प्रस, सेढवा, २५ असोज/

ठोरी गाउँपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई चौमासिक तलबसहित दशैं खर्च निकासा गर्न ढिलाइ गरेको भन्दै नेपाल शिक्षक महासङ्घ ठोरीले गापाको ध्यानाकर्षण गराएको छ।
नेपाल शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठको नेतृत्वको डेलिकेशनले दशैं, तिहार र छठ जस्तो महान् पर्वमा तलब तथा दशैं खर्च निकासामा ढिलाइ हुँदा धेरै घरपरिवारलाई मर्का परेको भन्दै आपत्ति जनाएको छ ।

ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठको कार्यकक्षमा गएको प्रतिनिधिमण्डलले यसपालिको दशैंअगाडि तलब निकासा नहुने भन्ने बुझेपछि निराश भएको बताएको थियो । कोलेनिकाले निकासा नदिएको जवाफ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले दिएपछि गापाको लापरवाही र अदूरदर्शिताको कारण निकासा नभएको भन्दै नेपाल शिक्षक महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै सो कार्यको विरोध जनाएको हो ।

नेपाल शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेपालीहरूको महान् पर्व दशैं, तिहार र छठमा पनि खाइपाइ आएको तलब र दशैं खर्च निकासा नहुनुमा ठोरी गापाको अकर्मण्यता, अदूरदर्शिता तथा हेपाहा प्रवृत्ति भएको उल्लेख छ ।

एक हप्ताअघिदेखि नै गापामा आफूहरूले तलब निकासाका लागि ताकेता गर्दागर्दै पनि गापाले तलब निकासामा बेवास्ता गरेको भन्दै ठोरी गापाको लाचारीपनप्रति घोर भत्र्सना गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गापा कार्यालयमा गएको प्रतिनिधिमण्डलमा नेपाल शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ, उपाध्यक्ष गोपीलाल श्रेष्ठ, नेपाल शिक्षक महासङ्घ पर्साका सहसचिव तथा ज्ञानज्योति माविका प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेल, नेपाल शिक्षक सङ्घ ठोरीका अध्यक्ष चिरञ्जीवी सापकोटा, वनशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक त्रिलोचनप्रसाद पराजुली, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक झमकबहादुर श्रेष्ठ, नेराप्रावि इच्छानगरका प्रधानाध्यापक लक्ष्मण बस्नेतलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here