प्रस, निजगढ, १७ असोज/
ढुङ्गाको पर्खाल लगाउँदै सार्वजनिक जमीन हड्पेका व्यक्तिलाई कारबाई नगरेर स्थानीय सरकार मौन बसेको छ । निजगढ नगरपालिका–१० लालको सीमामा जमीन अतिक्रमण भएको दुई वर्ष पुग्यो । निजगढ नगरपालिका र सम्बन्धित वडा भने आँखामा पट्टी बाँधेर र कानमा तेल हालेर बसेको स्थानीय बासिन्दाको आरोप छ ।
बाराको निजगढसँग सीमा जोडिएको मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं ६ भालुखोलानजीकै चुरेमा बसोवास गर्दै आएका सुमन सिंह लोप्चनले ढुङ्गाको पर्खाल लगाएर दुई बिघाभन्दा बढी सार्वजनिक जमीन अतिक्रमण गरेका छन् । उनले जग्गा अतिक्रमण गरेको कुरा घाम जत्तिकै छर्लङ्ग भएको लालका बासिन्दाहरूको दाबी छ । तर अतिक्रमणको दुई वर्ष भइसक्दा पनि नगरपालिकाले कुनै कारबाई गरेको छैन ।
साबिक हटिया गाविस हाल बकैया गाउँपालिका–६ अन्तर्गत लोप्चनको नाउँमा रहेको कित्ता नं १५२९ र १५३० को साँधमा बारा निजगढको सार्वजनिक जमीन छ । लोप्चनले आफ्नो कित्ताभन्दा बाहिरको जमीन कब्जा गरेको नक्शा र जग्गाको क्षेत्रफल नाप्दा स्पष्ट हुन्छ । उनले जग्गाधनी पुर्जाको नापनक्शा क्षेत्रफलभन्दा करीब दुई बिघा सार्वजनिक जमीन हड्प्दै ढुङ्गाको पर्खाल लगाएका छन् ।
४०–५० मिटर चौडाइ र दुई सय मिटरभन्दा बढी लम्बाइ रहेको निनपा लालतर्फको सार्वजनिक जमीन लोप्चनले हड्पेको स्थानीयको आरोप छ । यस सम्बन्धमा निनपा–१० का अध्यक्ष पद्मबहादुर मोक्तानसमेत मौन रहेको भन्दै लालका बासिन्दाहरू आक्रोशित बनेका छन् ।
सो जमीनको विषयमा वन कार्यालय, प्रदेश वनमा समेत कुरा पुगिसकेकोले उपल्लो निकायबाटै छिनोफानो हुने वडाध्यक्ष मोक्तान बताउँछन् । यस सम्बन्धमा वडाध्यक्षले हालसम्म खुलेर नबोलेको र आफ्नो स्पष्ट धारणासमेत नराखेको हुँदा वडाध्यक्षसमेत शङ्काको घेरामा रहेको लालका एक युवकले प्रतीकलाई बताए । “वडाध्यक्ष मौन रहनुमा ठूलै भूमाफियाको संलग्नता हुन सक्ने अनुमान छ,” ती युवकले भने ।
वन सम्बन्धमा लोप्चन विवादित व्यक्ति हुन् । उनले यसअघि पनि चुरे डाँडाको निजी जमीन सम्याउने बहानामा डाँडा नै गायब हुने गरी एक्साभेटरले उत्खनन गर्दै ढुङ्गा बिक्री गरेका थिए । वन तथा वन पैदावार एवं अतिक्रमित भूमिबाट पैसा कमाउने र उक्त रकमबाट जनप्रतिनिधि, स्थानीय गन्यमान्य, टाठाबाठाको मुखमा लोप्चनले बुझो लगाउने गरेको लालका बासिन्दाले बताएका छन् । अतिक्रमित जमीनको विषयमा स्थानीय अगुवाहरूले चुँ शब्दसमेत बोल्ने गरेका छैनन् ।
सो क्षेत्रमा यतिबेला जमीन हड्प्नेहरू एकजुट भएका छन् । लोप्चनले अतिक्रमण गरेको जमीन फिर्ता गर्दा आफूहरूले अतिक्रमण गरेको सार्वजनिक जमीनसमेत फिर्ता गर्नुपर्ने हो कि भन्ने त्रासका कारण उनीहरू अतिक्रमणकै पक्षमा उभिएको स्थानीय सञ्चारकर्मीहरूको विश्लेषण छ । माओवादी द्वन्द्वताका र पछिल्लो समय लालको पूर्वतर्फ वन क्षेत्रको २० बिघाभन्दा बढी जमीन अतिक्रमण गरी बस्ती नै बसेको छ ।
लोप्चनले आफ्नो जमीनमा घेराबार गर्ने बहानामा सार्वजनिक जमीन आफ्नो घेराभित्र पारेपछि, लालबकैया खोलाको मुहान रहेको सिंचाइको कुलोसम्म कालान्तरमा सहजरूपमा जान आउन समस्या पर्ने भन्दै लालबकैया कृषक सिंचाइ उपभोक्ता संस्था लालले सबडिभिजन वन कार्यालय रतनपुरीमा उजूरी दिएको थियो । सो उजूरीपछि विवाद चर्कने देखेपछि लोप्चनले सिंचाइको मुहानसम्म जानका लागि ६ मिटर चौडाइको बाटो दिने कागजी सहमति गरेका थिए । उक्त सहमतिपछि लालबकैया कृषक सिंचाइ उपभोक्ता संस्था चुप बसेको छ । अतिक्रमणविरुद्ध बोल्ने संस्थालाई चुप गराउन सफल भएपछि लोप्चनको झन् मनोबल बढेको छ ।
सो जमीनको विषयमा कार्यालयमा उजूरी आएको हुँदा प्रमाण पेश गर्न लोप्चनलाई पत्राचार गरेसँगै केही प्रमाण पेश गरे पनि थप प्रमाण भने उनले अझै पेश नगरेको सबडिभिजन वन कार्यालय रतनपुरीका प्रमुख रविकान्त श्रीवास्तवले बताए । “जग्गाको आवश्यक कागजातसँगै नक्शा ल्याउन भनेका छौं । दुई वर्ष हुन लाग्यो । थप कागज प्रमाण दिएको छैन,” सडिव प्रमुख श्रीवास्तवले भने ।
यस विषयमा निजगढ नगरपालिकालाई समेत आफूले बारम्बार जानकारी दिए पनि नगरपालिकाले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको सहायक वन अधिकृत श्रीवास्तवको भनाइ छ।
अर्कोतर्फ अतिक्रमित क्षेत्र आफ्नोमा पर्ने मकवानपुरको बकैया गाउँपालिकाको दाबी छ । बकैया गाउँपालिका वडा नं ६ को क्षेत्र निजगढ–१० लालको सिमानासँग जोडिएकोले सो भूभाग बकैया गाउँपालिकाको रहेको सो गाउँपालिकाका अध्यक्ष दामोदर खनालले दाबी गरेका हुन् । सो गाउँपालिकाले त्यस स्थानमा गाउँपालिकाको साइन बोर्डसमेत राखेकोे छ ।
अतिक्रमित जमीनबाट पूर्व–दक्षिणतर्फ करीब ३/४ सय मिटर टाढाबाट निजगढ हुँदै काठमाडौं जोड्ने दु्रतमार्ग गएको छ । सो जमीनलाई अतिक्रमण गरी करोडौं रकम आर्जन गर्ने मनसायले लोप्चनसँग ठूलै गिरोह सक्रिय भएको समाचार स्रोतको दाबी छ ।