प्रस, वीरगंज, ३ कात्तिक/

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका कर्मचारीले जनप्रतिनिधिहरूलाई थाहै नदिई ५२ लाख रुपैयाँ झिकेको खुलासा भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको चालू खर्चतर्फको खाताबाट आर्थिक वर्ष २०७५/७६ मा नगदी किताब तथा गोश्वारा भौचरमा समेत अभिलेख नगरी रकम झिकिएपछि महालेखापरीक्षकको कार्यालयले जिम्मेवार कर्मचारीहरूलाई कारबाही गर्न निर्देशन दिएको छ ।

बैंक स्टेटमेन्ट अनुसार पटक–पटक रु ५२,५३,९१७ अनधिकृतरूपमा चेकबाट निकालिएको देखिंदा पनि जनप्रतिनिधिहरू चुप लाग्नु शङ्कास्पद देखिएको अख्तियारका अनुसन्धान अधिकृतको भनाइ छ ।

यो घटनामा संलग्न जिम्मेवार पदाधिकारीलाई प्रचलित कानूनबमोजिम कारबाही गरी रकमको ब्याजसहित यथाशीघ्र असुलउपर गर्न निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त घटनामा कर्मचारीसहित जनप्रतिनिधिहरूको पनि संलग्नता हुन सक्नेतर्फ छानबीन टोली गठन गरी दोषीलाई कानूनी दायरामा ल्याउन महालेखापरीक्षकको प्रतिवेदनले भनेको छ । तत्कालीन सहायक लेखापालले बैंक नगदी किताबमा समावेश नगरी बिल भरपाईहरूलाई विभिन्न भौचरहरूको पछाडिपट्टि लेखेकोले कर्मचारी दोषी देखिएको हो ।

भौचरको पछाडिपट्टि (क) थप गरी (१ क, २ क, ३ क, ५ क, ७ क, ९ क, १७ क, २३ क, ३४ क लगायत) लेखिएकाले दोषीले आफैं प्रमाण छोडेको पुष्टि भएको छ ।

बैंक स्टेटमेन्ट अनुसार बाबा अटो, राइजिङ, औरहिया, कुटुनीमाई, जसौली मुस्नीमाई, मुक्तिप्रसाद कुर्मी, पुल निर्माण, खानेपानी अपोलो, ड्रिम्स मेडिसिन, पवनपुत्र आदिको नाममा चेक काटी सटही गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस विषयमा गापा अध्यक्ष प्रदीप जयसवालसँग बुझ्दा घटनाबारे आफूलाई थाहा नभएको बताए । जनप्रतिनिधिहरूको निर्णय अनुसार भएको खर्चलाई हामी आफैं सभाबाट अनुमोदन गरिदिन्छौं, कर्मचारीहरूले यस्तो गरेको भए आफैं फस्छन्, उनले बताए । खातामा प्रमुख कार्यकारी अधिकृत तथा लेखापालको हस्ताक्षर चल्छ, कहाँ कसलाई कतिको चेक दिएको हो, आफूलाई बताउँदैनन्, अध्यक्ष जयसवालको भनाइ छ ।

गाउँसभामा बैंक स्टेटमेन्ट माग्दा उनले बिर्सेको र अर्को दिन हातहातमा पुग्छ भनी जवाफ दिएका थिए । सो बेला तत्कालीन प्रमुख कार्यकारी अधिकृत सन्देश यादव, शेरे मुस्तुफा, सहायक लेखापाल सञ्जय पटेल तथा अकलेश कुमार सहनी थिए ।

त्यत्ति मात्र हैन लेखापरीक्षणबाट सोही आर्थिक वर्षमा रु ८ करोड ५९ लाख ५० हजार बेरुजू देखिएको थियो । सोमध्ये असुल गर्नुपर्ने रु ३ करोड ९० लाख ६२ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु २ करोड ९१ लाख ९६ हजार, नियमित गर्नुपर्ने रु ९८ लाख ९१ हजार र पेश्की बाँकी रु ७८ लाख १ हजार रहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here