(सन्दर्भ ः १०औं अन्तर्राष्ट्रिय बालिका दिवस)
–कालिका खड्का
काठमाडौं, २५ असोज/रासस
“मायाका कुरा गर्ने, अश्लील फोटो माग्ने अनि त्यसैमा ब्ल्याकमेल गर्ने गर्दछन्”– १८ वर्षीय बाँकेकी बालिका अनु रावतले भनिन्–“मेरो साथीले यस्तो समस्या परेर आत्महत्याको प्रयास नै गरिन्, कतिले त आत्महत्या गरेका छन् ।
सामाजिक सञ्जालको सही प्रयोगभन्दा दुरुपयोग बढी भइरहेको छ । त्यसको प्रत्यक्ष मारमा किशोरी परेका छन् । धेरै किशोरीहरू अनलाइनको दुव्र्यवहारमा परेका छन् । जसले गर्दा बालबिवाह, बालहिंसा भइरहेको छ ।
“सूचना प्रविधिको विकाससँगै इन्टरनेटको पहुँच सबैलाई जरूरी छ”– रावतले थपे । “सूचना प्रविधिको विकाससँगै त्यसको सदुपयोग कसरी गर्ने भनेर शिक्षा दिन जरूरी छ ।” कोभिड–१९ को जोखिमका कारण धेरै विद्यालय शिक्षा अनलाइनमार्फत भइरहेका छन् । बालबालिकाका अनलाइन अर्थात् इन्टरनेटको पहुँचमा छन् । त्यो हुनु जरूरी छ, तर प्रविधिको माध्यमबाट हुने सक्ने दुव्र्यवहारबारे चेतना जगाउन पनि जरूरी छ ।
यस्ता समस्याको साक्षी अनु एक्ली होइनन् । सिन्धुली खुर्कोट–८ की १८ वर्षीय सुमित्रा अछामीलाई पनि धेरै किशोरी अनलाइनको दुव्र्यवहारमा परेको अनुभव छ । “धेरै किशोरी अनलाइन दुव्र्यवहारमा परेका छन्”–सुमित्राले भनिन्–“आफूमाथि दुव्र्यवहार भयो भने कसरी जोगिने, किशोरीहरूलाई थाहा छैन, दुव्र्यवहार गर्नेलाई कारबाही हुन्छ भन्ने पनि थाहा छैन ।”
अनलाइनबाट दुव्र्यवहारमा पर्दा उजूरी गर्नुपर्छ । त्यस्ता दोषीलाई कारबाही हुन्छ भन्ने देशभरका धेरै किशोरीलाई जानकारी छैन । जानकारी गराउँदा पनि समाजमा गलत सोच्ने र आफ्नोे चरित्रमा प्रश्न उठ्नेजस्ता समस्याले महिलाले समस्या बाहिर ल्याउने गरेका छैनन् ।
साइबर अपराधसम्बन्धी मुद्दाको काठमाडौं जिल्ला अदालतमा मात्र सुनुवाइ हुने व्यवस्था छ । जसले गर्दा पनि यो विषय दूरदराजका मानिसको पहुँच बाहिरको विषय बनेको छ । “अनलाइनमा अधिकांश समय बिताउँदा किशोरी यौन दुव्र्यहार र बेचबिखनमा पर्न सक्नेसम्म खतरा देखिएको छ”–महिला आयोगका अध्यक्ष कमला पराजुलीले भनिन्–“सामाजिक सञ्जालको नियामक निकाय जरूरी छ ।”
पछिल्लो समय देशमा सूचना प्रविधिको तीव्र विकास भयो तर त्यो अनुरूप सूचना प्रविधिका राम्रा र नराम्रा कुराबारे मानिसलाई ज्ञान हुन सकेन । मुलुकमा अझै पनि सबै क्षेत्रमा उच्च शिक्षाको पहुँच छैन । साक्षरता दरभन्दा बढी सूचना प्रविधिको विकास भयो । सबैको हातमा मोबाइल, इन्टरनेट छ । त्यसको सदुपयोगभन्दा दुरूपयोग बढी हुन गयो । त्यसको प्रत्यक्ष प्रभावमा अबोध बालबालिका परिरहेका छन् ।
“देशमा जसरी सूचना प्रविधिको विकास तीव्ररूपमा भयो, त्यो अनुरूप विद्यालय वा कलेजमा जानकारी भएन”, आयोगका अध्यक्ष पराजुलीले भन्छिन्–“सूचना प्रविधिको सकारात्मक र नकारात्मक पक्षबारे शिक्षण जरूरी छ ।
प्लान इन्टरनेशनल नेपालले बालिका र किशोरीको अनलाइन प्रयोगबारे गरेको अध्ययन प्रतिवेदन–२०२१ अनुसार बालिका दैनिक सात घण्टा अनलाइनमा बिताउने गरेको पाइएको छ ।
अध्ययनमा सहभागी किशोरी र बालिकामध्ये ५५ प्रतिशतले सात घण्टा अनलाइनमा बिताउने गरेको पाइएको छ । उनीहरूले विभिन्न सामाजिक सञ्जालबाट गलत र भ्रामक सूचना पाइने, नचिनेका व्यक्तिले सामाजिक सञ्जालमा अनुरोध पठाउने र कुरा गरेर तनाव दिनेजस्ता कार्य गर्दा व्यक्तिगत जीवनमा प्रभाव परेको अध्ययनमा सहभागी बालिकाहरूले बताएका छन् ।
विभिन्न २६ देशका २६ हजारभन्दा बढी किशोरी र बालिकामा गरिएको अध्ययन अनुसार यस्ता गलत सूचना फेसबूकबाट ६५ प्रतिशत, टिकटकबाट २७ प्रतिशत, ह्वाट्स एपबाट २७ प्रतिशत र युट्युबबाट २७ प्रतिशत हुने गरेको उल्लेख छ ।
प्लान इन्टरनेशनल नेपालले बालिका दिवसका अवसरमा अक्टोबर ५ तारिखदेखि बालिकालाई सूचना प्रविधिबारे ज्ञान दिने र उनीहरूको व्यक्तित्व विकासका लागि कार्यक्रम सञ्चालन गरिरहेको छ ।
“पछिल्लो समयमा इन्टरनेटको आवश्यकता र प्रयोग बढिरहेको छ, बालबालिका तथा किशोरकिशोरीको इन्टरनेटमा बढ्दो सक्रियतासँगै उनीहरू हिंसा र दुव्र्यवहारमा परिरहेका छन्”– प्लान इन्टरनेशनल नेपालका अभियान विशेषज्ञ सिर्जना बज्र्राचायले भनिन्–हामीले ६ जिल्लाका ३१ पालिकामा बालिकालाई एक दिनका लागि पालिका प्रमुखको पदभार ग्रहण गरी इन्टनेट सुरक्षाको विषयमा जानकारी गराउने कार्यक्रम ग¥र्यौं ।”
यसरी गाउँपलिका, नगरपालिका प्रमुख बनाउँदा बालिका तथा किशोरीमा आत्मविश्वास बढ्नुका साथै सम्बन्धित निकायलाई पनि अनलाइनको महŒव, जोखिम, सदुपयोगबारे काम गर्न दबाब पुग्ने उनको भनाइ छ ।
उक्त कार्यक्रम सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१ स्थानीय तहका विभिन्न पदमा रहेर किशोरी तथा बालिकाले पद ग्रहण गरी इन्टरनेटबाट बालिका तथा किशोरीमा हुन सक्ने जोखिम, अनलाइनका फाइदा–बेफाइदा र सदुपयोगबारे जानकारी गराउने काम भयो ।
देशभरका ६२ जना बालिकाले एक दिनका लागि स्थानीय सरकारको प्रमुख, वडाअध्यक्षलगायत विभिन्न पद सम्हालेका थिए । सो क्रममा अनलाइन सुरक्षाका लागि डिजिटल साक्षरतासम्बन्धी शिक्षा आवश्यक रहेको भन्दै सरकारसँग डिजिटल सुरक्षाको माग पनि किशोरीले उक्त अभियानमार्फत गरेका छन् ।
सरकार सामाजिक सञ्जाल नियन्त्रण तथा नियमनसम्बन्धी कानून बनाउने क्रममा छ । त्यसका लागि देशभरबाट आवश्यक परमर्श हुने काम भइरहेको छ । बालिकाको शैक्षिक, सामाजिक विकास र उनीहरूको संरक्षण गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् २०१२ अक्टोबर ११ देखि बालिका दिवस मनाउन थाल्यो ।
त्यही दिवसका अवसरमा नेपालसहित विश्वभर नै अन्तर्राष्ट्रिय बालिका दिवस मनाइन्छ । यस वर्ष बालिका तथा किशोरीका लागि अनलाइन सुरक्षासँग सम्बन्धित रहेर ‘डिजिटल जेनेरेशन, आवर जेनेरेशन’ भन्ने नारासहित विश्वभर १०औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइँदैछ ।
कोभिड–१९ का कारण विश्वभर नै बालबालिका इन्टरनेटबाटै अध्ययन गर्न बाध्य छन् । विश्वमैं बालबालिका एउटा घरमा बन्धक भएको अवस्था भयो, जसले गर्दा बालबालिका मानसिक रूपमा पनि असर प¥यो ।
कोभिड–१९ महामारी तेस्रो वर्षमा प्रवेश गरेसँगै बालबालिका र युवाको मानसिक स्वास्थ्य र भलाइमा ठूलो प्रभाव पर्ने क्रम जारी छ । युनिसेफको पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार विश्वव्यापीरूपमा सातजनामध्ये कम्तिमा एकजना बालबालिका बन्दाबन्दीबाट प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन् ।
अस्तव्यस्त दिनचर्या, शिक्षा, मनोरञ्जन, साथसाथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाले गर्दा धेरै युवाले डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता महसूस गरिरहेका उल्लेख छ ।
इन्टरनेटविनाको संसार अहिले परिकल्पना पनि गर्न नसक्ने भएको छ । सूचना प्रविधिको प्रयोग गर्ने–नगर्नेभन्दा पनि त्यसको दुरूपयोग रोक्नुपर्छ । सामाजिक सञ्जालदेखि सबै इन्टरनेट प्रदायक सेवा सुरक्षित बनाउन जरूरी छ ।
“सूचना प्रविधिको तीव्र विकास चुनौतीले ल्याएको अवसर हो”–राष्ट्रिय महिला आयोगकी अध्यक्ष पराजुलीले थपिन्–“कोभिडको महामारीमा अनलाइन शिक्षा, इन्टनेट बाध्यता भयो, तर सुरक्षित बनाउन सबै निकायले ध्यान दिनुपर्छ ।”
इन्टरनेटको विकाससँगै बालबालिकालाई सही को हो ? गलत के हो ? भन्ने विषयमा विद्यालयस्तरदेखि नै कक्षा सञ्चालन गर्नुपर्छ । प्रविधिमैत्री समाज बनाउँदा प्रविधिको उचित प्रयोगबारे ज्ञान दिन पनि जरूरी छ । तीनै तहका सरकार, सरोकारवाला निकाय र अभिभावकले पनि आफ्ना बालबालिकालाई इन्टरनेटको पहुँचबाट सुरक्षित राख्नका लागि ध्यान दिन जरूरी देखिन्छ ।