प्रस, वीरगंज, १५ असोज/
प्रदेश २ सरकारले अक्टुबर १ (असोज १५ गते) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा प्रदेशका १६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
यस वर्ष सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता भन्ने नारा रहेको छ । प्रदेशका आठ जिल्लाबाट एक/एक जना महिला, पुरुष ज्येष्ठ नागरिक गरी १६ जनालाई नगद, दोसल्ला र प्रमाणपत्रबाट महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंहले सम्मान गरेका थिए ।
सो अवसरमा मन्त्री सिंहले ज्येष्ठ नागरिकहरूलाई प्रदेश सरकारले सम्मान गर्ने कार्यक्रमलाई आगामी दिनमा निरन्तरता प्रदान गरिने बताए । पर्साका वरिष्ठ समाजसेवी मुरलीधर रूँगटा र ज्योति शाह सो अवसरमा सम्मानित भएका थिए ।
नरेश यादव, पर्सागढी/
पर्सागढी नगरपालिकाले ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा नगरपालिकाका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । नगरप्रमुख लोकनारायण यादवले नगरमा रहेका ज्येष्ठ नागरिकहरूलाई नगरपालिकाले हेरचाह गर्ने बताए । उनले नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मानका साथै उनीहरूको स्वास्थ्य र मौसम अनुसारको हेरचाहमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे । उनले आफ्ना अग्रजहरूलाई सम्मान गरेको खण्डमा त्यो संस्कार आफूमुनिका पुस्ताले दोहो¥याउने बताए । सो अवसरमा नगरप्रमुखले आफ्ना पितासमेतलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको अभिव्यक्ति जाहेर गरे ।
वडाध्यक्ष किसुनदेवप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादव, वडाध्यक्ष तुलाराम महतो, वडा सदस्य अर्जुन गिरीलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा सहसंयोजक उमेश साहले गरेका थिए ।