काठमाडौं, ८ कात्तिक/रासस

वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करीब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ ।

सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रूपन्देहीमा करीब ४२ हजार हेक्टरमा एक लाख ६१ हजार २२३ मेट्रिकटन धान नोक्सान हुँदा रु चार अर्ब ५१ करोड क्षति भएको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा करीब १८ हजार हेक्टरमा ६८ हजार ४०० मेट्रिकटन धान क्षति भएको छ । सोको बजार मूल्य रु एक अर्ब ९१ करोड हुन्छ ।

प्रदेश नं १ का झापा, मोरङ र सुनसरीमा सात हजार ४९२ हेक्टर क्षेत्रफलमा २८ हजार ४६९ मेट्रिकटन बालीमा नोक्सान पुगेको छ । यसको बजार मूल्य रु ८० करोड हुन आउँछ । गत असोज ३१ गतेदेखि देशका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण विशेषगरी यस क्षेत्रका किसान समस्यामा परेका छन् । अन्य प्रदेशमा पनि के कस्तो नोक्सान भएको छ, त्यसको अभिलेख सङ्कलन गर्न मन्त्रालय मातहतका प्रदेश कार्यालयलाई जिम्मेवारी दिइएको छ ।

सम्बन्धित पक्षलाई राहत सहुलियत उपलब्ध गराउन मन्त्रालयबाट पनि अनुगमन समिति गठन गरी प्रभावित क्षेत्रमा पठाइएको प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । मन्त्रालय र प्रदेशका अधिकारीबीच समन्वय र समझदारी कायम गरी प्रभावित कृषकलाई सहयोग प्रदान गरिने जनाइएको छ । वर्षाले देशका विभिन्न स्थानमा आएको बाढी तथा डुबानले १०० भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

विभिन्न स्थानका सडक मार्गसमेत नोक्सान भएका छन् । कृषकले धान भित्र्याउने समयमा भएको वर्षाले यस वर्ष ठूलो नोक्सानी भएकाले राष्ट्रिय उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ ।

धानलगायत अन्य बाली रोप्ने समयमा रासायनिक मलको समस्या सधैं हुने गर्दछ । मौसमका आधारमा बर्खे धान, चैते धान, भदैया धान र घैया धानसमेत उत्पादन हुने गर्दछ । नेपालमा अन्नबालीमा धानलाई प्रमुख बालीका रूपमा लिइन्छ ।

करीब दुई दशकदेखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा करीब ३२ प्रतिशत कृषि क्षेत्रले योगदान गरेको छ । त्यसमा पनि कृषि गार्हस्थ उत्पादनमा धानको योगदान करीब २० प्रतिशत छ । खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरी चामलमा राम्रो हुन्छ ।

कुल जनसङ्ख्याको करीब ६५ प्रतिशत यस क्षेत्रमा आश्रित छन् । मुलुकमा राम्रो धानखेती हुने क्षेत्र तराई भएपनि पहाडमा हावापानी अनुसारको स्थानीय धान उत्पादन हुने गर्दछ । उच्च क्षेत्र जुम्लालगायत केही हिमाली जिल्लामा पनि स्थानीय धानखेती हुने गर्दछ । मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा धानको खेती हुन्छ । देशको करीब १६ लाख हेक्टरमा धानखेती भइरहेको मन्न्त्रालयले जनाएको छ ।

हाल ६३ जातका धानको खेती गरिन्छ भने पछिल्लो पाँच वर्षयता करीब ५० देखि ५६ लाख मेट्रिकटन धान उत्पादन हुने गरेको अभिलेख छ । “केही दशकअगाडि हामीले विदेशमा चामल निर्यात गर्ने गरेकामा केही वर्षदेखि चामल आयात गरेका छौं,” प्रवक्ता सञ्जेलले भने । गत वर्ष नेपालले करीब रु ५० अर्बको चामल आयात गरेको मन्त्रालयले जनाएको छ । यसले व्यापारघाटालाई बढाएको छ भने राष्ट्रिय अर्थतन्त्रलाई नकारात्मक असर पु¥याएको छ ।

विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गरेको छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । विश्वमा करीब १७ करोड हेक्टर जमीनमा धानखेती गरिन्छ भने करीब ७५ करोड मेट्रिकटन धान उत्पादन हुन्छ । कुल उत्पादनको ८० प्रतिशत धान खपत एसियामा हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here