प्रस, वीरगंज, २० असोज/

वीरगंजमा प्रथम महिला उद्यमी सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च वीरगंज शाखाको आयोजनामा आगामी कात्तिक ५ गते वीरगंजमा सो सम्मेलन हुने बुधवार पत्रकार सम्मेनल गरी जानकारी गराइएको हो ।

उद्यमशीलतामा नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमैं पहिलोपटक कार्यक्रम गर्न लागिएको नेपाली युवा उद्यमी मञ्च वीरगंजका अध्यक्ष अनुप अग्रवालले बताए ।

उनले सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रमा सहभागी महिला उद्यमी र स्टार्टअप बीच हुने अन्तक्र्रिया कार्यक्रमको माध्यमले युवा महिला उद्यमीले सामना गर्नुपर्ने समस्या तथा सहभागीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने दाबी गरे ।

नेपाली युवा उद्यमी मञ्च वीरगंजकी कार्यकारी सदस्य मनीषा सुनुवार श्रेष्ठले कार्यक्रमबारे जानकारी गराउँदै उद्यमशीलताको क्रममा महिलाले भोग्नुपरेका समस्याहरूलाई उठान गर्ने र समाधानका उपायहरूमा छलफल गर्ने सम्मेलनको उद्देश्य रहेको बताइन् ।

कार्यक्रममा बोल्दै सहआयोजक संस्था लेडी सर्कल नेपालकी पूर्वअध्यक्ष रश्मी दासले कार्यक्रम राष्ट्रियस्तरमा पहिलोचोटि वीरगंजमा हुन लागेकोमा खुशी व्यक्त गरिन् । उनले यस्तो कार्यक्रममा सङ्घर्ष भोगेका महिला तथा सफल महिलाहरूको कथा आदानप्रदान तथा नयाँ पाँचजना उद्यमीलाई पुरस्कारको व्यवस्था गरिएको बताइन् । सम्मेलनमा उद्यम तथा व्यवसाय शुरू गर्न आवश्यक पर्ने कुराहरू र प्राविधिक विषयमा पनि छलफल हुने उनले बताइन् । सम्मेलनमा वीरगंजका नमूना उद्यमीहरूको दशवटा स्टल प्रदर्शनीको लागि राखिने पूर्वअध्यक्ष दासले जानकारी गराइन् ।

कार्यक्रममा सयजना महिला उद्यमीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

नेपालमा सन् २००३ मा नेपाली युवा उद्यमी मञ्च तत्कालीन युवा व्यवसायी सौरभ ज्योतिले सुरुआत गरेका थिए । त्यसपछि सन् २०१० मा वीरगंजका व्यवसायी अरबिन्द अमात्यले नेपाली युवा उद्यमी मञ्च वीरगंज च्याप्टरको शुभाम्रभ गरेका र त्यसपछिका केही वर्ष मञ्च क्रियाशील थिएन । गत वर्षदेखि वीरगंजका युवा व्यवसायीले निष्क्रिय रहेको यो मञ्चलाई पुनः सक्रिय बनाएका हुन् ।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च वीरगंजका सदस्यहरू विकाश ठाकुर, दिपाल खन्ना, माहित गुप्ता, विश्वास साह, निखिल गुप्ता, अक्षत शाह, हरिओमकुमार साह, चन्दन सिंह, लेडी सर्कलकी सदस्य नन्दनी अग्रवाल, खुश्बु सिंघानियालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण एनवाइइएफ वीरगंजकी सचिव अङ्किता कर्णले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here