चिरञ्जीवी सापकोटा, ठोरी, २४ असोज/

विजयादशमीको अवसरमा वनशक्ति युवा क्लबको आयोजनामा ब्यारेक खेलमैदानमा आयोजित दशैंकप २०७८ को उपाधि अमृत युवा क्लब ठोरी–२ ले जितेको छ ।

आइतवार भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टीमले गोलरहित खेलेका थिए । गोलरहित भएपछि टाइब्रेकरबाट निर्णय लिनुपरेको थियो । टाइब्रेकरमा अमृत युवा क्लब ठोरी–२ सुन्दरबस्तीले निर्मल समाज क्लब ठोरी–१ रोजीनगरलाई तीनका विरुद्ध चार गोलअन्तरले पराजित गरी उपाधि जितेको हो ।

विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि ठोरी गाउँपालिकाका अध्यक्ष पद्मलाल श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । विजेता अमृत युवा क्लब सुन्दरबस्तीलाई नगद ५२ हजार र उपविजेता निर्मल समाज क्लबलाई २६ हजार नगद र ट्रफी, मेडल तथा प्रमाणपत्र बाट पुरस्कृत गरिएको थियो ।

फाइनल खेलको ‘म्यान अफ दी म्याच’ अमृत युवा क्लबका गोलरक्षक अनिस कुँवर घोषित भए । फाइनल खेलमा सर्वाधिक गोलकर्ता नवयुवा क्लब गौतमनगरका रवि विक घोषित भए । यस्तै, सर्वोत्कृष्ट खेलाडी निर्मल समाज क्लबका केवल अधिकारी, उत्कृष्ट गोलरक्षक अमृत युवा क्लबका अनिस कुँवर, सर्वोत्कृष्ट मिडफिल्डर थ्रीस्टारका क्षितिज विष्ट तथा सर्वोत्कृष्ट डिफेन्स सुरेश खवास घोषित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गापा अध्यक्ष श्रेष्ठले ठोरीमा खेलको विकास तीव्र गतिमा भएको हुँदा यसलाई निरन्तरता दिन सके राष्ट्रियस्तरका खेलाडी उत्पादनमा टेवा पु¥याउने बताए । उनले गापाबाट खेललाई पनि प्राथमिकताका साथ हेरिएको बताए । समापन समारोहमा वडाध्यक्ष किशोर तामाङ, नेपाली काङ्ग्रेस महासमिति सस्य बृहस्पतिकृष्ण श्रेष्ठलगायतका व्यक्तिहरूले शुभकामना व्यक्त गरेका थिए ।

वनशक्ति युवा क्लबका अध्यक्ष कमल रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सपिका थापाले र सहजीकरण नरबहादुर क्षत्रीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here