• विश्वराज अधिकारी

नेपाली युवाहरू रोजगारका लागि विदेश किन जान्छन् भनी प्रश्न गर्ने हो भने सबैले दिने उत्तर एउटै हुन्छ, स्वदेशमा रोजगार नपाएर बाध्य भई विदेश जानुपरेको हो । अर्थात् स्वदेशमा रोजगार नभएको स्थितिले जीवन निर्वाह गर्न कठिन हुने भएकोले, रोजगारको लागि बाध्यताले गर्दा विदेश जानुपरेको हो । सोझो अर्थमा भन्नुपर्दा गरीबीबाट मुक्ति पाउन वैदेशिक रोजगारमा जानुपरेको हो ।

नेपालको सन्दर्भमा वैदेशिक रोजगारलाई गरीबीसँग जोडेर हेरिन्छ । रोजगारका लागि विदेश प्रस्थान गर्ने सबै गरीब नै हुन्छन्, यस्तो विश्वास गरिन्छ । त्यस्तो हो भने रोजगार पाउन विदेशतिर जाने के सबै गरीब नै हुन्छन् ? समाचारहरूमा उल्लेख भए अनुसार गैरकानूनी रूपमा रोजगारका लागि अमेरिका जान खोज्ने व्यक्तिहरूले मानव तस्करलाई ३० देखि ६० लाखसम्म भुक्तान गर्छन् र अमेरिका पस्छन् । अमेरिकामा रोजगार पाउन मानव तस्करहरूलाई त्यति धेरै रकम दिने व्यक्ति कसरी गरीब हुन सक्छ ? एउटा सामान्य गरीबले त्यति ठूलो रकक कहाँबाट र कसरी ल्याउन सक्छ ?

सुनिए अनुसार केही व्यक्ति ऋण लिएर, केही खेत वा घडेरी अथवा घर बेचेर मानव तस्वकर त्यति ठूलो रकम (३० देखि ६० लाख रुपियाँ) भुक्तान गर्छन् अनि गैरकानूनीरूपमा अनेक शारीरिक एवं मानसिक यातना खेपेर अमेरिका पस्छन् । अब यहाँ पुनः प्रश्न उठ्छ, के कुनै गरीब व्यक्तिले, नेपालको सन्दर्भमा त्यति ठूलो रकम ऋण प्राप्त गर्न सक्छ ? दोस्रो प्रश्न, वैदेशिक रोजगारमा जानका लागि जग्गा, घडेरी वा घर बेच्न तत्पर हुने व्यक्ति कसरी गरीब हुन सक्छ ?
माथि भन्न के खोजिएको हो भने रोजगारका लगि विदेश जाने वा जान खोज्ने सबै गरीब होइनन्। केही मात्र गरीबीले गर्दा रोगजार पाउन विदेश जान बाध्य छन् । बाँकी व्यक्ति धनी नभए पनि गरीब भने होइनन् । केवल खाडी देशहरूमा जाने, तीमध्ये पनि सीमित व्यक्ति मात्र गरीब हुन् । ज्यादै गरीब मानिस वैदेशिक रोजगारमा जाने खर्च नै धान्न सक्तैन ।

नेपालमा बहुसङ्ख्यक व्यक्ति, प्रमुखरूपमा, दुई कारणले विदेश जान्छन् । १) छिटै धनी हुने लालसा, र २) प्रतिष्ठा

छिटै धनी हुने लालसा

नेपाली समाजको निर्माण, इतिहास, प्रकृति र गतिशीलताको सूक्ष्म अध्ययन एवं विश्लेषण गर्ने हो भने नेपालमा गरीबहरूलाई सामाजिक मर्यादा पाउन कठिन छ भन्ने तथ्य प्रस्टगरी थाहा हुन आउँछ । गरीबले पाउने सामाजिक मर्यादा र धनीले पाउने सामाजिक मर्यादाबीच आकाश जमीनको अन्तर छ भन्ने यथार्थ हामी सबैले भोगेको कुरा हो । धनीको नाम लिंदा वा सम्बोधन गर्दा आदर मिसाइएको हुन्छ भने गरीबको लागि त्यस्तो गरिंदैन । धनीहरूले विवाह, चाडपर्व, समारोहहरूमा ठूलो रकम खर्च गर्छन् । समाजमा उनीहरूको रवाफ कायम हुन्छ । गरीबहरूले त्यस्तो गर्न सकेका हुँदैनन् । यसले गर्दा गरीबहरू आफूलाई हेला गरिएको अनुभूति गर्छन् ।

गरीब र धनीबीच सामाजिक मर्यादाको सन्दर्भमा ठूलो भेद रहेकोले यो स्थितिबाट मुक्ति पाउन हरेक गरीबले धनी हुन खोज्नु, धनी हुनका लागि अनेक उपाय खोज्नु, धनी हुन सक्ने सजिलो बाटो वैदेशिक रोजगारलाई मान्नु स्वाभाविक हुन आउँछ ।

नेपालमा तुलनात्मक गरीबले पनि समाजलाई प्रभावित गरेको छ । उदाहरणका लागि वर्षको दुई लाख रुपियाँ कमाउने एकजनाले आफूलाई वर्षको ४ लाख रुपियाँ कमाउने अर्को व्यक्तिसँग तुलना गर्छ र अनि आफूलाई त्यो अर्को व्यक्तिभन्दा गरीब देख्छ । यस्तै स्थिति वर्षको ५ लाख र ८ लाख कमाउने व्यक्तिबीच पनि हुन सक्छ । यसरी आर्थिक रूपमा सम्पन्न व्यक्तिहरूले पनि आफूलाई तुलनात्मकरूपमा गरीब देखेर रोजगारका लागि विदेशतिर लाग्ने उदाहरण धेरै छ । त्यस्ताको सङ्ख्या पनि ठूलो छ । खासगरी अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानाडामा रोजगार खोज्न जानेहरूले आफूलाई तुलनात्मकरूपमा गरीब बोध गरेर त्यता गएका हुन् । यथार्थमा तिनीहरू निरपेक्ष गरीब होइनन् । एक किसिमले धनी नै हुन्, नेपालको सन्दर्भमा ।

प्रतिष्ठा

वैदेशिक रोजगार नेपालमा अहिले एउटा भरपर्दो आय स्रोत मात्र होइन इज्जत र प्रतिष्ठाको विषय पनि हुन पुगेको छ । वैदैशिक रोजगारको सोझो साइनो प्रतिष्ठासँग गाँसिएको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिले लाखौं, करोडौं रुपियाँ कमाउFछ र ‘इज्जत एवं शान’ को जीवन बाँच्न सक्छ भन्ने भ्रमजन्य मान्यता हाम्रो समाजमा बलियोगरी स्थापित छ । एउटा पृथक मान्यता के छ भने स्वदेशमा बस्नेहरू केही गर्न नसक्ने हुँदा स्वदेशको बसाइ रोजेका हुन् । त्यसरी स्वदेशमा बस्ने व्यक्तिहरूमा साहसको अभाव छ । यस्ता मान्यताले गर्दा स्वदेश बस्न खोज्ने युवाले पनि बाध्य भएर विदेशलाई रोजगारको प्रमुख गन्तव्य बनाउन बाध्य छन् ।

सङ्क्षेपमा भन्ने हो भने वैदेशिक रोजगार अहिले हाम्रो समाजमा सफलताको प्रतीक भएको छ । त्यसैले पनि ठूलोभन्दा ठूलो जोखिम उठाएर, ज्यान हत्केलामा राखेर, कैयौं दिन भोकै बसेर, कैयौं दिन जङ्गलमा भौंतारिएर नेपाली युवा गैरकानूनीरूपमा अनेक देशमा प्रवेश गरिरहेका छन् ।
समाचारहरूमा उल्लेख भए अनुसार नेपालबाट गैरकानूनीरूपमा रोजगारका लागि अमेरिका जान खोज्ने व्यक्तिहरूले ३० देखि ६० लाखसम्म मानव तस्करलाई भुक्तान गरेका हुन्छन् । दशौं देशको यात्रा गर्न बाध्य हुन्छन् । कैयौं दिन जङ्गलैजङ्गल हिंडेका, भोकै बसेका हुन्छन् । त्यति मात्र नभएर ज्यान जान सक्ने जोखिम पनि उठाएका हुन्छन् । अन्तमा मेक्सिको (अमेरिकासँग टाँसिएको छिमेकी मुलुक) पुगेर गैरकानूनीरूपमा अमेरिका छिर्न खोज्दा जीवन–मरणको दोसाँधमा
पुग्छन् ।

वैदेशिक रोजगारसँग सम्बन्धित अनेक तथ्य र पक्षको गहन अध्ययन एवं विश्लेषण गर्दा हाम्रो गरीबी र वैदेशिक रोजगारबीच प्रत्यक्ष एवं घनिष्ट सम्बन्ध रहेको पाइँदैन । वर्तमान समय र सन्दर्भमा वैदेशिक रोजगार छिट्टै धनी हुने लालसा र प्रतिष्ठासँग पनि गाँसिएको छ ।

गरीबी हरेक देशमा हुन्छ । यसैगरी सापेक्ष एवं निरपेक्ष गरीबी धनी देशमा पनि हुन्छ । धनी देशहरूमा निरपेक्ष गरीबी भने कम हुन्छ । तर सापेक्ष गरीबी पनि ठूलै अनुपातमा हुन्छ । तर पनि धनी एवं विकसित देशहरूमा गरीब भएकै कारण समाजमा इज्जत नपाइने स्थिति नहुने हुँदा गरीबीको पीडा नेपाल, भारत आदिमा झैं बोध हुँदैन ।

हाम्रो समाजले वर्तमानमा जुन किसिमले वैदेशिक रोजगारलाई बोध गरेको छ, यथार्थमा वैदेशिक रोजगार त्यस्तो छैन । अनेक जोखिम र कष्टले भरिएको छ । मानव तस्करहरूको ठूलो सञ्जालले वैदेशिक रोजगारलाई झनै जोखिमपूर्ण पारिदिएको छ । रोजगारका लागि गैरकानूनीरूपमा अर्को मुलुकमा जानु त ज्यान नै जोखिममा राख्नु हो । मृत्यु हुन सक्छ भन्ने सम्भावनालाई स्वीकार गर्नु हो ।

हामीमा उद्यमी भावनाको पनि अभाव छ । छिटो धनी हुने लालसा झनै हाम्रो लागि ठूलो शत्रु हुन पुगेको छ । हामी आफैंसँग प्रश्न गरौं । यदि ६० लाख रुपियाँ बुझाएर हामी वैदेशिक रोजगारमा जाने क्षमता राख्छौ भने त्यही रकमको स्वदेशमा उपयोग गरेर किन कुनै व्यापार, व्यवसाय वा पेशा गर्न सक्तैनौ ? ६० लाख रुपियाँ सानो रकम होइन । यो रकम लगानी गरेर हामी स्वदेशमा नै व्यापार गर्न सक्छौं । आफू स्वरोजगार बन्छौं नै, अरूलाई पनि रोजगार दिन सक्छौं ।

हामी व्यापारिक जोखिम पटक्कै लिन चाहँदैनौं । हामी नयाँ किसिमका व्यवसायबारे सोच्न सक्तैनौं । केही वर्ष पहिलेसम्म हाम्रो समाजले व्यापारलाई महŒव दिएको थिएन । मानिसहरू सामान्य व्यापार सञ्चालन गर्नुको सट्टा सरकारी जागीरको खोजी गर्थे । सरकारी जागीरले ठूलो प्रतिष्ठा बोकेको थियो । सडकमा चना–चटपटे बिक्री गर्ने कुनै व्यक्तिभन्दा सरकारी कार्यालयमा काम गर्ने मुखियाको सामाजिक हैसियत (इज्जत) उच्च हुन्थ्यो । कति ठूलो आडम्बर र भ्रममा बाँचेको छ हाम्रो समाज १ रोजगारको हिसाबले चना–चटपटे बिक्री गर्ने व्यक्ति सीप भएको व्यक्ति हो, उसले स्वयं रोजगार सृजना ग¥यो । तर मुखियाले सीप विकास गर्न सकेन अनि सरकारी जागीर रोज्यो ? चना–चटपटे बिक्रेतामा उद्यमी भावना देखियो भने मुखिया हुनेमा पटक्कै देखिएन । हाम्रो समाजले यो यथार्थ किन नबुझेको होला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here