साना, २० असोज/सिन्ह्वा

यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाबीच मङ्गलवार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।
उक्त शहर नियन्त्रणमा लिन हुथी विद्रोहीहरूले भिडन्त शुरू गरेका थिए । त्यस क्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो ।

यसरी मारिनेमध्ये अधिकांश हुथी विद्रोही रहेका छन् । मारिनेमा ७४ हुथी विद्रोही लडाकू र अरू आठजना यमनका सैनिक रहेको यहाँको सैन्य स्रोतले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ७४ विद्रोही मारिएका छन्– सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । समाचार अनुसार अधिकांश विद्रोहीहरू मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाई कारबाहीमा मारिएका हुन् ।

पछिल्लो समय साउदी समर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सोही क्रममा भएको भिडन्तमा पछिल्लोपटक यो हताहत भएको हो । इरान समर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुनः आक्रमण गर्न थालेपछि यस महीनामा मात्रै सयौं मानिसको ज्यान गएको छ । यहाँ गएको हप्तामा पनि दर्जनौं हुथी विद्रोही लडाकू मारिएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here