अर्थतन्त्रमा मौसमको भरथेग कहिलेसम्म ?

0
  • ओमप्रकाश खनाल

असोजको अन्तिम साताबाट शुरू भएको बेमौसमी वर्षात् अझै सकिएको छैन । यो बेमौसमी वर्षात्ले कृषि कर्ममा निकै क्षति पु¥याएको छ । किसानले भिœयाउने तयारीमा रहेको धानखेतीमा यसको क्षति देखिएको छ । धानखेतीमा कति क्षति भयो, यसको निश्चित तथ्याङ्क नआए पनि सरोकारका क्षेत्रका विज्ञहरूले ३० प्रतिशतसम्म क्षति भएको अनुमान गरेका छन् । घामपानी जस्तो प्राकृतिक चक्रलाई रोक्न सकिंदैन । तर त्यसको उचित व्यवस्थापन गर्ने हो भने क्षति घटाउन अवश्य सकिन्छ । हामीकहाँ यहींनिर चूक भइराखेको छ ।

खेतीको समयमा कहिले पानी नपाएर किसानले धान रोप्न नपाएका समाचार आउँछन्, कहिले बाली भिœयाउने समयमा अहिलेजस्तो बेमौसमी वर्षात्का कारण ठूलो क्षति भोग्नुपरेको अवस्था देखिन्छ । यतिखेर धानखेती भिœयाउने समय भएकाले धानको बढी चर्चा भएपनि हरेकजसो बाली उत्पादनमा यो समस्याको पुनरावृत्ति भइआएको छ । वर्षात्बाट बाली बिग्रिएको मात्र होइन, चाहिएको बेलामा पर्याप्त वर्षात् नहुँदा बाली बिग्रिने पीडा पनि हामीसित छ । अर्थात् हाम्रो समग्र खेती अहिले पनि आकाशको भरमा चलेको छ ।

हामीकहाँ मौसमसम्बन्धी भविष्यवाणीका लागि मौसम पूर्वानुमान महाशाखा क्रियाशील छ । विगतमा यसको त्यति विश्वसनीयता नभए पनि पछिल्लो समयमा यसको प्रविधिमा आएको सुधारका कारण औसत अनुमान मिल्न थालेका छन् । किसानका लागि नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रजस्ता संयन्त्रले मौसमबारे जानकारी दिने गरेका छन् । बुलेटिन तथा एसएमएसबाट किसानलाई जानकारी र सुझाव दिने गरिएको छ । सञ्चार र सामाजिक माध्यमहरूमा यस्ता सूचना नआएका पनि होइनन् । तर यस्ता सूचना किसानसम्म किन सही तरीकाले पुग्न सकेनन् ? वा पुगेर पनि किसानले त्यसलाई गम्भीररूपमा लिएनन् ? समीक्षा जरुरी छ ।

मौसमको भविष्यवाणी र सूचना प्रवाहमा सही संयोजन नमिलेकाले यस्तो भएको हो । वर्षा हुन्छ त भनियो, कति वर्षा हुन्छ भनेर स्पष्ट सूचना नपुग्दा किसानले त्यसलाई गम्भीररूपमा लिएनन्। वर्षाको कति परिमाणको असर कस्तो हुन्छ भन्ने सही जानकारी किसानलाई भएन । यस कारण उनीहरूले यसलाई हल्कारूपमा लिए । यस अर्थमा सूचना प्रवाहको तरीका र किसानलाई त्यसमा कसरी प्राविधिकरूपमा जानकार बनाउने भन्नेमा कमजोरी देखियो । किसानहरूलाई स्पष्ट सुझाव दिन नसक्दा क्षति बढी भयो । किसानले बुझ्ने गरी स्पष्ट शैलीमा जानकारी प्रवाह हुनुपर्दछ । मौसम भविष्यवाणी गर्दा सही र स्पष्ट तरीकाले सुझाव दिने प्रणालीको खाँचो खट्किएको छ ।

यस्तो अवस्थामा क्षति न्यूनीकरण कसरी गर्ने भन्ने जानकारीको अभाव छ । कतिले किसानले परम्परागत तरीका अपनाएका छन् । तर यसले अपेक्षित काम गरिरहेको छैन । यस्तो अवस्थामा कस्तो प्रविधि वा विधि उपयोग गर्ने भन्नेमा पनि किसानलाई जानकारी दिने काम गर्नुपर्ने थियो, त्यो जानकारीको अभाव देखिएको छ । तत्कालीन सूचना र जानकारीका आधारमा किसानले क्षति जोगाउने अपेक्षा अहिले नै गर्न सकिने अवस्था छैन ।

सञ्चार र प्रविधिमा अधिकांश किसानको पहुँच छैन । भएकाले पनि त्यसलाई सही तरीकाले उपयोग गरेको देखिएन । यस्तो अवस्थामा किसानहरूका लागि मौसमी क्षतिबाट बाली जोगाउने उपायका बारेमा प्रत्यक्ष तालीम दिन सकियो भने त्यो लाभमुखी हुन सक्छ । यस्ता काम भएका पनि छन् । तर ती प्रयत्न सबै किसानको पहुँचमा पुग्न सकेको छैन ।

अहिले किसानलाई क्षतिपूर्ति दिइनुपर्ने कुुराहरू पनि आइराखेका छन् । यसो हो भने पनि क्षतिपूर्ति वास्तविक मारमा परेका किसानको हातमा पुग्नुपर्दछ । मानो क्षतिपूर्ति लिन मुरी खर्चिनुपर्ने विडम्बना पनि छ । त्यस्तो क्षतिपूर्तिको अर्थ छैन । क्षतिपूर्तिमा पनि टाठाबाठा र पहुँचवालाकै हालीमुहालीका सन्दर्भ सामान्यजस्तै भइसकेका छन् । सामान्य लाग्ने यस्ता विषयले वास्तविक क्षति बेहोरेका पीडितलाई असामान्य पीडा दिइराखेको हुन्छ ।

कम्तीमा बाली बीमा गरिएको भएपनि अहिले किसान चिन्तित हुनुपर्ने थिएन । बालीमा आइपर्ने यस्ता जोखिम व्यवस्थापनका लागि कृषि बाली बीमालाई व्यापक बनाइनुपर्दछ । बाली बीमाका लागि किसानलाई प्रोत्साहित गर्नुपर्दछ । यस्तो योजनालाई दूरदराजका सामान्य किसानको पहुँचमा पु¥याउनुपर्दछ । बारम्बार दोहोरिने यस्तो क्षतिबाट जोगाउन दिगो नीतिको खाँचो छ । क्षतिपूर्तिको सट्टा किसानलाई प्रविधि र जानकारीका हिसाबले सक्षम बनाउने रणनीतिक योजना चाहिन्छ ।

देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिइरहेको कृषि क्षेत्र नै यसरी मौसमको भरमा छ भने हाम्रो आर्थिक समृद्धिको आधार कति बलियो होला ? अनुमान त्यति असहज छैन । सरकारी दस्तावेजहरूमैं मौसमका अनुकूलता र प्रतिकूलताले कुल गार्हस्थ उत्पादन प्रभावित भएका तथ्यहरू भेटिन्छन् । कृषिलाई मौसममा होइन, प्रविधिमा आधारित नबनाएसम्म कृषिमा आधारित अर्थतन्त्रको उन्नति सम्भव हुँदैन ।

कृषिमा आधुनिकीकरणका कुरा थुप्रै सुनिन्छन् । व्यावसायिक कृषिका बहस पनि त्यति नै हुन्छन् । कृषि कर्ममा एकाध उपकरणको प्रयोग मात्र कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकताको दसी कदापि हुन सक्दैन । कृषि कर्मलाई उद्यमसित जोड्न सकिएको छैन । कृषिलाई उद्यमसँग आबद्ध नगर्दा यसमा आकर्षण हराएर गएको छ । उत्पादनका अन्य आयामले खेती प्रवृत्ति घटेको भए त्यसलाई सकारात्मक मान्न सकिन्थ्यो । हामीकहाँ त खेत बाँझो राखेर खाद्यान्न आयात भइराखेको छ ।

कृषिप्रधान अर्थतन्त्र भनिएको हाम्रो देशको भोक आयातित खाद्यान्नले टारेको छ । यथार्थमा हाम्रो खेती प्रवृत्ति निर्वाहमुखी पनि छैन । बाहिरबाट खाद्यान्न नभिœयाइ भान्छा चलाउन सकिन्न भने त्यस्तो खेतीलाई निर्वाहमुखी भन्न मिल्दैन । सरकारले मुख्य खाद्यान्नमा दुई वर्षभित्र आत्मनिर्भर हुने र पाँच वर्षभित्र खाद्यान्न निर्यातको अवस्थामा पुग्ने योजना सुनाएकै पाँच वर्ष बित्न लागिसक्यो । तथ्याङ्क हेर्ने हो भने आज पनि बर्सेनि ३५–४० अर्ब रुपैयाँको चामल मात्रै आयात भएको छ ।

कुल आयातमा दुई खर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न भित्रिन्छ । २५–३० वर्षअघिसम्म हामी खाद्यान्न निर्यात गर्ने अवस्थामा थियौं । खाद्य उत्पादन निर्यातका लागि सरकारले धान चामल कम्पनी नै खोलेको थियो । यी तथ्यहरूले हाम्रो कृषिप्रधान अर्थतन्त्रको कृषि कतातिर उन्मुख भइराखेको छ भन्ने थथार्यलाई उजागर गरेको छ । कृषि कर्ममा अवसरको कमी र बढी जोखिमले यो अवस्था देखिएकोमा विवाद छैन । हाम्रो उपभोग मात्र होइन, उत्पादनसमेत आयात र बाहिरी बजारको निगाहमा चलेको छ । कृषिजन्य उद्यमको रूपमा चिनिएका नेपालका तेल उत्पादकले अहिले सामना गरिसकेको सकस यसको उदाहरण मात्रै हो ।

हाम्रो कृषिले आज पनि ६० प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई आबद्ध गरेको तथ्याङ्क सरकारसित छ । आधाभन्दा बढी जनसङ्ख्या आबद्ध आर्थिक उपार्जनको क्षेत्र मौसमको भरमा छ भने अर्थतन्त्रले यसबाट कस्तो प्रतिफल प्राप्त गर्ला ? जसरी खेती मौसमको भरमा छ, त्यसरी नै कृषिबाट उत्पादित रोजगार पनि मौसमी नै छ । खेतीपातीको समयमा व्यस्त हुने किसान अन्य समयमा फुर्सदमा हुन्छन् । उनीहरूले त्यो समयका लागि आय आर्जनको बाटो फेला पार्न सकेका छैनन् । लगाएको खेती आकाशको भरोसामा हुँदा आर्जन अनिश्चित छ ।

अहिलेको बेमौसमी वर्षाले धान बाली भिœयाउने तयारीमा रहेका किसान निकै मर्कामा परे । कहिले गहुँखेती त कहिले मकै र तरकारी बालीमा नोक्सानी खाएका खबर सञ्चारमाध्यमहरूमा आइराखेका हुन्छन् । यस्ता समाचारलाई हामीले जति सहजरूपमा लिने गरेका छौं, त्यसको बहुआयामिक असर त्यति नै असहज छ । कुल गार्हस्थ्य उत्पादनमा २६ प्रतिशत योगदान दिने कृषि क्षेत्र निकै जोखिमयुक्त क्षेत्र मानिएको छ ।

यो अर्थतन्त्रमाथिकै जोखिम हो । प्राकृतिक प्रकोपहरूबाट सजिलै असर पर्ने यस क्षेत्रको जोखिम व्यवस्थापन किन गर्न सकिएको छैन ? यथार्थ त यो हो कि आयातित वस्तुको उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा उत्पादनका प्रत्येक आयामहरू रामभरोसामैं चलेका छन् । योजनाहरूको चरम अभाव छ । यस्ता नमूना विरोधाभासहरूको समाधान अर्थतन्त्रमा कृषिको सापेक्ष उपयोगको प्रस्थानबिन्दु बन्न सक्दछ । बर्सेनि घट्दो आँकडामैं भएपनि अहिलेसम्म अर्थतन्त्रमा मुख्य योगदान दिइरहेको कृषि क्षेत्रको दुरवस्था अर्थव्यवस्थाकै मुख्य कमजोरी र चुनौती हो । यो चुनौतीको समाधान अर्थतन्त्रकै उन्नयनको अवसर पनि बन्न सक्दछ । यस निम्ति कृषि क्षेत्रको उत्थानमा रणनीतिक योजना र त्यसको कार्यान्वयनमा इमानदारी भने चाहिन्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here