- अनन्तकुमार लाल दास
कुनै पनि सम्बन्धलाई दिगो बनाउन व्यावहारिक हुनु अति आवश्यक हुन्छ । हाम्रो हृदयले भावना छर्ने काम गर्छ भने हाम्रो मस्तिष्कले हाम्रो विचार । मस्तिष्कद्वारा लिइएको तार्किक निर्णयले हाम्रो जीवनसँगै हाम्रो सम्बन्धलाई पनि दीर्घकालसम्म कायम राख्न प्रभावकारी भूमिका निर्वाह गर्दछ । प्रायः केटीहरूलाई भावनात्मक मानिन्छ भने केटाहरूलाई व्यावहारिकरूपमा हेरिन्छ ।
कहिलेकाहीं मानिसले एउटा व्यावहारिक मानिसलाई नकारात्मकरूपमा पनि हेर्ने गरेको पाइन्छ । तर के वास्तवमा ऊ त्यस्तै हुन्छ ? यस प्रश्नको जवाफ भनेको ठूलो “होइन” हो । एउटा व्यावहारिक व्यक्तिले साधारणतया कुनै स्थिति वा सम्बन्धको आवश्यकता विश्लेषण गर्दछ र बुद्धिमत्तापूर्वक काम गर्दछ । यसबाट उसलाई जीवनमा सन्तुलन कायम राख्न सहयोग प्राप्त हुन्छ ।
हामी कसरी सम्बन्धमा व्यावहारिकता ल्याउन सक्छौं भन्ने कुरालाई अनुसार बुझ्न सकिन्छ ।
१. पारिवारिक सम्बन्ध ः
एउटा आदर्श परिवारमा आमाबुवा र छोराछोरीहरू हुन्छन् । परिवारको एउटा सदस्यको रूपमा हामीसँग धेरै जिम्मेवारी हुन्छ । यस कारण पारिवारिक जीवनमा केही नियम पालना गर्ने र अनुशासनमा बसेर आआफ्नो जिम्म्ेवारी पूरा गर्नुपर्ने हुन्छ । हामी सबै आफ्नो परिवारलाई माया गर्छौं र उसको प्रगति उन्नतिका लागि सबैथोक गर्न चाहन्छौं । तर सबै सदस्यले केही न केही नियमको पालना गर्नुपर्ने हुन्छ । प्रायः केटाकेटीहरू त्यति बेलासम्म खान रुचाउँदैनन् जबसम्म उनीहरू भोकाउँदैनन् । यस कारण प्रत्येक दिन खानाको लागि एउटा निश्चित समय निर्धारित गर्नुपर्छ । यसरी सबै समयमा खाना खान्छन् र स्वस्थ रहन्छन् ।
यसैगरी कहिलेकाहीं हामी धेरै अनावश्यक कुरा किनमेल गर्छौं र के सोच्छौं भने यसले परिवारको बजेट प्रभावित हुँदैन । तर अनावश्यक कुरा खरीद गर्नु उचित होइन । ९९९ बाट १००० बनाउन, मात्र एक रुपियाँ चाहिन्छ, जुन ठूलो रकम होइन । यस कारण बचत गर्नु सबैको लागि सही हो किनभने यदि हामीले अर्थ जोगाउँछौं भने चाहिएको बेला त्यसले हाम्रो ज्यान जोगाउँछ । कोभिड–१९ ले दिएको सन्देश पनि यही हो । यसर्थ हामी सबैले समझदारीका साथ खर्च गर्नुपर्छ र चाहिने कुरा मात्र खरीद गर्नुपर्छ ।
कुनैपनि प्रकारको सामान खरीद गर्न जाँदा परिवारसँग सल्लाह लिनुपर्छ । यसले सबैको सुझावबाट उनीहरूको चाहना थाहा हुन्छ र उपयुक्त वस्तु खरीद गर्न मदत पनि मिल्छ । कल्पना गरौं अनलाइन सपिङ गरेर तपाईंले केही कुरो मगाउनुभयो तर त्यो कसैलाई मन परेन, अनि के गर्ने ? यस कुरालाई तर्कको आधारमा निर्णय लिन सकिन्छ वा परिवारसँग सहयोग लिन सकिन्छ। कुनै कुरा वा समस्यामा सुझाव दिएर परिवारको असमञ्जसता हटाउन सकिन्छ ।
केटाकेटीहरूको हितमा नहुने कुरा गर्न उनीहरूमाथि दबाब दिनुहुँदैन । उनीहरूलाई बाध्य पार्नुको साटो त्यो काम गरेर उनीहरूलाई के बेफाइदा भयो भन्ने ‘सबक’ सिक्ने अवसर दिनुपर्छ र पछि सम्झाउनुपर्छ । मानिसहरू व्यावहारिक कुरामा विश्वास गर्छन् चाहे केटाकेटी हुन् वा किशोरकिशोरी। हामी सबैको जीवनमा परिवारभन्दा बढी नजीक कोही हुँदैन । कसैले भनेको आधारमा परिवारमाथि सन्देह गर्नुहुँदैन । सुखी र शान्त जीवनको लागि परिवारलाई तपाईंको सहयोग र तपाईंलाई परिवारको सहयोगको आवश्यकता हुन्छ ।
२. विद्यार्थी र शिक्षकबीचको सम्बन्ध ः
शिक्षक त्यो प्राणी हो जसले विद्यार्थीको जीवनलाई एउटा आकार प्रदान गर्छ । हामी आफ्नो शिक्षकलाई सधैं सम्झन्छौं किनभने शिक्षकसँग हाम्रो सम्बन्ध हुन्छ । उनीहरू सधैं हामीहरूलाई प्रेरित गरिरहन्छन् । शिक्षकहरू सफलताको साँचोको रूपमा कार्य गर्छन् । कहिलेकाहीं शिक्षक र विद्यार्थीको सम्बन्ध बढी मित्रतापूर्ण हुन्छ र अचानक शिक्षक कठोर हुन पुग्छ भने दुवैलाई परेशानी हुन्छ । एउटा विद्यार्थी आफ्नो समस्या लिएर शिक्षकसामु जाँदा सहज महसूस गर्छ तर यसको अर्थ के पनि होइन भने उसले शिक्षकलाई सम्मान गर्न नै बिर्सोस् । जसरी मिठाईको आनन्द मसालेदार खाना पछि आउँछ, त्यसैगरी शिक्षकहरूलाई विद्यार्थीहरूसँग नरम हुनुको साथै सख्त पनि हुनुपर्छ । सम्बन्ध जस्तोसुकै भए तापनि सम्मान महŒवपूर्ण कुरा हो ।
वर्तमान पुस्तामा ज्ञानलाई किताबसम्म सीमित राख्नु सही होइन । यदि शिक्षक आफ्नो विद्यार्थीको प्रतिभा उजागर गर्न चाहन्छ भने उनीहरूको लागि केही अतिरिक्त गर्नुपर्छ । यसको लागि विद्यार्थीहरूलाई केही कार्य दिने, त्यो कार्यलाई कसरी गर्ने भन्ने कुरा सोच्ने र त्यसमाथि शोध गर्ने पर्याप्त अवसर दिनुपर्छ । वर्तमान पुस्ताका लागि पुस्तकबाट प्राप्त ज्ञान पर्याप्त हुँदैन । यस कारण कक्षा कोठामा शिक्षक पैसिभ भई विद्यार्थीलाई एक्टिभ बनाउनुपर्छ ।
अनि मात्र विद्यार्थीहरूमा न्यूटनजस्तो समझको विकास हुन्छ र कैयन प्रकारले यो सहयोगी पनि हुन्छ । कुनै पनि विद्यार्थी जति प्रश्न गर्छ वा शिक्षकसँग अन्तक्र्रिया गर्छ ऊ त्यत्तिकै नवीन बन्छ । यस कारण शिक्षकहरूले कुनै विषय सम्बन्धमा इमानदारीपूर्वक सिक्नको लागि विद्यार्थीलाई सधैं प्रोत्साहित गरिराख्नुपर्छ ।
एउटा राम्रो शिक्षक त्यो होइन, जसले हरेक कुरो सजिलै बताइदिन्छ । यहाँ हामी विद्यार्थी र शिक्षकबीच व्यावहारिक सम्बन्धमा हुने सम्भावना माथि चर्चा गरिरहेका छौं । यस कारण यदि विद्यार्थी अलमलिएको छ भने तुरुन्त समस्या समाधान गर्न अघि सर्नुको साटो उसलाई स्वयं निकास खोज्न दिनुपर्छ । जुनबेला ऊ नराम्ररी अल्झिन्छ अनि मात्र सहयोग गर्नुपर्छ । सिक्नको लागि विद्यार्थी जतिपटक असफल हुन्छ त्यत्तिकै उसको सिकाइ प्रबल हुन्छ, किनभने उसलाई सहयोग गर्नको लागि कोही छ भन्ने कुरो उसको मस्तिष्कमा रहन्छ र ठूलो जोखिम बेहोर्न तयार रहन्छ । यसको लागि विद्यार्थीहरू के गरिरहेका छन् भन्ने कुरो मात्र सुनिश्चित गर्न आवश्यक हुन्छ ।
३. मित्रता ः
जसरी जीवनको लागि भोजन आवश्यक हुन्छ, त्यसैगरी स्वस्थ जीवनको लागि साथीहरूको आवश्यकता पर्दछ । हामी जीवनको विभिन्न चरणमा बेग्लाबेग्लै साथी बनाउँछौं । केही साथी आजीवन साथी बनिरहन्छन् भने केही आउँछन्, जान्छन् । यो सम्बन्ध खास र अनौठो हुन्छ । तर महŒवपूर्ण कुरा के हो भने मित्रतामा व्यावहारिक सोच कसरी विकसित गर्ने किनभने सबै साथी यस्ता हुँदैन कि सँगसँगै हिंड्न सकून् । कोही हामीलाई खाडलमा ढकेल्न सक्छन् भने कोही हामीप्रति ईष्र्याको भावना राख्छन् । यस कारण यस सम्बन्धलाई व्यावहारिक कसरी बनाउने त्यसबारे सोच्नुपर्छ ।
जोसँग पनि भेट्छौं वा बोल्छौं ऊ हाम्रो राम्रो मित्र बन्छ, आवश्यक छैन । यस कारण केही समय ऊसँग व्यतीत गरेर ऊ विश्वासिलो हुन सक्छ वा सक्दैन भन्ने कुरा निरीक्षण र अवलोकन गर्नुपर्छ। अनिमात्र कोही राम्रो मित्र हुने लायक छ कि छैन भन्ने निर्णय लिनुपर्छ । कहिलेकाहीं राम्रो साथी पनि परिवर्तन हुन सक्छ । यस कारण उसको निरीक्षण जरुरी हुन्छ । कसैलाई साथी बनाउँदा ध्यान राख्नुपर्ने कुरा के हो भने ऊसँग तपाईंभन्दा बढी ज्ञान छ कि छैन, किनभने मूर्ख साथीभन्दा बैरी राम्रो मानिन्छ । बुद्धिमान् साथी हरेक परिस्थितिमा सहयोगी हुन्छ । साथी बनाउँदा के पनि सम्भव छ भने दुवैको विचार मिलेको कारण तपाईं उसलाई साथी बनाउनु हुन्छ तर साथीको छनोट गर्दा समझदारी आवश्यक छ ।
एउटा राम्रो साथी सधैं प्रोत्साहित र राम्रो बन्न सहयोग गर्दछ र नराम्रो साथीले गलत बाटोमा ढकेल्न सक्छ । यसर्थ आफ्नो समस्याको समाधान स्वयं गर्ने प्रयास गर्नुपर्छ र अरूमाथि आँखा चिम्लेर विश्वास गर्नुहुँदैन । इमानदारी नै एउटा राम्रो साथीको गहना हो र जसरी हामी अरूसँग व्यवहारको अपेक्षा राख्छौं, त्यस्तै व्यवहार हामीले अरूसँग गर्नुपर्छ । दुवैतिर इमानदारिता भए मात्र दिगो सम्बन्ध कायम हुन्छ । आफ्नो विचार सधैं प्रस्ट राख्नुपर्छ जसले मन पराउने साथी सदैव साथ रहन्छ र प्रतिकूल विचार भएका मानिस छुट्टिएर जान्छ ।
कुनै पनि सम्बन्धलाई राम्रो र वास्तविक बनाउनको लागि बेग्लाबेग्लै तरीका अँगाल्न सकिन्छ, जसलाई हामी व्यावहारिक–सीप भन्न सक्छौं । व्यावहारिक बन्नु हाम्रो लागि कष्टदायक हुन सक्छ तर मन नमिल्दा साथीसँ छुटकारा पाउने यो सुरक्षित र राम्रो उपाय हुन सक्छ । कहिलेकाहीं भावनात्मक रूपले सोच्दा सजिलै मूर्ख बन्ने बढी सम्भावना हुन्छ । व्यावहारिकरूपले सोच्नुको अर्थ भावना गुमाउनु होइन तर व्यावहारिक व्यक्तिले नै ठीक र बेठीकको विश्लेषण गर्न सक्छ ।
व्यावहारिकरूपले सोच्ने व्यक्ति तर्कमा विश्वास गर्दछ, आँखा चिम्लेर कसैको अनुसरण गर्दैन । व्यावहारिकरूपले चिन्तन गर्दा कुनै पनि सम्बन्ध वास्तवमा बलियो, रमाइलो र रसिलो हुन्छ । सधैं आफ्नो मनको अनुसरण गर्नुपर्छ तर सँगसँगै मस्तिष्कको प्रयोग पनि आवश्यक हुन्छ । अन्त्यमा विजयादशमी सधैं आऊ तिमी उन्नति बनेर, चुनौतीको सामना गर्न चट्टान बनेर, रातो टीका र जमरा बनेर, ज्ञानमय, खुशी र उल्लास भएर, सबैका लागि सधैं मङ्गलमय बनेर ।’