- राजेश मिश्र
सनातन धर्ममा असोज महीनाको अतिसारो महत्व छ । हिन्दू पञ्चाङ्ग अनुसार असोज र कात्तिक दुई महीना शरद् ऋतु हुन् । तराई क्षेत्रमा शरद् ऋतु अन्तर्गत मध्यरात्रिदेखि बिहानसम्म हल्का चीसो, दिउँसो कडा घाम वा मध्यम वर्षा तथा साँझपख गर्मी हुन्छ । असोज कृष्णपक्षमा पितर (पितृ)हरूप्रति समर्पित पितृपक्ष शुरू हुन्छ । त्यसपछि शुक्ल पक्षमा देवी दुर्गाको महापर्व नवरात्रि आरम्भ हुन्छ ।
देवी भगवतीको उपासना तथा पूजापाठ हुन्छ । यही अवसरमा नेपालका विभिन्न स्थानमा मेला लाग्ने गर्दछ । उहिले सधैंभरि न भएपनि पर्वको अवसरमा नयाँ लुगा र मनपर्ने खानाको परिकार खाने अवसर पाइन्थ्यो । उहिले यति विघ्न न कपडाका प्रकार उपलब्ध थियो न अपवादबाहेक मानिसहरूसँग महँगो कपडा खरीद गर्ने आर्थिक क्षमता नै थियो । स्थानीय बजारमा पाइने कपडा खरीद गर्नुको विकल्प थिएन । पैसा पछि दिने गरी अधिकांशले उधारो नै लिनुपथ्र्यो । कपडा सिलाउन अन्नपात दिए हुन्थ्यो । स्वभावतः बालबालिकाहरूमा पर्वको बेला उमङ्गका साथ नयाँ लुगा लगाउने तथा मेलापातमा जाने उत्साह बढी हुन्छ ।
अहिलेका वयस्क तथा वृद्धहरू जतिबेला बालबालिका थिए, उनीहरूले दशहरा (दशैं)को अवसरमा के के योजना बनाउँथे ? अभिभावकसँग के भन्थे ? नयाँ कपडा लगाउने तथा मेला भर्ने उमङ्ग कति हुन्थ्यो ? भुवाराको अभिभावकले उसको लागि नयाँ कपडा खरीद गरिसकेका थिए । सिउनको लागि दर्जी (दमाई)लाई दिइसकेका थिए । भुवाराको नाम अर्कै थियो । यद्यपि उसको शारीरिक रङ्ग खैरो थियो ।
त्यसैले गाउँका मात्र होइन, घरका सदस्यहरू पनि उसलाई भुवारा भन्थे । भुवाराको वास्तविक नाम थोरैलाई थाहा थियो । खैरो रङ्ग भएकोलाई भुवारा भने जस्तै मोटो भएकालाई मोटका, नाके स्वर भएकालाई नकभेभना आदि उपनामले बोलाउने चलन आज पनि छ । यसको अलावा सन्तानको दीर्घजीवनको लागि भुवारा, गरीबवा, भिखारी, बेंगवा, चिरकुटवा र बटुवारवा आदि नाम र उपनाम पाइन्छ ।
दशहरा मेलाको सेरोफेरोमा आधारित भुवारा र मोटकाको कथा प्रस्तुत छ ।
दशहराको उमङ्ग चारैतिर छाएको थियो । घरको सरसफाइ तथा लिपपोतको कार्यमा देहात व्यस्त थियो । दुई वर्षपछि भुवाराको बुबा परदेशबाट घर आएका थिए । यस वर्ष नयाँ लुगा लगाउन पाइन्छ भन्दै १० वर्षीय भुवारा गद्गद् थियो । किनभने आर्थिक अभावको कारण बितेको दुई वर्षदेखि नयाँ कपडा खरीद भएको थिएन । यस वर्ष भने बुबाले भुवाराको लागि कपडा किनिदिएका थिए ।
दर्जीलाई कपडा सिउन दिएको दिनदेखि भुवाराको भोक र निद्रा हराइसकेको थियो । बिहान उठ्ने बित्तिकै दर्जीको पसलमा जान्थ्यो । दर्जीसँग सोध्थ्यो । अहिले सिलाइ नभएको दर्जीको उत्तर सुनेर उसको मन मलीन हुन्थ्यो । घर फर्किन्थ्यो । उल यति विघ्न खुशी थियो कि साथीहरूसँग खेल्न जाँदा पनि नयाँ कपडा र मेला जाने कुरा गथ्र्यो । एक दिन भुवाराले साथीहरूलाई दर्जीको पसलमा लिएर गयो । शर्ट र पैजामाको कपडा देखाइदियो ।
भुवाराका साथीहरूमध्ये एकजना मोटका पनि थियो । असामान्य मोटो भएकोले सबैले उसलाई मोटका भन्थे । मोटका दर्जीको पसलबाट दौडिंदै र उफ्रिंदै घर पुग्यो । असोजको कडा घाममा ऊ पसिनाले भिजिसकेको थियो । स्वाँस्वाँ गर्दै आमासँग भनिरहेको थियो । लगत्तै उसकी बहिनी पनि छिमेकी साथीको नयाँ लुगा हेरेर घर आइपुगिन् । अहिले दुवैजना भाइबहिनीको भावभङ्गिमा हेर्न लायक थियो । आमा टोलाउँदै उनीहरूको अनुहार हेरिरहेकी थिइन् ।
मोटका ः माई १ भुवारा खातिर नयाँ कपडा किना गइल । ओकर बाबुजी किनदेल हउवन । आ सियातो बा । भल दर्जी लग से देख के आवतानी । अउरी सङ्गतीया सब के भी कपडा सियाता
(आमा ! भुवाराको लागि नयाँ कपडा खरीद भइसक्यो । उसका बुबाले किनिदिनुभयो । अनि सिलाइ पनि भइरहेको छ । भर्खरै दर्जीकहाँ हेरेर आइरहेको छु । अरू साथीहरूको पनि कपडा सिलाइ भइरहेको छ) ।
छठमा नयाँ कपडा सिलाउने भन्दै आमाले सान्त्वना दिइन् । परिवारको आर्थिक अवस्था राम्रो थिएन । पति बिरामी परेर ठूलो धनराशि खर्च भइसकेको थियो । आमाको सान्त्वनाको बावजूद उनीहरूले आआफ्नो साथीको नयाँ कपडा सिलाइ भइरहेकोे कुरा दोहो¥याइरहेका थिए । मोटकाले भुवाराको बुबाले विरञ्चीबर्वा र केहुनिया (विन्ध्यवासिनी)को मेला लिएर जाने कुरा आमालाई अवगत गराइरहेको थियो । मोटकाले आमासँग भन्यो, “माई ! हमनी के नयाँ कपडा पहिन के मेला देखे ना जाएम सन का ?” (आमा १ हामी नयाँ लुगा लगाएर मेला भर्न जाँदैनौं कि क्या हो?)
आमामार्फत छोराछोरीको कुरा बुबासम्म पुग्यो । बुबाले जेनतेन गरेर बच्चाहरूको लागि कपडा खरीद गरिदिए । सिलाउनको लागि दर्जीलाई दिए । अब प्रायः केटीकेटीहरू दर्जीको पसल आसपास मडारिरहन्थे । बेलाबेला गएर दर्जीसँग सोध्थे । केटाकेटीहरूको क्रन्दन देखेर दर्जीले भन्थ्यो, “जा भाग सन, अगिला साल सियाइ कपडा ।”
(जा भाग तिमीहरू, अर्को वर्ष कपडा सिलाइन्छ) कहिलेकाहीं दर्जीले केटाकेटीहरूलाई लखेट्दै टाढासम्म पु¥याइदिन्थ्यो । बालक स्वभाव लखेटिए पनि केहीबेरपछि पुनः सोध्न आउँथे बच्चाहरू ।
अन्ततः केटाकेटीहरूको प्रतीक्षाको घडी समाप्त भयो । भुवारा बुबासँग आयो र कपडा लिएर घर गयो । घर पुगेपछि घरीघरी कपडा हेथ्र्यो । भोलिपल्ट मेला जानु थियो । मन प्रफुल्लित थियो । मेला जाने उत्साहले ढिलो सुतेको भुवारा त्यतिखेर ब्यूँझियो जब मोटकाको आवाज उसको कानमा पुग्यो ।
बिहानको आठ बजिसकेको थियो । उनीहरू चोकतिर हिंडे । सबै साथी चोकमा थिए । आज मेला जाने उत्साह सबैमा थियो । सबैजना गद्गद् थिए । माताको दर्शन र पूजा गरिसकेपछि के किन्ने र के खानेबारे चर्चा भइरहेको थियो । उहिले सरबत, भुजा, पकौडी, बदाम, जलेबी, बाँसुरी र तडबडवा उपलब्ध थियो । यतिमात्र किनिदिएपछि बच्चाहरू औंधी खुशी हुन्थे ।
दिउँसोको दुई बजिरहेको थियो । भुवारा कपडा लगाइरहेको थियो । शर्ट टाइट भएकोले बटन लगाउँदै ऊ हैरान थियो । जति गर्दा पनि बटन लगाउन सफल भइरहेको थिएन ।
अन्ततः आमालाई गुहार लगायो । बारीबाट आमा आइन् । आमाले बटम लगाइदिइन् । पैजामाको डोरी लगाइदिइन् । कपालमा तेल लगाएर काइँयोले कोरिदिइन् । अनुहारमा क्रिम र आँखामा काजल लगाइदिइन् । त्यत्तिकैमा केटाकेटीहरूको हुल भुवाराको घरमा आइपुग्यो । सबैजना नयाँ पहिरनमा थिए । एकले अर्काको कपडा हेरिरहेको थियो । भुवारा र मोटकाका बुबा पनि केटाकेटीहरूलाई मेला लिएर जान तयार थिए ।
उत्साहित मुद्रामा रमाइलो गर्दै केटाकेटीहरू हिंडिरहेका थिए । कडा घाम थियो । त्यसैले अभिभावकहरू केहीबेर विश्राम गर्न भन्थे । तर बच्चाहरूलाई घामसँग कुनै मतलब थिएन । उनीहरू हिंडिरहन चाहन्थे । मेलामा छिटो पुग्न चाहन्थे । मेला जति नजीक आइरहेको थियो, मेलाको हल्लाखल्ला कानमा पुगिरहेको थियो । केहीबेरको हिंडाइपछि उनीहरू मेलामा पुगे । अभिभावकहरूले सर्वप्रथम माता भगवतीको दर्शन गराउन लिएर गए । सिंहमाथि सवार माताको सुन्दर आकृति देखेर सबैजना अति खुशी भए । मातालाई फूलपाती चढाए । ढोगे र टीका लगाए ।
लाउडस्पीकर तथा मानवीय हल्लाखल्लाले एकअर्काको कुरा सुन्न सक्ने अवस्था थिएन । यही त हो मेला, जहाँ भीड हुन्छ, कोलाहल हुन्छ । शुरूमा सबैजनाका अभिभावकले भुजा, पकौडी र जिलेबी किनिदिएका थिए ।
छहारीमा बसेर सबैजनाले खाए । अब हात धुने र पानी खान मन थियो । तर नजीकै रहेको चापाकलमा यति भीड थियो कि बच्चाहरूलाई पानी खान सजिलो थिएन । यद्यपि अभिभावकजनले जसोतसो गरी बच्चाहरूलाई पानी खुवाउन सफल भए । अब मेला घुम्ने पालो थियो । सबैजना आआफ्नो अभिभावकको हात समातेर हिंडिरहेका थिए । मन परेका साम्रगी किनिरहेका थिए ।
अहिले साँझको ६ बजिसकेको थियो । अँध्यारो हुन लागेकोले सबैजना घरतर्फ प्रस्थान गरे । बाटोमा पनि निकै भीड थियो । कोही बाँसुरी, त कोही तडबडवा त कोही पिपुही (सिटी) बजाउँदै तथा जिलेबी र बदामको आनन्द लिंदै घर आइपुगे । आज बच्चाहरू अत्यन्तै हर्षित थिए । भोलिपल्टदेखि गाउँमा तडबडवाको तडबड र बाँसुरीको धुनले गाउँ गुञ्जायमान थियो ।