प्रस, गरुडा, २४ असोज/

रौतहटको कटहरिया नगरपालिकाले व्यवस्थापन गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा विश्वसनीय उपचार हुन थालेपछि सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । निजी अस्पताल तथा क्लिनिकमा जानुभन्दा स्थानीयवासी कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्ने क्रम अहिले बढ्दो छ ।

चौबीसै घण्टा आकस्मिक तथा प्रसूति सेवा सञ्चालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा ओपिडीमा दैनिक अढाई सयदेखि तीन सय बिरामी पुग्ने गरेको अस्पतालका डा सन्तोष यादवले बताए । अस्पतालमा चेकजाँच तथा औषधि सेवा पर्याप्त रहेकाले बिरामीहरू आउने गरेको डा यादव बताउँछन् ।

सामान्य अवस्थामा दैनिक ७/८ जना प्रसूति गराउन आउने गरेको अस्पतालको तथ्याङ्कले देखाउँछ । कटहरिया नगर क्षेत्रभित्रका प्रसूतिलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म ल्याउन तथा घरसम्म पु¥याउन एम्बुलेन्स सेवा निश्शुल्क बनाइएको र प्रसूति गराउँदा आमा सुरक्षा कार्यक्रम अन्तर्गत एक हजार रुपैयाँ पनि दिने गरिएकाले पछिल्ला दिनमा निजी अस्पताल धाउनेहरू पनि प्राथमिक स्वास्थ्य केन्द्रतिर आकर्षित भएका हुन् ।

मुटु, मधुमेह जस्ता जटिल र दीर्घ रोगको औषधि पनि निश्शुल्क उपलब्ध गराइने गरेको डा यादवको भनाइ छ । साथै विभिन्न चेकजाँचको सुविधा पनि रहेकाले परीक्षणको लागि अन्यत्र जानु नपर्ने उनले बताए । व्यवस्थित ल्याब रहेकोले दैनिक पन्ध्रदेखि पच्चीसजनाको अत्यन्त न्यून शुल्कमा परीक्षण हुने गरेको छ । गत साउन र भदौ महीनामा गरी नौ सयजनाको परीक्षण गरिएको अस्पतालको ल्याब शाखाको तथ्याङ्कले देखाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाले भरपर्दो सुविधा दिन थालेपछि अन्य पालिकाबाट पनि बिरामी आउन थालेका छन् ।

देवाहीगोनाही, मौलापुर, फतुवाविजयपुर र गुजरा नगरपालिकाका बिरामीहरूले पनि कटहरियामा सुविधा लिइरहेका छन् । बिरामीको अवस्थालाई दर्शाउने पाँचवटा मोनिटर जडानसमेत गरिएको र अक्सिजन तथा अन्य सुविधा भरपर्दो रहेको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा तीनजना एमबिबिएस चिकित्सकसहित पर्याप्त जनशक्ति रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जानकारी गराए ।

नगरका सबै नौवटै वडामा स्वास्थ्य केन्द्रहरू व्यवस्थित भइसकेको तथा सबैमा पर्याप्त जनशक्तिका साथै औषधिको व्यवस्था पनि पर्याप्त गरिसकिएको बताउँदै साहले जिल्लाका पालिकाहरूमा कटहरियाले स्वास्थ्यको क्षेत्रमा नमूना काम गर्न सफल भएको दाबी गर्छन् ।

स्वास्थ्यको पूर्वाधार तयार भइसकेको र प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको व्यवस्थित अस्पताल भवन निर्माण हुन लागेको बताउँदै साहले अब शिक्षा क्षेत्रको सुधारतर्फ नगरपालिकाको ध्यान जाने बताए । कटहरिया–४ टोलापुर स्वास्थ्य चौकीमा पुगेर हेर्दा महँगा औषधि तथा अन्य सामग्रीहरूको पर्याप्त भण्डार रहेको पाइएको छ ।

बच्चाको उपचार गराइरहेका मौलापुर नगरपालिकाको सोनरनियाका एक अभिभावकले बताउँछन्– सुविधा भएको र गरीबले सेवा पाउने भएकोले कटहरिया अस्पताल आएको छु । आफूले अरूबाट सुनेर आएको र सबै सुविधा पाएको उनको भनाइ छ ।

अस्पतालको अवस्थाबारे नगरप्रमुख सियाराम कुशवाहा र निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले निरन्तर सोध्ने गरेको र अनुगमन गर्ने गरेको बताउँदै डा सन्तोष यादवले नगरपालिकाको तर्फबाट अस्पताललाई पूर्ण सहयोग रहेको बताएका छन् । अस्पतालका कर्मचारीलाई पनि नगरपालिकाले पर्याप्त सेवा तथा सुविधा उपलब्ध गराएको साहको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here