जलेश्वर, ८ कात्तिक/रासस
सुङ्गुर डो¥याएर वर्षैभरि गाउँगाउँ चहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीको महान् पर्व छठ नजीकिंदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ भएको छ ।
गाँस, बास र कपासकै जोरजाममा पीढीदर पीढीलाई हम्मेहम्मे पर्ने गरेको डोमले छठ पर्व आउनासाथ कात्तिक महीनाभरी आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको महोत्तरीको गौशाला नगरपालिका–११ की ६५ वर्षीया लक्ष्मीनियादेवी डोमिनले बताइन् ।
जिल्लाका विभिन्न गाउँ, शहरमा हुने भोजभतेरबाट जूठोसमेत ल्याएर सपरिवार खाने गरेको डोमले कात्तिकमा नानाथरीका परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ७० वर्षीया भुल्लीदेवी डोमिनले बताइन् ।
डालो बुन्दै गरेकी जिल्लाको लोहारपट्टि नगरपालिकाकी ५५ वर्षीया मरनीदेवी डोमिनले भनिन्, “कात्तिक लाग्ने बित्तिकै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छांै, बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुशी हुन्छौं ।”
छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेंतकै चोयाबाटै बनाइएका डालो, नाङ्ला र टालुटपरीमा अघ्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा ५/७ वटा बाँसका भाँडाकँुडा किन्नुपर्दछ ।
छठ पर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासपूर्ण कुरा बताउँदै मनरा नगरपालिकाका ५० वर्षीय शङ्कर डोमले आफूहरू सोही कारण दिनरात व्रतालुका निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाए ।
त्यस्तै, जिल्ला सदरमुकाम जलेश्वरका इन्दल डोमले डालो, नाङ्लो र टालुटपरी बेचेर कात्तिकभरिमा वर्षभरिकै सबै कर्जा ऋण चुक्ता गरेर आउने गरेको बताए । त्यसैगरी, जिल्लाको एकडारा गाउँपालिकाका महिन्दर डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु २० देखि ३० हजार र प्रत्येक परिवारले रु दुई/तीन लाखसम्म आम्दानी गर्ने गरेको जानकारी दिए ।
अहिले गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेंतको थुप्रो राखिएको छ । डोम परिवारका सबै बाँस र बेंतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् । छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकँुडा पु¥याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ छ ।