खार्तुम, ८ कात्तिक/एएफपी

सुडानको सेनाले प्रधानमन्त्री अब्दुल्ला हम्डकसहित दर्जनौं नेतालाई गिरफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चारमाध्यमहरूद्वारा जारी समाचारमा उल्लेख छ । सञ्चार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको पुष्टि गरेको छ । सोमवार सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भने पनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो । उनलाई अहिले सेनाले अज्ञातस्थलमा राखेको छ ।

नागरिक अगुवाहरूसमेत सम्मिलित सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्बन्धमा तिक्तता आएको थियो । सत्ता कब्जा गरेको सेनाले देशभरि इन्टरनेटलगायतका सञ्चार सेवाहरू अवरुद्ध गरेको छ । त्यसैगरी, राजधानी खार्तुम ओहोरदोहोर गर्ने मुख्य सडक र पुलहरू बन्द गरिएका छन् ।

सेनाको कदमको विरुद्धमा प्रदर्शनसमेत हुन थालेको छ भने प्रदर्शनमा सहभागीहरूलाई सेनाले गिरफ्तार गरेको छ । देशका विभिन्न ठाउँमा दर्जनौं प्रदर्शनकारी भेला भएर सेनाको कदमको विरोध गरिरहेका छन् । प्रदर्शनकारीहरूलाई तितरवितर पार्न सेनाले अश्रुग्यास प्रहार गर्नेलगायतका प्रतिरोधात्मक कदमहरू पनि चालेको छ । प्रदर्शनकारीहरूले सेनाले सैन्य ‘कू’ गरेको बताएका छन् । उनीहरूले नागरिकसहितको सरकारलाई नै कार्याधिकार दिन माग गरेका छन् ।

तत्कालीन राष्ट्रपति बशिरको विरोधमा सङ्गठित भएको सुडानिज प्रोफेशनल एशोसिएशन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आमजनतासमक्ष अनुरोध गरेको छ । तत्कालीन सरकारले मूल्यवृद्धि गरेको विरुद्धमा सन् २०१९ मा शुरू भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दुल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिकस्तरको सङ्क्रमणकालीन सरकारका रूपमा गठन भएको थियो ।

सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्थ गरेको हो । नागरिक अगुवासहितको सरकारलाई अपदस्थ गरेकोप्रति अन्तर्राष्ट्रिय समुदायबाट पनि चर्को विरोध भएको छ । संयुक्त राज्य अमेरिकाले सुडानी सेनाले गरेको सत्ताविद्रोहप्रति आपत्ति जनाएको छ ।

सुडानका लागि अमेरिकी दूत जेफ्री फेल्टम्यानले विज्ञप्ति प्रकाशन गरी नागरिक सरकारप्रतिको सुडानी जनताको चाहनालाई सैनिक विद्रोहले कुठाराघात गरेको उल्लेख गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here