कास्की, २२ असोज/रासस
घरेलु टोली स्पोट्र्स क्यासलले पोखरामा सञ्चालन भएको नेपालको पहिलो ‘ए डिभिजन’ राष्ट्रिय फूटसल लिगको उपाधि जितेको छ । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा शुक्रवार सम्पन्न फाइनल खेलमा काठमाडौंको शङ्खमूल फूटसल क्लबमाथि ४–२ अन्तरको जीत निकाल्दै क्यासल च्याम्पियन बनेको हो ।
उपाधि विजेता क्यासलले रु १० लाख पुरस्कारसहित ट्रफी प्राप्त ग¥यो भने उपविजेता बनेको शङ्खमूलले रु पाँच लाखमा चित्त बुझायो । पहिलो संस्करणको प्रतियोगितामा पोखरेली क्लब स्पोट्र्स क्यासललाई उपाधि दिलाउन किशोर गुरुङले ह्याट्रिक गरे भने विजय गुरुङले एक गोल गरे। शङ्खमूलका लक्ष्मण थापामगर र मणि लामाले समान एक/एक गोल गरे ।
लिगको उदीयमान खेलाडी स्पोट्र्स क्यासलका सुमित श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलकीपर शङ्खमूलका अनिश श्रेष्ठ, उत्कृष्ट डिफेन्डर फूटसल धरान–५ का विजय श्रेष्ठ, उत्कृष्ट विङ्गर शङ्खमूलका मणि लामा र उत्कृष्ट प्रशिक्षक क्यासलका विष्णु गुरुङ घोषित भए । उनीहरू सबैले जनही रु २५ हजार पुरस्कार पाए ।
लिगको विजेता तथा उपविजेतासहित पाँच विधामा उत्कृष्ट हुन सफल खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ (दीपक मनाङे), अखिल नेपाल फूटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले ट्रफी तथा मेडल पुरस्कार वितरण गरेका थिए ।
अखिल नेपाल फूटबल सङ्घले देशमा पहिलोपटक राष्ट्रिय फूटसल लिग आयोजना गरेको हो । गत असोज २ गतेदेखि शुरू भएको प्रतियोगितामा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका थिए ।