प्रस, जनकपुरधाम, १९ असोज/

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र माथिको आवधिक समीक्षा जनकपुरधाममा मङ्गलवार सम्पन्न भयो ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित कार्यक्रमको उद्घाटन प्रदेश नंं २ का सभामुख सरोज यादवले गरेका थिए । सो क्रममा सभामुख यादवले मानव अधिकारको सवालमा पछिल्लो समयमा नेपालमा प्रगति भएपनि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

मानव अधिकारको रक्षाका लागि नेपालको संविधानमा उल्लेख रहेका मौलिक हकहरूको कार्यान्वयन गर्न राज्य पक्ष गम्भीर हुन जरुरी रहेको उनको भनाइ थियो । मौलिक हकमा भएका कतिपय प्रावधान अहिले कार्यान्वयन नभएको भन्दै सभामुख यादवले प्रदेश सरकारले पनि विभिन्न अधिकारको विषयमा कानून निर्माणलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराए ।
मधेसी, आदिवासी तथा जनजातिका मुद्दाहरू मानव अधिकारका विषय भएकाले यसको सम्बोधनका लागि राज्यपक्ष संवेदनशील हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरू रामाशिष यादव, शारदादेवी थापा र शोभा लामाले मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा मिहिर ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नंं २ का प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जीतकार, सशस्त्र प्रहरीका नायब महानिरीक्षक गणेश धारामगर, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायतको सहभागिता थियो ।

कार्यक्रममा मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षामा नेपालमा समग्र मानव अधिकारको अवस्था, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अल्पसङ्ख्यक, दलित, मुस्लिमको अधिकारका विषयमा गहन छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here