राधेश्याम पटेल, वीरगंज, २० असोज/
आर्थिक नगरी वीरगंजको बजारमा म्याद गुज्रिएका सामान बिक्री वितरण भइरहेको छ । सरोकारवाला निकायले गरेको बजार अनुगमनको क्रममा म्याद नाघेका सामान बरामद भएपछि धेरै पसलेले चाडपर्वको मौका छोपी म्याद नाघेका सामान बिक्री गरिरहेको सार्वजनिक भएको हो ।
कोरोना महामारीको कारण छ महीनादेखि एक वर्षसम्म पसलेको गोदाम र पसलमैं भण्डारण गरी राखिएका सामान पर्वकै अवसरमा बिक्री गर्ने दाउ रहेको अनुगमन गर्ने अधिकारीहरूको आशङ्का छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, वीरगंजले विभिन्न समयमा गरेको बजार अनुगमनको क्रममा पनि म्याद सकिएका खाद्य सामग्री बरामद गरेको थियो ।
व्यापारीले नयाँ म्याद राख्नुका साथै मूल्यसूचीसमेत बढाएर बिक्री वितरण गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । पसलमा म्याद नाघेका बिस्कुट, चकलेट, बर्नभिटा, चिउरा, भुजियालगायतका खाद्यवस्तु र पेय पदार्थमा रियल जुस, कोकाकोला फेन्टा, बोतलबन्द पानीलगायत म्याद नाघेका पाइन्छन् ।
दशैंको मौका छोप्दै व्यापारीहरूले म्याद नाघेका खाद्य सामग्री खुद्रा व्यापारीलाई र उसले उपभोक्तालाई झुक्याएर बिक्री गर्ने गरेको छ । वीरगंजका विभिन्न स्थानमा रहेका डिपार्टमेन्टल स्टोर तथा किराना पसलहरूमा पनि म्याद नाघेका र आफूखुशी मूल्य बढाएर सामग्री बिक्री गर्ने गरेको उपभोक्ताहरूको गुनासो छ ।
खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबुल नराखेको, म्याद नाघेको खाद्यवस्तु बिक्री गर्ने, बिलबिजक नराख्ने, व्यापारिक फर्म दर्ता नगरी व्यापार–व्यवसाय गर्ने गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार छ भने तीन महीनादेखि एक वर्ष कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने अधिकार रहेको छ ।
यद्यपि कार्यालयले अनुगमन गरेर जरिवाना गरे पनि अरू कारबाही नगर्दा व्यापारीहरूको मनोबल बढेको नागरिकको बुझाइ छ । वीरगंजमा मात्रै तीन हजारभन्दा बढी पसल सञ्चालनमा छन् ।