प्रस, वीरगंज, २० असोज/
युनिसेफ नेपालको सहयोगमा लाइफ नेपालले पर्सा र बाराका ८८ वटा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
कोरोनाको पहिलो र दोस्रो चरणमा लामो समयसम्म विद्यालयहरू बन्द रहेको र फेरि पनि सोही अवस्था सिर्जना भएमा विद्यार्थीहरू आफैंले अध्ययन गर्न सकून् भनेर सेल्फ लर्निङ मेटेरियल वितरण गरिएको लाइफ नेपाल पर्सा, बाराका संयोजक शैलेन्द्र त्रिपाठीले बताए ।
उनले विद्यालय बन्द रहेको अवस्थामा पनि अभिभावकको सहयोगमा बालबालिकाहरूले अध्ययनलाई निरन्तरता दिन सक्ने गरी युनिसेफले तयार पारेको शैक्षिक सामग्री वितरण गरिएको बताए ।
संयोजक त्रिपाठीले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रहेका २८ वटा सामुदायिक विद्यालय, बाराको कोल्हवी नगरपालिकामा रहेका २८ र सिम्रौनगढ नगरपालिकाका ३२ वटा सामुदायिक विद्यालय गरी कुल ८८ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययन सामग्री वितरण गरिएको जानकारी गराए ।