बैतडी, १७ असोज/रासस
जिल्ला अस्पताल बैतडीमा हाल दैनिकरूपमा ‘स्क्रब टाइफस’का बिरामी फेला पर्न थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रब टाइफस देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।
उनले भने, “पछिल्लो केही दिनदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रब टाइफस पोजेटिभ देखिन थालेको छ ।” पछिल्लो समय दिन प्रतिदिन यहाँ स्क्रब टाइफसका बिरामी देखिन थालेपछि यस रोगको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए ।
“अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रब टाइफसको परीक्षण गरिरहेको छ,” उनले भने, “केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ,” उनले भने, “दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ ।” जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।
अस्पतालका सूचना अधिकारी पन्तका अनुसार विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । गत साउनदेखि हालसम्म जिल्लामा ४५ जनामा सङ्क्रमण देखिसकेको छ । उनले भने, “वर्षायामको शुरूबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म ४५ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ ।”
जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफस देखिने गरेको छ । त्यसमध्येबाट पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताए ।
बर्सात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखा पर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। यो समयमा किर्नालगायतका कीराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका अस्पतालका प्रमुख डा जोशीले बताए ।
उनले भने, “पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ, स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेका छौं ।”
कोभिडसँग मिल्दोजुल्दो लक्षण यसैबीच, नेपाल सरकारले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस रोग देखिन थालेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेकाले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेको छ ।
कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीं कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीं बहुअङ्ग विकार (मल्टी अर्गन डिसफक्सन)को अवस्था पनि सिर्जना हुन सक्नेछ । मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ ।
के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने गर्दछ । यसको समयमा नै उपचार नगरे यसले गम्भीर रूप लिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
बच्ने उपाय
किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरका खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घरवरिपरिका खेतबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने जनाइएको छ ।