सिडनी, असोज १९/एएफपी
तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन् । अफगानिस्तानको शीर्ष म्युजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमवार साँझ दोहा आइपुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ नेतृत्वबाट गीत–सङ्गीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् ।
अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमस्तले भने, “ती महिला र केटीहरूमध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन् ।”
काबुलस्थित कतारी दूतावासको सहयोगमा सङ्गीतकारहरूलाई सानो–सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पु¥याइएको थियो । तालिबानी लडाकूहरूले काबुलमा कब्जा जमाएपछि तालिबानीहरूले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए । तालिबानीहरूले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए तर कतारी अधिकारीहरूले भने त्यसको सहज व्यवस्थापन गरिदिएका थिए । रासस