सन्दर्भ ः विश्व मानसिक स्वास्थ्य दिवस
चितवन, २४ असोज/रासस
तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकहरूले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र कुलतका कारण पनि मनोरोग हुने उनीहरूको भनाइ छ । समयमैं उपचार गरेमा रोगबाट बच्न सकिने जनाइएको छ ।
मनोचिकित्सक डा गिरिराज भन्तनाले तनावपूर्ण वातावरण घटाउनुपर्ने र स्वस्थ जीवनशैली अँगाल्न राय दिएका छन् । उनले भने–“यसबाट बचाउनका लागि परिवार, समाज र राष्ट्रको भूमिका हुन्छ ।” वंशाणुगत हिसाबले जोखिममा रहेका व्यक्तिलाई वातावरणीय अनुकूलता मिलाउनुपर्ने उनको भनाइ छ । ब्युटीफूल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्री, खैरहनीका अध्यक्षसमेत रहेका डा भन्तना मदिरा लागू औषध दुव्र्यसनीमा मनोरोगको जोखिम बढी हुने बताउँछन् ।
रोग लागिहालेमा विशेषज्ञ चिकित्सकसँग समयमैं उपचार गरेमा निको हुने उनले बताए । उनले भने–“व्यक्तिसँग सुहाउँदा वातावरणीय अनुकूलता मिलाउनुपर्छ । त्यही खालको व्यवहार मिलाउनुपर्छ ।” लामो समय रोग पालेर नबस्न डा भन्तना सुझाव दिन्छन् ।
भरतपुर अस्पतालका मानसिक रोग विभागका प्रमुख डा सुनील साह विशेषगरी कोरोना महामारीपछि विभिन्न समस्या लिएर बिरामी आउने गरेको बताउँछन् । सङ्क्रमणका समयमा नियमित जाँच नगरेका र औषधि प्रयोग नगरेका पूर्ववत् अवस्थामा जटिल समस्या लिएर आउने गरेको उनी बताउँछन् । महामारीपछि पेशा तथा रोजगार गुमाएर, लामो समय परिवार एकै ठाउँमा बस्दा झैंझगडा भएर पनि समस्या आएको उनको बुझाइ छ । मध्यम र न्यून आय भएका देशमा मानसिक समस्या बढेको उल्लेख गर्दै उनले भने–“जनचेतनाको कमी छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचारसम्म पहुँच छैन ।”
समाजबाट उनीहरू अपहेलित भएको जनाउँदै उनले समयमैं उपचारका लागि अस्पताल लैजानुको सट्टा धामीझाँक्रीकहाँ लैजाने प्रचलन अहिले पनि रहेको बताए । रोग नियन्त्रणका लागि परिवार र समाजको महŒवपूर्ण भूमिका हुने साह बताउँछन् । मानसिक रोगसम्बन्धी जनचेतना जगाएर समयमैं अस्पताल पठाएर उपचार गर्न सकिए रोग निको पार्न सकिने डा साहको भनाइ छ ।
मनोरोग विशेषज्ञ डा सिर्जना भुर्तेल स्वस्थ जीवनशैली अँगाल्न सके धेरै मनोरोग नियन्त्रण गर्न सकिने बताउँछिन् । सामान्य स्वस्थ जीवनशैली अँगाल्ने, शारीरिक श्रम र व्यापार गर्ने, आफ्ना कुरा अरूलाई बाँड्ने (शेयर गर्ने) गरियो भने धेरैजसो मनोरोग नियन्त्रण गर्न सकिने उनको भनाइ छ । उनले भनिन्–“कुुलतमा लागेमा, कसैको आनीबानी र व्यवहार परिवर्तन भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।”
सामान्य अवस्थामा मानिसको सोच, विचार र व्यवहारमा आउने परिवर्तनलाई मनोरोग भनिने बताउँदै उनले भनिन्– “निराश हुनु, राति निद्रा नपर्नु, खान मन नलाग्नु, आत्महत्याको सोच आउनु जस्ता लक्षण मनोरोग हुन् ।” छटपटी हुनु, जाँगर नचल्नु, जिउ पोल्नु, जोर्नी पोल्नु, चिन्ता बढ्नु तर परीक्षण गर्दा केही रोग नदेखिनुलाई मनोरोग भनिने उनी बताउँछिन् ।
पारिवारिक, सामाजिक, आर्थिक, वातावरणमा भइरहेका कुराले असर गरेर मानसिक रोग हुने उनी बताउँछिन् । मनोरोगबारे धेरै भ्रम छ । रोग लागेको मानिससँग विवाह गर्नुहुँदैन, यो सरुवा रोग हो, एकपटक लागेपछि जीवनभर औषधि खानुपर्छ भन्ने गलत मान्यता रहेको चिकित्सकहरू बताउँछन् । मुख्यरूपमा आफ्ना कुरा बाँड्ने, आफ्नो कुरा सुनाउने र अरूको कुरा सुन्ने गर्नुपर्छ चिकित्सकको भनाइ छ ।
मनोरोगबाट जोगिन स्वस्थ जीवनशैली अँगाल्न उनीहरूको सुझाव छ । दैनिक व्यायाम, योग गर्ने, हिंड्ने, निर्धारित समयमा सुत्ने, उठ्ने र खाने गर्नुपर्छ । स्वस्थ मानिसले छदेखि आठ घण्टा सुत्नुपर्दछ । पानी प्रशस्त पिउनुपर्छ । मनोरञ्जनको समय निकाल्ने र मनोरञ्जन गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सक सबैको भनाइमा मनोरोग नियन्त्रण गर्न परिवारले उपयुक्त वातावरण बनाउनुपर्छ ।