प्रस, जनकपुरधाम, २० असोज/

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले विश्वासको मत प्राप्त गरेका छन् । उनले बुधवार प्रदेशसभामा विश्वासको मत लिंदा दुई तिहाइको समर्थन पाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री गद्दीले संसद्मा विश्वासको मत मागेका थिए । प्रदेश नं २ को प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री गद्दीको पक्षमा ७७ मत प्राप्त भयो ।

प्रदेशसभामा कुल सदस्य सङ्ख्या १०४ रहेकामा मुख्मन्त्रीको पक्षमा प्राप्त मत सङ्ख्या दुई तिहाइ पुगेको हो ।

मुख्यमन्त्री गद्दीलाई उनकै दल जसपा, सरकारमा सहभागी दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका थिए । उनको विपक्षमा २३ मत परेको थियो ।

गद्दीको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरूले मत दिएका हुन् । बुधवारको मतदानमा प्रदेशसभाका १०० जना सदस्यले भाग लिएको सभामुखको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here