प्रस, जीतपुर, १७ असोज/
सरकारले निजी क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकोले उद्योगी –व्यवसायीले समस्या भोग्नुपरेको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङघको दोस्रो साधारणसभाका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएको व्यवस्था निजी क्षेत्र मैत्री नरहेको बताए । सरकारले ल्याएका कतिपय नीतिले निजी क्षेत्रको ढाँड सेक्ने काम गरेको उनको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष ढकालले पछिल्लो समय प्लास्टिक सिटको आयातका विषयमा सरकारले गरेको व्यवस्थाका कारण नेपाली व्यवसायीको सयौं कन्टेनर सीमामा अलपत्र परेकोे बताए । उनले सरकारले निजी क्षेत्रसँग जोडिएका नीति बनाउँदा सम्बन्धित पक्षसँग परामर्श लिन आग्रह गरे । सरकारले बनाउने नीतिले दीर्घकालीन महŒव राख्ने भएकाले सम्बन्धित पक्षसँगको परामर्शमा नीति बन्नुपर्ने उनले बताए ।
उनले नेपाल सरकारले गर्नुपर्ने काममा निजी क्षेत्रले सामाजिक उत्तरदायित्वमार्फत योगदान गरिरहेकाले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष ढकालले वीरगंज–पथलैया औद्योगिक करिडोरका उद्योगको संरक्षण र विकासमा सरकार गम्भीर बन्नुपर्ने सुझाव दिए । मुलुकको कुल राजस्वमा बढी महŒवपूर्ण योगदान पु¥याउँदै आएको यस करिडोरका उद्योगका लागि आवश्यक सडक, ढल जस्ता न्यूनतम पूर्वाधारको विकासमा पनि राज्यको ध्यान नपुगेकोमा उनले दुःखेसो पोखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठले सरकारले वीरगंज–पथलैयालाई औद्योगिक करिडोरको मान्यता नदिंदा स्थानीयवासी र उद्योगीबीच सधैं विवाद हुने गरेको बताए । सरकारले औद्योगिक क्षेत्र वा बसोबास क्षेत्र छुट्टयाइ दिनुपर्नेमा त्यसो गर्न नसक्दा समस्या भइरहेको लाठको तर्क थियो । उद्योगी–व्यवसायीले राजस्व र रोजगारमा पु¥याएको योगदानको बदलामा सरकारले एउटा धारासमेत जडान नगरेको उनले आरोप लगाए ।
कार्यक्रममा संविधानसभा सदस्य शोभाकर पराजुली, उद्योग वाणिज्य सङ्घ कलैयाका अध्यक्ष राजकुमार साह, वडाध्यक्ष रामबाबू गुप्तालगायतले साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव शिवजी साह सोनारले गरेका थिए ।
साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । नगर उद्योग वाणिज्य सङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने स्वतः अध्यक्ष भएका छन् ।
बाँकी वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी सदस्य चयनका लागि निर्वाचन प्रक्रिया शुरू भएको छ । तीन महीनापछि पदाधिकारी सदस्यहरू चयनका लागि निर्वाचन गराइने जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयकुमार साहले बताए ।