काठमाडौं, १८ असोज/रासस
चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स चितवन टाइगर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको छ ।
चितवनले दिएको १६५ रनको विजयी लक्ष्यलाई भैरहवाले १७.५ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । भैरहवाको जीतमा प्रदीप ऐरीले सर्वाधिक ७२ रनको योगदान गरे । उनले ४३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे ।
त्यस्तै, तमिम इकबाल ४० रनमा आउट हुँदा उपुल थरङ्गा ३९ रनमा अविजित रहे । रोहित पौडेल छ र आरिफ शेख एक रनमा आउट भए । कुशल मल्ल एक रनमा अविजित रहे । चितवनका लागि करिम जन्नतले सर्वाधिक दुई विकेट लिंदा सागर ढकाल र भीम सार्कीले एक/एक विकेट हात पारे । जारी प्रतियोगितामा चितवनको यो पहिलो हार हो । भैरहवाले भने तेस्रो जीत हात पारेको हो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रनको योगदान गरे भने मोहम्मद शहजादले ३२ रन जोडे । सिकुगे प्रसन्नाले २४ रन जोड्दा कमलसिंह ऐरी सात रनमा अविजित रहे । भिस सार्की १६, राजेश पुलामी १४, दिलीप नाथ १३, देव खनाल पाँच र खडक बोहरा एक रनमा आउट भए ।
भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट लिए भने कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक/एक विकेट लिए । अघिल्ला चार खेल जितेर आठ अङ्क बटुलेको चितवन अङ्क तालिकाको शीर्ष स्थानमा छ । तीन जीतबाट छ अङ्क बटुलेको भैरहवा भने दोस्रो स्थानमा उक्लिएको छ ।