प्रस, वीरगंज, १५ असोज/
मन्त्रिपरिषद्को सीमा खुला गर्ने असोज ५ गतेको निर्णय दश दिनपछि पर्सा जिल्लामा कार्यान्वयन भएको छ ।
मन्त्रिपरिषद्को बैठकले कोरोनाको कारण भारतसँगको सीमानाका लामो समयदेखि बन्द रहेकामा यही असोज ५ गते खुला गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद् बैठकको निर्णयको लिखितपत्र नआएको भन्दै जिल्ला प्रशासन कार्यालयले तीन दिनसम्म नाका खुला गरेन । त्यसपछि नाका खुला गरे पनि ७२ घण्टाभित्रको पिसिआर वा एन्टिजेन परीक्षण रिपोर्ट, अनलाइन प्रवेश आवेदन र प्रवेशपछि बास बस्ने होटलमा समेत एन्टिजेन परीक्षणको प्रावधान राख्दै पैदलयात्रीहरूको लागि मात्र नाका खुला गरेको थियो । भारतबाहेक अन्य विदेशीको हकमा भने यी सबै मापदण्डका अलावा कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएको हुनुपर्ने अनिवार्य गरेको थियो ।
पैदलयात्रीहरूको लागि मात्र नाका खुला गरेकोमा मन्त्रिपरिषद्को निर्णयको सर्वत्र आलोचना भएपछि सो निर्णयको दश दिनपछि आजदेखि भारतीय निजी सवारीसाधनहरूको प्रवेश पनि खुला गरिएको छ । पूर्ववत् मापदण्ड पूरा गरेर नेपाल प्रवेश गर्ने भारतीय निजी सवारीसाधनहरूलाई भन्सार शुल्क लिएर प्रवेश गर्न दिइएको छ । वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले मापदण्ड पूरा गरेकाहरूको हकमा उनीहरूले प्रयोग गर्ने सवारीसाधनबापत तोकिएको शुल्क लिएर प्रवेशाज्ञा दिने कार्य शुरू भएको बताए ।
आजदेखि भारतीय निजी सवारीसाधनहरू वीरगंज नाकाबाट प्रवेश गर्न सक्ने भएपछि करीब डेढ वर्षदेखि बन्द नाकाबाट प्रवेश गरेको पहिलो भारतीय निजी सवारीसाधनमा सवारहरूलाई वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलगायत भन्सार अधिकृत, सुरक्षाकर्मी, होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका पदाधिकारीहरूले फूलमाला लगाएर स्वागत गरेको व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीले बताए ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले नाकाबाट भारतीय निजी सवारीसाधनहरूको प्रवेश भएपछि डेढ वर्षदेखि ओरालो लागेको होटल तथा पर्यटन क्षेत्रमा केही आशा पलाएको प्रतिक्रिया दिए ।
भिस्वा नाका पनि खुला
सुग्रिव साह, भिस्वा/
करीब डेढ वर्षदेखि कोरोनाको कारण बन्द गरिएको पर्साको भिस्वा नाका शुक्रवारदेखि विधिवत्रूपमा खुला गरिएको छ ।
सीमानाकामा सशस्त्र प्रहरीले तारबार लगाएर नेपाल प्रवेशमा रोक लगाएको थियो । आजदेखि नाका खुला गरिएपछि भारतीय मोटरसाइकलहरू निर्वाधरूपमा नेपाल प्रवेश गरेका थिए । नाका बन्द भएको कारण भारतीयहरू चोरबाटो नेपाल प्रवेश गर्थे भने नेपालीहरू पनि चोरबाटो भारतीय बजार सिक्टा जाने गर्थे ।