क्वीटो, १४ असोज/सिन्ह्वा

इक्वेडरको एउटा कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरूको सङ्ख्या कम्तीमा ३० पुगेको छ । बुधवार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ । यस अघि २४ जनाको मृत्यु भएको र अरू ४२ जना घाइते भएका बताइएको थियो ।

मङ्गलवार भएको सो झडपमा परेर मृत्यु हुनेको सङ्ख्या बुधवार ३० पुगेको र घाइतेहरू ५२ जना पुगेको बताइएको छ ।

कारागारमा राखिएका कैदीहरूबीच झडप हुँदा उनीहरू मारिएका हुन् । उनीहरूको परस्पर भएको झडपका क्रममा धेरैजना घाइते भएका बताइएको छ ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मङ्गलवार यहाँको समुद्र तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरूबीच आपसी झगडाका कारण यस्तो झडप हुन पुगेको बताएको छ । इक्वेडरका कारागारमा समयसमयमा यस्तो झडप हुने गरेको छ ।

गएको फरवरी महीनामा पनि यहाँका तीन कारागारमा झडप भएको थियो र त्यसमा परेर ७९ जनाको ज्यान गएको बताइएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here