प्रस, परवानीपुर, २४ असोज/

वीरगंज भन्सार कार्यालयले चालू आवको असोज महीनाको लक्ष्य २३ दिनमैं पूरा गरेको छ ।

वीरगंज भन्सारका सूचना अधिकारी सुमित साहले असोजमा चाडपर्व लक्षित सामान बढी आयात भएकाले राजस्व सङ्कलनको लक्ष्य पूरा भएको बताए । उनले असोज मसान्तमा भन्सार कार्यालयले रु १६ अर्ब ७५ करोडको राजस्व लक्ष्य पाएकोमा असोज २३ गतेसम्म लक्ष्य पूरा भएको बताए ।

उनले दैनिक ५० देखि ६० करोड रुपैयाँको हाराहारीमा राजस्व सङ्कलन हुने गरेकोमा असोजमा एक दिनमा नै एक अर्ब रुपैयाँसम्म राजस्व सङ्कलन भएको बताए ।

सवारीसाधन र पेट्रोलियम पदार्थ आयात बढी भएकोले एक अर्ब रुपैयाँसम्म राजस्व सङ्कलन भएको उनले बताए । दशैंमा चार दिन कार्यालय बन्द रहने भएकोले सोभन्दा अघि नै लक्ष्य पूरा भएकोमा उनले खुशी व्यक्त गरे ।

वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार दशैं, तिहार र छठ लक्षित सामानमा सबैभन्दा बढी इन्धन, सवारीसाधन, लत्ताकपडा, कस्मेटिक, मसला, ड्राइफूड्स, उद्योगका कच्चा पदार्थमा चिनी, मकै, चामल, कोदो, गहुँ तथा ट्रेडिड्ढा सामान बढी भित्रेको बताए।

वीरगंज भन्सारको तथ्याङ्क अनुसार चालू आवको गत साउन र भदौ गरी दुई महीनामा रु २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार लक्ष्य पाएकोमा करीब रु ५ अर्ब बढी अर्थात् रु ३२ अर्ब ५५ करोड ३१ लाख ३० हजार राजस्व सङ्कलन भएको थियो ।

यो लक्ष्यभन्दा करीब १८ प्रतिशत बढी हो । गत आव २०७७/७८ को सोही अवधिमा लक्ष्यको तुलनामा जम्मा ९५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो ।

नेपालमा कोरोना महामारी कम हुँदै गएको र यातायात, बजार, कार्यालय तथा अन्य सेवा सञ्चालनमा आएपछि आयातित वस्तुको परिमाणमा वृद्धि हँुदै गएकाले राजस्व सङ्कलनमा सकारात्मक वृद्धि भएको छ ।

भन्सार नाकाबाट एलपी ग्याँस, भटमास, पाम, सूर्यमुखीको कच्चा तेल, एमएस बिलेट, एचआर सिट, एचआर स्ट्रिप्स, भटमास, पोलिथिन दाना, लुब्रिकेन्ट, बस, ट्रकको आयात पोहोरभन्दा वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here