प्रस, वीरगंज, २१ असोज/
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्थानीय भाषा, संस्कृति संरक्षण र संवद्र्धनमा वीरगंज महानगरपालिका स्थानीय तहहरूमा पहिलो रहेको दाबी गरेका छन् ।
भोजपुरी प्रतिष्ठानको कार्यालय उद्घाटन गर्दै नगरप्रमुख सरावगीले स्थानीय सरकारले गर्नुपर्ने प्राथमिकताका कामहरूमध्ये भाषा र संस्कृति संरक्षणका लागि भोजपुरी प्रतिष्ठान गठन गरेको र स्थानीय तहमा प्रतिष्ठान गर्ने वीरगंज महानगरपालिका पहिलो भएको दाबी गरे । उनले स्थानीय तहको विकासमा त्यहाँको भाषा, संस्कृति र समुदाय नै प्रमुख भएकाले पर्साका अधिकांश स्थानीय तहको बोलीचालीको भाषा भोजपुरीको अझ बढी विकास र संवद्र्धनका लागि महानगरपालिकाले भोजपुरी प्रतिष्ठान गठन गरेको बताए ।
उनले अहिले तयारी भइरहेको जनगणनामा आफूले स्थानीयस्तरमा बोलिने भाषाको आधारमा भोजपुरी भाषा नै प्रमुख भाषा उल्लेख गर्ने बताए । भोजपुरी भाषा, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासका लागि प्रतिष्ठानले काम गर्ने उनले विश्वास व्यक्त गरे । प्रतिष्ठानको भवनको शिलान्यास भइसकेको बताउँदै नगरप्रमुख सरावगीले भवन निर्माणको लागि महानगरपालिकाले बजेट विनियोजन गरेको जानकारी गराए ।
भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष राजकिशोर गुप्ता, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, शाखा अध्यक्ष अनुप तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा भोजपुरी प्रतिष्ठानमा मनोनीत कार्यकारिणीसभाका सदस्यहरूलाई मनोनयन गरिएको पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका रितेश त्रिपाठीले गरेका थिए ।