अनीता रौनियारको नेतृत्वमा निकालिएको सिटी जुलुसमा सहभागीहरूले पक्राउ परेका १७ जनाको रिहाइको माग गर्दै भ्रष्टाचारीलाई जेल हाल, बेमौसमी वर्षाबाट पीडित किसानलाई मुआवजा देउलगायतका नाराहरू लगाएका थिए । घण्टाघरबाट निकालिएको सिटी जुलुस नगरपरिक्रमापछि सोही स्थानमा कोणसभा गरेर समापन भएको थियो ।