हामी कुरीतिको जन्जिरले जकडिएका छौं

0
  • विश्वराज अधिकारी

कुनै व्यक्तिलाई मन्दिरमा पस्न निषेध गरिन्छ । उक्त व्यक्ति मन्दिरमा बलपूर्वक प्रवेश गर्न खोज्दा उसलाई कुटीकुटी मारिन्छ । तथाकथित माथिल्लो जात भनिएकी युवतीसँग तल्लो जातको युवकले प्रेमविवाह गर्दा युवकको बीभत्स हत्या गरिन्छ । कुनै महिलामाथि ‘बोक्सी’ भएको आरोप लगाइन्छ । निर्घात कुटेर उसलाई मलमूत्र ख्वाइन्छ ।

त्यतिमात्र होइन, भीड तन्त्रले उक्त महिलालाई सजाय दिने भन्दै बोक्सी आरोपित महिलाको हत्यासमेत गरिदिन्छ । गतिलो दाइजो नल्याएको रिसको झोंकमा बर्सेनि कति युवतीले ज्यान गुमाउनुपर्छ, त्यसको लेखाजोखा स्थानीय सरकारसँग पनि छैन । हामी यस्ता कुरीतिका अनेक जन्जिरमा जकडिएका छौं । यी कुरीतिका जन्जिरहरूले हामीलाई आर्थिक समृद्धिको दिशातिर लम्कन दिइरहेको छैन । परिणामस्वरूप आर्थिक विकासको हाम्रो यात्रा कछुवा चालमा सीमित हुन पुगेको छ ।

तर हामी विश्वका धनी राष्ट्रहरू सरह धनी हुने सपना देख्छौं । अमेरिका, फ्रान्स, जर्मनी, ग्रेट ब्रिटेनजस्तो नेपालले आर्थिक समृद्धि प्राप्त गर्न नसकेकोमा हामी नेताहरूलाई गाली गर्छौं । दलहरूमाथि रिस पोख्छौं । देशको राजनीति भद्रगोल भयो भन्दै आक्रोशित हुन्छौं । सारा दोष अरूलाई दिएर आफूलाई निर्दोष मान्ने हाम्रो सामाजिक संस्कार जस्तो भइसकेको छ ।

तर देशमा जेजस्ता गतिविधिहरू भइरहेका छन, नेताहरूमा जेजस्तो विचलन आएको देखिएको छ, राष्ट्रिय राजनीति उठ्न नसक्नेगरी जसरी अनैतिकताको दलदलमा फस्न पुगेको छ, देश धनी होइन, झनै गरीब हुने जुन स्थिति देखिएको छ, त्यसका लागि हामी देशवासी नै जिम्मेवार हौं । राष्ट्रिय राजनीति र नेताहरूलाई दोष दिएर आफू उम्कन खोज्नु आफ्नो दायित्वबाट पन्छिन खोजेको हो । हाम्रो कुरीतिले हामीलाई यसरी थिचेको छ कि हामी उठ्न अझै पचासौं वर्ष लाग्न सक्छ । हामी यस्ता कुरीति समाप्त गर्नतिर लाग्नुको सट्टा त्यस्ता कुरीतिहरूलाई संरक्षण दिइरहेका छौं । त्यस्ता कुरीतिहरूको प्रवर्धन गरिरहेका छौं ।

हाम्रो वरिपरि रहेका अनेक त्यस्ता कुरीतिहरूमध्ये एकको यस आलेखमा चर्चा गरौं–

समाचारहरूमा उल्लेख भए अनुसार हालै सम्पन्न (२०७८ साल) दशैंमा नेपाल राष्ट्र बैंकले करीब ५० अर्ब बराबरको नयाँ नोट प्रचलनमा ल्यायो । यो नयाँ नोट दशैंको मुखमा बजारमा ल्याउन किन आवश्यक प¥यो ? यो नयाँ नोटको माग कसले ग¥यो ? माग गर्नेले के प्रयोजनका लागि नयाँ नोटको माग ग¥यो ? यी प्रश्नहरूको उत्तर ज्यादै सरल छ । यी प्रश्नहरूको उत्तर थाहा पाउन धेरै चिन्तन मनन गर्नै पर्दैन ।

दशैंमा नयाँ नोटको प्रयोग दक्षिणा दिन र लिनका लागि हुन्छ । अन्य धार्मिक विधि वा प्रयोजनबाहेक दशैंमा दक्षिणा लिनु र दिनु दुवै खराब पद्धति हो । कुरीति हो । अति खर्चिलो सामाजिक संस्कार हो । दक्षिणा लिने र दिने कार्यले समाजलाई अनेक विकृतितिर लान्छ । खासमा भन्ने हो भने सरकारले यसरी दशैंका लागि नै भनेर नयाँ नोट सटही गर्ने सुविधा दिनुहुँदैन ।

सरकारले नयाँ नोट सटही गर्ने सुविधा दिएर समाजमा कुरीति फैलाउन सहयोग पु¥याएको ठहर्छ। सरकारमा रहेका उच्च पदाधिकारी (मन्त्री, सचिव) हरूमा आर्थिक ज्ञानको अभावले गर्दा यस किसिमको कुरीतिले निरन्तरता पाएको हो । यो व्यवस्था (नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्न दिने) वर्षौंदेखि चल्दै आएको छ । यो व्यवस्था समाप्त गर्नुपर्छ । दशैंको लागि नै भनेर नयाँ नोट सटही गर्न दिने प्रथा समाप्त पार्नुपर्छ ।

पुनः माथिको अङ्कमा जाऔं । दशैंमा ५० अर्ब बराबरको नयाँ नोट सटही हुनुले गत दशैंमा लगभग ५० अर्ब बराबर दक्षिणा लेनदेन भएको सङ्केत गर्छ । हुन पनि दशैंमा ठूलो सङ्ख््यामा मानिस दक्षिणा दाताका रूपमा देखिन्छन् भने सोही अनुसार प्राप्तकर्ताहरू पनि देखिन्छन् । दक्षिणाको रूपमा ज्यादै ठूलो रकम लेनदेन हुन्छ ।

यहFँ विचारणीय कुरा के छ भने जोसँग राम्रो आम्दानी छ उसले त दक्षिणा दिन्छ तर जसको आम्दानी राम्रो छैन उसले कसरी आफूसँग टीका लगाउन आउनेहरूलाई दक्षिणा दिने ? यस्तो स्थितिमा कमजोर आर्थिक स्थिति हुनेले दक्षिणा दिनका लागि नै भनेर पनि ऋण लिनुपर्छ । र अर्कोतिर स्पष्ट छ, नेपाल गरीब राष्ट्र हो, जहाँ गरीबहरूको सङ्ख्या ठूलो छ । यसरी गरीबहरूको लागि दक्षिणा दिनुपर्ने स्थिति ऋणमा डुब्नु पर्ने बाध्यता हुन पुग्छ । र त्यसरी ऋणमा डुब्ने व्यक्ति कर्मचारी हो भने उसले घूस खाएर भए पनि आफूले लिएको ऋण चुक्ता गर्ने जोगाड गर्छ ।

घुमाउरो अर्थमा भन्ने हो भने सामाजिक संस्कार (दक्षिणा लिनेदिने) ले नै व्यक्तिहरूलाई घूस खान बाध्य पार्छ । यदि त्यस्तो व्यक्ति कर्मचारी होइन र बाध्यतामा परेको छ भने, उसले चोरी वा पाकेटमारी गर्न सक्छ । अर्कोतिर केवल स्वार्थको राजनीतिमा लागेका प्रशासक (नेता) हरूले नयाँ नोट सटही गर्ने सुविधा दिएर समाजमा आर्थिक भ्रष्टाचार वृद्धि हुने आधारभूमि तयार पार्छन् ।

दक्षिणाको महिमा यति मात्र सीमित रहँदैन । यसले कुन पक्षलाई र कुन किसिमले असर पार्छ त्यसबारे पनि चर्चा गरौं । दशैंमा मोटो दक्षिणा दिनेको हैसियत समाजमा राम्रो मान्ने गरिन्छ र उसले समाजमा इज्जत पनि बढी पाउँछ । यसैगरी कम दक्षिणा दिनेहरूको हैसियत राम्रो मानिंदैन र उसले समाजमा इज्जत पनि कम पाउँछ । यस्ता कुरा प्रकटतः देखिंदैन तर मानिसको कुरा गराइबाट यो तथ्य अनुभूत गर्न सकिन्छ । यो कारणले गर्दा पनि, राम्रो आर्थिक आम्दानी नहुनेले पनि, समाजमा आफ्नो हैसियत उच्च राख्न, दक्षिणा दिने प्रयोजनका लागि नै ऋण लिन्छ । अनावश्यकरूपमा कुनै ठोस आवश्कता नभएर पनि ऋणको भार बोक्न बाध्य हुन्छ । त्यसैले पनि भन्ने गरिएको हो ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई’ ।

अब अर्को तथ्यतर्फ लागौं । समाचार (कान्तिपुर दैनिक–आश्विन २७, २०७८) मा उल्लेख भए अनुसार नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष करीब ३ अर्ब रुपियाँ नोट छपाइ, वितरण र व्यवस्थापनमा खर्च गर्छ । माथिको अङ्कले प्रस्ट पार्छ कि नयाँ नोट सटही गर्नका लागि नै राष्ट्रले ठूलो रकम खर्च गर्छ । पुराना, च्यातिएका, काम नलाग्ने नोट विस्थापित गर्न नयाँ नोट छाप्नु र प्रयोगमा ल्याउनु उचित हो, तर दशैंको लागि भनेर, कुरीति वृद्धि गर्नका लागि नयाँ नोट निष्कासन गर्नु र सटही सुविधा उपलब्ध गराउनु अनुचित हो । दशैंका लागि नै भनेर नयाँ नोट छाप्न र वितरण गर्न लाग्ने रकम राष्ट्रले अन्य विकास एवं निर्माणको कार्यमा खर्च गर्नु उचित हुन्छ र गर्नु पनि पर्छ ।

दशैं सद्भाव र प्रेम आदानप्रदानको पर्व हो । यसमा सामाजिक सद्भाव सक्रिय हुनुपर्छ तर पैसा पो सक्रिय भइरहेको छ । यस्ता अनेक कुसंस्कार र कुरीतिहरू छन्, जसले नेपाली समाजलाई आर्थिक रूपमा समृद्ध हुन दिइरहेको छैन ।

हाम्रो गरीबी र हाम्रो कुसंस्कार तथा कुरीतिहरूबीच गहिरो सम्बन्ध छ । यस तथ्यलाई माथि वर्णन गरिएका उदाहरणहरूले पुष्ट गर्ने पर्याप्त सङ्केत गरेका छन् ।

देश केवल स्रोत र साधनको अभावमा गरीब हुने होइन । धन–सम्पत्ति र रुपियाँ, पैसाको अभावमा पनि गरीब हुने होइन । कुरीति र कुसंस्कारले कुनै पनि राष्ट्रलाई गरीब तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ । उदाहरणको रूपमा हाम्रो नजीकको छिमेकी राष्ट्र अफगानिस्तानलाई नै लिन सकिन्छ । अफगानिस्तानमा तालिबानी पुनः सत्तामा आएदेखि तालिबानी नेताहरूले महिला शिक्षा निषेध गरेका छन् ।

आर्थिक समृद्धि हासिल गर्न हामीले कुसंस्कार, कुरीति परित्याग गर्नुको विकल्प छैन ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here