प्रस, वीरगंज, १५ असोज/
जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १५ लाख ५० हजार नेपाली रुपियाँसहित दुईजना भारतीय र एकजना नेपाली गरी तीनजना युवकलाई पक्राउ गरेको छ ।
वीरगंज–२५ श्रीसिया छोटी भन्सारअगाडि चेकजाँच गर्ने क्रममा तीनवटा मोटरसाइकलमा सवार तीनजनाबाट साढे १५ लाख नेपाली रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ । बरामद रकमको स्रोत नखुलाइएपछि भारतीय युवक २५ वर्षीय विक्रम पटेल, २९ वर्षीय मुकेश पटेल र २३ वर्षीय धोबिनी गापा–३ हरिहरपुरका बलिराम पटेललाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीहरूले उनीहरू चढेको ना.६०प ५९९८, ना.४१प १०४८ र ना.६४प ८३५१ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएको र आवश्यक कारबाईको लागि बरामद रकम र व्यक्तिलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को कसूर अनुसार कारबाई प्रक्रिया अगाडि बढाएको जिप्रका पर्साले जनाएको छ ।
यसैगरी, पर्सा प्रहरीले भन्सार छलीको एक ट्रक औषधि र किराना सामान राजस्व अनुसन्धान कार्यालय चलान गरेको छ ।
शुक्रवार दिउँसो सवा १२ बजे वीरगंज–१४ गण्डक चोकमा चेकजाँच गर्दा प्रदेश ०३–००१ ख ०३३० नम्बरको मालवाहक ट्रकमा भन्सार छलीका औषधि र किराना सामान बरामद भएपछि आवश्यक कारबाईको लागि आजै राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ ।