काठमाडौं, ३ कात्तिक/रासस
बैंक तथा वित्तीय संस्थाले आफूखुशी ब्याजदर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्र्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याजदर असाधारणरूपमा बढ्न नदिन निर्देशन जारी गरेको हो ।
केन्द्रीय बैंकले मङ्गलवार जारी गरेको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले जुनसुकै निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महीना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् । त्यस्तै, संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत)मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशनमा उल्लेख छ ।
राष्ट्र बैंकले कात्तिक महीनाका लागि सार्वजनिक भएका ब्याजदरसमेत उल्लिखित व्यवस्थाबमोजिम नभएको भए संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी लागू गर्न र ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशित गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंकले गत असोज महीनाको ब्याजदरका तुलनामा बढीमा १० प्रतिशतले वृद्धि गरी यही कात्तिकको लागि नयाँ ब्याजदर निर्धारण गर्न सक्नेछन् । असोज महीनाका लागि सनराइज बैंकले निक्षेपमा अधिकतम १० दशमलव शून्य सात प्रतिशत ब्याज दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार अब सनराइज बैंकले मुद्दती निक्षेपमा कात्तिक महीनामा अधिकतम ११ दशमलव शून्य शून्य सात प्रतिशतसम्म ब्याज दिन सक्नेछ ।
तरलता अभावले लगानीयोग्य रकममा समस्या आएको जनाउँदै धेरै बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको पहिलो दिन नै दोहोरो अङ्कले ब्याज बढाएका थिए ।