दशैं अधिसङ्ख्यक नेपालीहरूको प्रमुख चाड हो । समाजमा यो चाड मनाउने धार्मिक दृष्टिकोण व्यापक छ । तर चाडपर्वहरू धार्मिकभन्दा मानिसको जीवनशैलीसँग जोडिएको हुन्छ । त्यसैले जुनसुकै पनि धर्ममा चाडपर्व हुन्छ, त्यसको निश्चित धारणा हुन्छ । चाडपर्वहरूको तारतम्य भूगोल, मानिस र वातावरणसँग मिलेको हुन्छ । त्यसैले कुनै पनि चाडपर्वको मूलमा जाने हो भने स्वास्थ्य, मनोरञ्जन, खुशीयाली, आत्मीयजनबीच भेटघाटजस्ता रमाइला क्षणहरूको संयोजन फेला पर्छ । मानिस दुःखबाट मुक्ति र खुशीसँग आलिङ्गन चाहन्छ । यो हरघडी सम्भव हुँदैन । जति बलशाली भए पनि, एउटा विपन्न निर्धो भए पनि सुख र दुःखको क्रमागत प्रभावबाट पर रहन सक्दैन । बढीमा कसैले अत्यधिक सुख र कसैले अत्यधिक दुःख पाएको हुन सक्छ । त्यसैले सबै दुःखलाई बिर्सेर केही दिनका लागि भए पनि रमाइलो गर्ने, सुख अनुभूत गर्ने अवसर भनेको चाडपर्व हो । यो विश्वको अत्यधिक सभ्य वा जङ्गलमा बस्ने मानव समुदाय सबैले आआफ्नो किसिमले मनाउँछन् । जीवनभरि दुःखले जतिसुकै तर्साएको किन नहोस्, चाडको एक दिनले ती समस्त दुःख बिर्साउन मदत गर्छ ।

यस पालि दशैं विशेष किन अनुभूत भइरहेको छ भने पोहोरको दशैं, कोरोनाको जगजगी चलिरहेको बेला परेको थियो । मानिसले दशैं त मनाए, तर दशैंको स्वाद थाहा पाउन सकेनन्स न इष्टमित्र, न नातागोता, न बग्रेल्ती शुभकामना १ मनमा एउटा चुकचुक लागिरह्यो । यस पालि अवस्थामा केही परिवर्तन आएको छ । असोज महीनाका दिनहरू सर्दै जाँदा कोरोनाको सङ्क्रमणमा त्यसै गतिमा कमी आउँदै गएको देखिएको छ । असोजको पहिलो साता ४० हजार सङ्क्रमित सङ्ख्या तेस्रो साता पुग्दा १५ हजारमा झरेको छ । कोरोनाको लामो त्रासले यसबाट जोगिनुपर्छ भन्ने मानसिकता विकसित भएर छाडापनमा धेरै नियन्त्रण भएको त छ नै, प्रत्येक घरमा कोही न कोही सङ्क्रमित भएको र उसको दुःखले मानिसलाई सबक सिकाएको छ । साथै कोरोना सङ्क्रमणविरुद्ध खोप पनि लागिरहेकोले तमाम परिस्थिति दशैं अनुकूल हुन गएको छ । हुनत कोरोनाको प्रभाव शेष रहेको मात्र होइन, नयाँ विकसित किसिमको कोरोना भाइरस आउने हल्लाले मानिसको मन खल्लो पारेको छ । तर त्यो भविष्यको कुरा हो । त्यसैले पनि दशैं विशेष बनेको अनुभूति प्रत्येक हिन्दूको मनमा स्थापित भएको छ ।

कोरोनाको दुईवटा चरण पार गर्ने क्रममा मानिस, खासगरी मध्यम वर्गीय परिवारलाई धेरै असर गरेको छ । जसको बन्द–व्यापार छ उससँग रकमको अभाव छ, गरिखाने वर्गले त जेनतेन जनी–मजदूरी पाएको थियो । तर पनि वातावरण खुकुलो भएको छ, मनको उमङ्गमा कसैले, कुनै विपरीत अवस्थाले बित्पात मचाउन सकेको छैन । किनकि चाडपर्व बाहिरी खुशी, सुख, मनोरञ्जनभन्दा बढी आन्तरिक सुखानुभूति पनि हो । यसले मनको विकार सफा गर्छ, मनलाई आशातीत सुखको कल्पना साकार पार्ने शक्ति प्रदान गर्छ । चाडपर्वहरूको नियोजन नै यस प्रकारले गरिएको हुन्छ कि हाम्रोजस्तो बहुविधि मौसम अनुकूल होस् । हाम्रो मन र तनलाई प्रफुल्लित पार्ने, स्वास्थ्यलाई सुदृढ पार्ने, पारस्परिक मित्रता र सम्बन्ध तरोताजा पार्ने काम वातावरणले साथै चाडपर्वहरूले गरिरहेका हुन्छन् । यो दशैंले सबैमा सुख–शान्तिको वृद्धि गरोस्, सबैमा हार्दिक शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here